सवारी अनुमतिपत्रको नयाँ व्यवस्था साउनबाट «

सवारी अनुमतिपत्रको नयाँ व्यवस्था साउनबाट


यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ साउन १ बाट लागु गर्ने भएको छ ।
विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को तयार पारिएको संशोधित कार्यविधि अनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंक भार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्था साउनबाट लागु गर्ने जनाएको हो । यातायात व्यवस्था विभागले लागु गर्नको लागि यातायात व्यवस्थापन कार्यविधिको निर्देशिका–२०६०को दफा १२.९ र १२.१४मा रहेको कानूनी व्यवस्था संशोधन गरेको थियो । साउन १ बाट सवारी चालक अनुमतिपत्रको नयाँ मापदण्ड कार्यान्वयन गर्न लागेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
उनले भने, “विभागको नयाँ व्यवस्थासँगै सवारी चालक अनुमतिपत्रको लागि सहभागी हुने ६० देखि ८० प्रतिशत परीक्षार्थी लाभान्भित हुने विभागको प्रक्षेपण रहेको छ ।” हाल लिखित परीक्षामा कुल अंकभारमा ५० अंक ल्याउने पास भएपछि प्रयोगात्मकमा सहभागी हुने पाउनेछन् र तोकिएको ट्रायल पास गर्नुपर्ने व्यवस्था छ । सरकारले लागु गर्न लागेको परिमार्जित सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ अनुसार वर्ग ‘क’ मोटरसाइकल, स्कुटर, मोपेड, र वर्ग ‘ख’ मा कार, जिप, डेलिभरी भ्यानमा नयाँ नियम मात्र कार्यान्वयन आउने छ ।
विभागका अनुसार अब कार्यान्वयनमा ल्याउन लागिएको व्यवस्थामा मेजर र माइनर दुई क्याटोगरीमा विभाजन गरेर प्रयोगात्मक परीक्षाको अंकभार अनुसार अंक दिइनेछ । कानूनी व्यवस्थालाई संशोधन गरेर ट्रायलमा परीक्षामा सहभागीको प्राविधिक पक्षलाई वर्गिकरण गरी अंकभार तय हुने र मेजर, माइनरमा आधारमा अंकभार वर्गिकरण अनुसार परीक्षार्थीले ७० अंक ल्याएका सवारी अनुमतिका लागि योग्य हुने गरी कार्यविधि संशोधन गरिएको थियो ।
परीक्षार्थीले ट्रायल लिनका लागि स्वयमले सवारीसाधनको व्यवस्था गर्न सक्ने छन् । यसरी सो सवारीले मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानको अनुमतिपत्रका लागि ट्रायल (प्रयोगात्मक)मा सात चरणको परीक्षा प्रक्रियामा पास हुनुपर्ने छ ।
पछिल्लो समय कोरोना महामारी र लामो समय चालक अनुमतिपत्र रोकिँदा सेवाग्राहीको चाप अत्यधिक बढेर गएको छ । सवारी चालक अनुमतिपत्र लिनकै लागि हुने चाप, अपारदर्शिता, बिचौलिया हावी र सेवाग्राहीमा देखिएको सास्तीका कारण मन्त्रालयलाई सवारी चालक अनुमतिपत्र अनलाइन र प्रयोगात्मक परीक्षालाई वैज्ञानिक बनाउनुपर्ने अवस्था छ । सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्नुपर्ने, त्यसपछि लिखित पास गरेपछि ट्रायलमा सहभागी हुन पाउने छन् ।
नयाँ मापदण्डमा लिखित परीक्षाका लागि एक आर्थिक वर्षमा सोधिने ५ सय वस्तुगत प्रश्नको संग्रह प्रकाशन गर्नेछ । सय पूर्णङकको अंकभार रहेको छ । ३० मिनेटमा २० प्रश्नमा १० प्रश्नको अनिवार्य उत्तर दिनुपर्ने छ । सबै प्रश्नको अंकभार पाँच तोकिएको छ भने यसरी लिखित पास भएका परीक्षार्थी मात्रै प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउने छन् ।
विभागले मानवरहित अटोमेटिकमा प्रयोगात्मक परीक्षा गराउने गरी तयारी गरेको जनाएको छ । यसको लागि प्राविधिक तयारी गरिरहेको विभागका महानिर्देशक घिमिरेले जानकारी दिए । अटोमेसनमा गएपछि बारकोडको प्रयोग गरी मानवरहित प्रयोगात्मक परीक्षा हुने उनको भनाइ छ । यसको लागि विभागको मातहतका उपत्यकका ४ कार्यालयसहित देशभरका १७ वटा कार्यालयहरुमा भिडियोमार्फत प्रशिक्षण दिने तयारी रहेको छ । विभागले तयार पारेको कार्यविधि निर्देशिका जेठमै लागु गर्ने भनिएको भएपनि आन्तरिक तयारी पूरा नहुँदा ढिला भएको विभागले जनाएको छ ।

लिखित परीक्षाको नयाँ पाठ्क्रम सार्वजनिक
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ लागु हुने भएसँगै यातायात व्यवस्था विभागले लिइने लिखित परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । सरकारले लागु गर्न लागेको परिमार्जित सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ अनुसार वर्ग ‘क’ मा मोटरसाइकल, स्कुटर, मोपेड तथा वर्ग ‘ख’ मा कार, जिप, डेलिभरी भ्यानमा नयाँ नियम लागु गरेको छ ।
नयाँ सवारी चालक मापदण्ड लागु हुने भएसँगै यातायात व्यवस्था विभागले लिइने लिखित परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । विभागले निषेधाज्ञाका कारण नयाँ मपदण्ड लागु गर्न सकेको थिएन । लाइसेन्स परीक्षा पुनः सञ्चालनमा आएसँगै नयाँ पाठ्यक्रमका आधारमा लाइसेन्स परीक्षा लिइनेछ । विभागले बुधबार लिखित परीक्षाका लागि लिने नयाँ मापदण्डसहितको पाठ्यक्रम सार्वजनिक गर्दै ५००-५०० वटा प्रश्नसहितको २ वटा प्रश्नहरुको संग्रह प्रकाशित गरेको हो ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, “वर्ग ‘क’-‘ट’ (ए-के) र वर्ग ‘ख’ (बी) को लागि लिइने लिखित परीक्षा प्रयोजनका लागि तयार गरिएको ५००-५०० वटा प्रश्नहरुको २ वटा प्रश्नको संग्रह रहने छ ।”
विभागले परीक्षा सञ्चालन गर्दा मातहतका कार्यालयहरुले आगामी दिनमा वर्ग ‘क’-‘ट’ (ए-के) र वर्ग ‘ख’(बी) का लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न संग्रहबाट तोकिए बमोजिमका सबै विषय क्षेत्रबाट तोकिए बमोजिमको संख्यामा प्रश्नहरु रहने गरी प्रत्येक प्रश्नको ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरु चयन गरी प्रश्नपत्र तयार गर्नुपर्ने उल्लेख छ ।
उल्लेखित प्रश्न पत्रमा संग्रहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ नयाँ प्रविधिका आधारमा प्रश्नलाई वार्षिकरुपमा अध्यावधिक गरिँदै जाने विभागले जानकारी दिएको छ । प्रश्नपत्र संग्रहको सार्वजनिक प्रकाशनले परीक्षार्थीलाई लिखित परीक्षाको तयारी गर्न सहज हुने विभागले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्