शहरी विकासमन्त्रीका योजना «

शहरी विकासमन्त्रीका योजना

सरकारले सिंहदरबार परिसरभित्रै संघीय संसद्को भवन निर्माणदेखि भक्तपुरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्नेसम्मका योजना सार्वजनिक गरेको छ ।
शहरी विकास मन्त्रालयले आफ्ना मुख्य कार्यक्रमहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सिंहदरबार परिसरभित्र नेपालको राष्ट्रियता झल्काउने संघीय संसद् भवनदेखि भक्तपुरको ठिमीमा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्नेसम्मको योजना सार्वजनिक गरेको हो । मन्त्रालयले सिंहदरबारस्थित पुतली बगैंचामा संघीय संसद् भवन निर्माण गर्ने गरी डिजाइनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पुतली बगैंचामा रहेको सेनाको ब्यारेक गृह मन्त्रालय पछाडिको खाली जग्गामा सार्ने सहमति भइसकेको छ । मन्त्रालयले आउँदो माघ १५ गतेभित्रै डिजाइनको काम सम्पन्न गरी २०७६ असार मसान्तदेखि निर्माणको कार्य सुरु गर्ने तयारी गरेको बताएको छ । नेपालको राष्ट्रियता झल्काउने संघीय संसद्को आफ्नै भवन निर्माण कार्य सुरु भएको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, शहरी विकास मन्त्रालयले भक्तपुरको ठिमीस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको १ सय ८९ रोपनी छेत्रफलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने विषयलाई पनि आफ्नो मुख्य योजनामा समावेस गरेको छ । मन्त्रालयले २०७९ असार मसान्तभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको जनाएको छ । नेपालको एक मात्रै पाँच हजार क्षमता भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लिच्छवीकालीन कैलाशकुट दरबार शैलीमा निर्माण हुने मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको डिजाइनका लागि सरकारले प्रतियोगिता गरेको थियो । मन्त्रालयले प्रतियोगिताबाट आएका डिजाइनको मूल्यांकनको काम सम्पन्न भएपछि २०७६ असार मसान्तदेखि निर्माण सुरु गर्ने जानकारी दिएको छ ।
यस्तै, मन्त्रालयले राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको बिस्तार तथा सुधार, सैंबु भैंसेपाटीमा नयाँ मन्त्री निवास, प्रदेश सम्पर्क कार्यालय निर्माणको प्रारम्भिक मास्टर प्लान तयारीलगायतका विषय पनि आफ्नो मुख्य कार्यक्रममा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्