निजी क्षेत्रलाई माथि उकास्न सकारात्मक सोचको खाँचो छ «

निजी क्षेत्रलाई माथि उकास्न सकारात्मक सोचको खाँचो छ

१४ वर्षको उमेरदेखि नै व्यापार–व्यवसायमा लागेका कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्ल आगामी माघमा हुने १६ औं कार्यकारिणीका लागि अध्यक्षका प्रबल दावेदार हुन् । १८ वर्षको उमेरमा कञ्चनपुर उद्योग वाणिज्य संघमा मतदाताका रूपमा प्रवेश गरेका मल्ल अहिलेसम्म निरन्तर संस्थामा जोडिएका छन् । २०५७ सालमा संघको निर्वाचनमा सर्वाधिक मत ल्याएर विजयी भएका मल्ल त्यतिबेला समितिमा सबैभन्दा कान्छा थिए । संघको १० औं कार्यसमितिमा सदस्य, ११ औं कार्यसमितिमा सदस्य, १२ औं कार्यसमितिमा सचिव, १३ औं कार्यसमितिमा महासचिव, १४ औं कार्य समितिमा उद्योग उपाध्यक्ष, १५ औं कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सर्वाधिक मतसहितको अपराजित यात्रा र १६ औं कार्यसमितिको अध्यक्षका दाबेदार मल्लले उद्योगी व्यवसायीहरूको हकहितका लागि आवाज उठाउँदै आएका छन् । झन्डै २ दशक लामो वाणिज्य संघको यात्रापछि यसपटक कञ्चनपुर उद्योग वाणिज्य संघको माघ ५ गते हुने साधारणसभाबाट नेतृत्व सम्हाल्ने तयारीमा रहेका वर्तमान वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लसँग नेपालको व्यापार व्यवसायको अवस्था, व्यवसायीका चुनौती, सरकारले गर्नुपर्ने सुधारका कामलगायतका विषयमा कारोबार संवाददाता महादेव अवस्थीले गरेको कुराकानीको सार :

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्वमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । तपाईंले नेतृत्व पाउँदा यहाँका व्यवसायीले के पाउँछन् ?
सबैभन्दा पहिला व्यवसायीले पाउनुपर्ने जुन सम्मान हो त्यो पाउँछन्, किनभने आज मैले टेक्स पेयर व्यवसायीको प्रतिनिधित्व गरिरहँदाखेरि हामी जुन अफिसमा टेक्स पेयरका रूपमा उभिने व्यवसायी हुँ भन्नुभन्दा पनि हामी व्यवसायी हुँ भन्नुप-यो, त्यहाँ टेक्स पेयरको कुरा आउँदैन र विभिन्न क्षेत्रमा काम गरिरहेका व्यवसायीहरूको व्यावसायिक समस्या आउँछन् भने उहाँहरूको प्रतिनिधित्वको हिसाबले पनि उहाँहरूको व्यवसायको समस्याप्रति म उत्तरदायी छु । सबैभन्दा पहिला म नेतृत्व गर्छु । कञ्चनपुरमा छरिएर बसेका उद्योगी–व्यवसायीहरू जति पनि छन् उहाँहरूलाई एकत्रित गर्छु । रुग्ण उद्योग सञ्चालनका लागि पहल गर्छु र युवा व्यवसायीहरूलाई स्वरोजगारतिर उन्मुख गराउँछु । बैंकिङ तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै सुलभ रूपमा ऋणको प्रावधान तयार पार्छु ।

तपाईंंका एजेन्डा के–के छन् ?
म उद्योग वाणिज्य संघमा साधारण सदस्यका रूपमा प्रवेश गर्दादेखि नै दुई–तीनवटा मुख्य एजेन्डाहरू बोकेर आएको हुँ । सबैभन्दा पहिला औद्योगिक क्रान्ति हुनुपर्छ । हामीले उद्योग वाणिज्य संघकै एजेन्डाका रूपमा कञ्चनपुरको विकासका लागि त्रिदेशीय नाकाका रूपमा यसलाई परिमाजित गर्नुपर्छ भनेर लागेका थियौं, यो पनि साकार हँुदै छ । हामीसँग ज्वलन्त उदाहरण छन् । महाकालीमा चार लेनको पुल, छेलामा औद्योगिक क्षेत्र निर्माण हँुदैछ । यसका साथसाथै दोधरा–चाँदनीमा सुक्खा बन्दरगाहको कुरा छ । अब महाकालीको करिडोर ल्याएर हामी ताक्लाकोटसम्म पुग्यौं भने चाइनासँग हुने व्यापार सहज हुन्छ । त्यसकारण कञ्चनपुरले त्यति मात्र नगरेर हामीले मेला महोत्सव गर्दा कञ्चनपुर उद्योग वाणिज्य संघले दोस्रो इन्डो व्यापार मेला देहरादूनमा गर्न सफल भएको छ । यो निजी क्षेत्रको मात्र प्रतिनिधित्व नभएर समग्र नेपालको प्रतिनिधित्व हो ।
मान्छेले मृत्युपछि पनि सम्मान पाउनुपर्छ । त्यसका लागि उद्योग वाणिज्य संघले शववाहन ल्याउनेछ । संघले एम्बुलेन्स ल्याइसकेको छ ।

कञ्चनपुर जिल्ला सीमासँग जोडिएको जिल्ला पनि हो । यहाँ दुईपक्षीय व्यापार–व्यवसाय विस्तार गर्न तपाईंंको भूमिका के हुन्छ ?
सबैभन्दा पहिला हामी व्यवसायीका प्रतिनिधित्व हौं र अर्कातिर व्यवसायी हौं । त्यससँगसँगै यो समाजका जिम्मेवार नागरिक पनि हौं । त्यसकारणले हामीमा विगतमा पनि विभिन्न समस्या देखिएका छन् । त्यसलाई सहज गर्न पुलको पनि अहम् भूमिका छ । चार घण्टाबाट सात घण्टा खुल्छ । यससँगसँगै सात घण्टाबाट चौबीसै घण्टा खोल्न पहल गर्छु । यसका साथै कञ्चनपुर उद्योग वाणिज्य संघ सीमामा रहेका व्यवसायीसँग सहकार्य गर्छ ताकि सीमामा देखिने समस्याहरू दुई पक्ष बसेर समाधान गर्नुपर्छ र सहजताको वातावरण सिर्जना गर्नुपर्छ । यो नै कञ्चनपुर उद्योग वाणिज्य संघको पहिलो र जिम्मेवार पक्ष हो ।

व्यवसायीका समस्या के–के छन् ?
अहिलेको हकमा व्यवसायीहरूका समस्या त्यतिसा-हो नदेखिए पनि केही समस्या छन् । द्वन्द्वकालदेखि जुन मान्छेले व्यवसाय सञ्चालन गर्न नेपाल सरकारको स्थानीय निकायबाट लाइसेन्स लिएको थियो, द्वन्द्वकालमा ती व्यवसायीहरू बाहिर हुँदा ती लाइसेन्स खारेज नभएको अवस्था छ, जरिवाना तिर्नुपर्ने अवस्था छ । त्यसकारणले स्थानीय सरकार बनिसकेपछि स्थानीय सरकारले घरेलु तथा वाणिज्यको जिम्मेवारी पाएको छ । मेरो र संस्थाको अनुरोध के हो भने त्यो लाइसेन्सलाई खारेज होइन, पुनर्जीवित गर्नुपर्छ ताकि अहिलेसम्मको जरिवाना हामीले ति-यौं भने त्यही लाइसेन्समा व्यवसाय चलाउन उद्योग वाणिज्य संघले पहल गरेको छ र म पनि गर्छु ।

यहाँ अवसरहरू के–के छन् ?
यहाँ धेरै अवसर छन् । अब सूर्य यहाँबाट उदाउँछ, पूर्वबाट होइन । यहाँ पर्यटनको धेरै सम्भावना छ । धार्मिक पर्यटकीय क्षेत्र छ । जडीबुटीको सम्भावना छ । यहाँ जलविद्युत्को सम्भावना छ । यहाँ होटल–व्यवसायहरूको सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा पर्यटकीय धेरै सम्भावनाहरू छन् । जहाँ हामीले लगानी लगाउनुपर्नेछ, राज्यले हामीले लगानी गर्ने वातावरण बनायो भने हामी लगानी गर्न सक्छौं । हामीसँग एसियाकै दोस्रो लामो झोलुङ्गे पुल छ, शुक्लाफाँटा छ, धार्मिक पर्यटकीय क्षेत्रहरू छन् । महाकालीमा -याफ्टिङ चलाउन सकिन्छ । यस्ता धेरै ठाउँ छन्, जसलाई पहिचान गराउन मात्र जरुरी छ । त्यसकारण निजी क्षेत्रले अब पहिचान गर्नतिर उन्मुख हँुदै यहाँ युवा स्वरोजगार र बाह्य पर्यटकहरूलाई आतिथ्यसँगै उहाँहरूले केही लगानी लगाउनुहुन्छ, उहाँहरूले गरेको खर्चले यहाँको व्यवसाय चलाउन हामी पहल गर्छौं ।

सुदूरपश्चिम प्रदेशमा उद्योगको सम्भावना कस्तो छ ?
यहाँ उद्योगका धेरै सम्भावना छन् । सबैभन्दा पहिला जडीबुटी उद्योग छ । एउटा होटल पनि उद्योग हो । होटलले उत्पादनमूलक रोजगारी उत्पादन गर्छ । आज होटलमा काम गर्ने वेटर भोलि म्यानेजर बन्न सक्छ । हामीसँग त्यस्ता प्रचुर उद्योग छन् । इँटा उद्योग छन्, खाद्यान्न उद्योगहरू छन् । चिनी उद्योगहरू छन्, मदिरा उद्योगहरू छन् । मदिरा उद्योग र चिनी उद्योग एक आपसमा रिलेटेड उद्योग हुन् । अब त्यति मात्र नभई यहाँ नयाँ उद्योग पनि स्थापना हुनुपर्छ जस्तो लाग्छ । उखुबाट मदिरालाई चाहिने कच्चा पदार्थ बन्छ । त्यति मात्र नभएर उखुबाट आउने कोस्टेजले पेपर बनाउन सकिन्छ । यसकारण एक–अर्कासँग परिपूरक उद्योग स्थापना हुने क्रम पनि जारी छ । यसका साथै इँटा उद्योग छन् । इँटा उद्योगमा काम गर्ने भारतीय नागरिक छन् । अब यहाँको स्थानीय व्यक्तिले पनि सीप सिकाउनुपर्छ । इँटा पकाउन, इँटा पोल्न सिकाउनुपर्छ । यहाँ थुप्रै सम्भावना छन् । यी सम्भावनाहरूलाई हामीले कसरी कदर गर्ने र कसरी अगाडि बढाउने भन्ने हाम्रो चिन्ता हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघमा मतदाता मात्रै बढे, तर व्यापार–व्यवसाय फस्टाएको देखिँदैन नि ?
होइन, त्यसो भन्न मिल्दैन । किनभने मान्छेले शान्तिको प्रत्याभूति पाइसकेपछि जहाँ मतदाताका रूपमा व्यवसाय बढ्यो भने व्यवसाय गाउँगाउँतिर विकेन्द्रीकरण भइसकेको छ । हो, अवश्य महेन्द्रनगर बजारमा जुन अनुपातमा बढ्नुपथ्र्यो, त्यो अनुपातमा बढेन । तथापि बढेन भन्न मिल्दैन । आज दक्षिणी क्षेत्रदेखि लिएर पश्चिमी क्षेत्र कञ्चनपुरका सीमाहरू जोडिएका छन् । त्यहाँ महेन्द्रनगरको अनुपातमा व्यवसाय जोडिएका छन् । त्यहाँ बजार विस्तार भएका छन् । आफ्नो स्वरोजगारका रूपमा व्यवसाय सञ्चालन भएका छन् । कञ्चनपुर जिल्लामा दशौं हजार व्यवसाय बढिरहेका छन् । त्यसकारण पनि उदाहरण दिन सकिन्छ, कञ्चनपुरमा व्यवसाय बढिरहेका छन् । बजार विस्तार भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण नाकाका रूपमा गड्डाचौकी नाका रहेको छ । यो नाकाबाट आर्थिक कारोबार बढ्न सकेन ?
होइन, त्यो भन्न मिल्दैन । किन बढ्न सकेन भने, म संस्थाको महासचिव हँुदाखेरि पनि हामीले यस्ता एजेन्डा उठाएका छौं । जुन अंग्रेजले बनाएको पुल (बनबासा पुल) चार घण्टा मात्रै खुल्थ्यो । त्यसलाई हामीले एजेन्डाका रूपमा लियौं । त्यसलाई हामीले ७ घण्टामा परिणत ग-यौं । आज सहज भएको छ । भारतीय ग्राहकहरू आउँछन् सामान किनेर लैजान्छन् । त्यति मात्र होइन, हामीले व्यवसायलाई राष्ट्रियकरण पनि गरिसकेका छौं । किनभने कञ्चनपुर उद्योग वाणिज्य संघले उत्तराखण्डको देहरादूनमा दोस्रो इन्डो व्यापार मेला लगाउँदा त्यहाँको परिवहन विभाग संघ एमओयू गरेर त्यहाँको औद्योगिक विभाग संघ एमओयू गरेर यातायात सञ्चालन गरेका छौं । आगामी केही वर्षभित्रमा त्यहाँको औद्योगिक क्षेत्रमा काम गरिरहेका उद्योगपतिहरू नेपालमा आएर कञ्चनपुर उद्योग वाणिज्य संघसँग सहकार्य गरेर जुन हाम्रो स्थापना भएको औद्योगिक क्षेत्र छ, त्यहाँ उद्योग स्थापना गर्न हामी पहल गर्छौं ।

निजी क्षेत्रलाई माथि उकास्न तपाईंंको नयाँ प्याकेज के छ ?
सबभन्दा पहिला त निजी क्षेत्रलाई माथि उकास्न लगानीको आवश्यकता पर्दैन । अब सोचको खाँचो पर्छ । त्यसकारणले म के भन्छु भने अब हामीले सोचलाई उदार बनाउनुपर्छ । यहाँ लगानीको कमी छैन । मानसिकताको कमी हो । हामीले ठूलो मन बनाएर लगानीकर्तालाई भिœयाउन सक्यौं भने यहाँ उद्योगका धेरै सम्भावना छन् । यहाँ कृषिको सम्भावना छ । जडीबुटीको सम्भावना छ । यहाँ पयर्टनको सम्भावना छ । त्यसकारणले अब हामीले लगानीमैत्री वातावरणको सिर्जना गर्छौं र वित्तीय संस्थासँग उद्योग, कलकारखानासँग सहकार्य गछौं । उद्योग सञ्चालन गर्न पर्याप्त लगानीको आवश्यकता हुन्छ । त्यहाँ शान्तिको प्रत्याभूति चाहिन्छ । त्यहाँ मजदुरको व्यवस्थापन हुनुपर्छ । यो काम भनेको निजी क्षेत्रको प्रतिनिधित्व गरिरहेको संस्था उद्योग वाणिज्य संघले गर्ने हो । त्यो दायित्व पनि हामीमा हुन्छ । त्यो दायित्वसँगसँगै त्यस्ता उद्योगीहरूलाई पनि निम्त्याउनु पर्छ, जसलाई हामी अनुरोध गर्नेछौं । केही एमओयू गरिसकेका छौं । आगामी दिनमा हामीले गरेको एमओयूको प्रतिफल यस क्षेत्रका उद्योगी–व्यवसायीहरूले देख्नुहुनेछ । त्यसको परिणाम सकारात्मक भयो भनेर हामीले श्रेय पाउनेछौं जस्तो लाग्छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरू चुनावका बेला मात्रै सक्रिय हुन्छन् भन्ने आरोप छ नि ?
चुनावको बेलामा जोकोही मान्छे सक्रिय हुन्छ । यो कञ्चनपुर उद्योग वाणिज्य संघको मात्र होइन, तपाई देख्नुहुन्छ— मान्छे छान्ने परिपाटी जुन बसेको छ, त्यो परिपाटी बसेको बेलामा केही चुनावी दिनहरू तोकिएका हुन्छन्, त्यो दिनमा सक्रिय हुनु स्वाभाविक हो । हामीले निजी क्षेत्रको प्रतिनिधित्व गर्नु भनेको हाम्रो एउटा व्यवसाय छ, कञ्चनपुर उद्योग वाणिज्य संघको संस्थागत जिम्मेवारी पाइसकेपछि संस्थालाई पनि डो-याउनुपर्छ । संघसँगै हाम्रो व्यक्तिगत व्यवसायलाई पनि डो-याउनुपर्छ । त्यसकारणले अघिल्ला–पछिल्ला दिनभन्दा चुनावमा सक्रिय हुनु स्वभाविक नै हो ।

दुई दशक उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गर्दा निजी क्षेत्रलाई के योगदान दिनुभयो ?
दुई दशक मैले त्यो संस्थामा प्रतिनिधित्व गरिरहँदा व्यवसायीहरूले जुन जिम्मेवारी दिनुभयो, जिम्मेवारी वहन गरिरहँदा निजी क्षेत्रको पहिलो एजेन्डा औद्योगिक क्रान्ति हो, त्यसलाई सफल बनाउन हामी सफल भयौं । चार घण्टा खुल्ने पुल सात घण्टा खुल्ने बनायौं । हाम्रो व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउन सफल भयौं, जुन इन्डो नेपाल मेला ग-यौं । नेपाल र भारतको परिवहनलाई सहज बनाउन सफल भयौं । नाकामा देखिने विविध समस्या समाधान गर्न सफल भयौं ।
साथै, व्यवसायको प्रत्यक्ष सरोकार राख्ने आन्तरिक राजस्व कार्यालय, घरेलु प्रशासनसँग सहकार्यको भूमिका निर्वाह ग-यौं, बैंकिङ तथा वित्तीय संस्थासँग ब्याजदरदेखि ऋण मिनाहाको सम्बन्धमा हामीले पहल ग-यौं । स्थानीय बजारलाई चुस्त–दुरुस्त बनाउन स्थानीय प्रशासन र व्यवसायीबीच सहकार्य ग-यौं । त्यसको प्रतिफलस्वरूप स्वागतको बजार र आजको बजार धेरै फरक छ । व्यवसाय गर्ने तरिका फरक छ र व्यवसायीकरण पनि फरक छ । त्यसकारण हामीले यहाँसम्म आइपुग्दा दिन–प्रतिदिन फरक लागेको होला फरक हामीले दिएका छौं ।

तपाईंंको अहिलेसम्मको अविजित यात्रा नेतृत्वतहमा पुग्दा के हुन्छ ?
धेरै चिज यस्तो हुँदो रहेछ । रातो कलम चलाउन पाए मैले केही गर्ने थिएँ भन्ने इच्छा हुन्छ । कञ्चनपुर उद्योग वाणिज्य संघमा व्यवसायी मित्रहरूले मलाई जिम्मेवारी दिँदै आज सदस्यबाट विभिन्न पद खाएर म रातो कलम चलाउने ठाउँमा पुगेपछि म त्यस्ता कामहरू गर्छु, जसले व्यवसायको संरक्षण, व्यवसायको भविष्य र व्यवसायको उज्यालोपनलाई झल्काउने गरेर नेपाल सरकार, स्थानीय सरकारसँग पहल गर्छु । व्यवसायीको समकक्षीको भूमिका निर्वाह गर्दै व्यवसायीहरूका समस्याप्रति उत्तरदायी बोध बनेर समस्या समाधान गर्ने र व्यवसायलाई अगाडि बढाउने अग्रणी स्थानमा रहन्छु जस्तो लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस्