Logo

एक्सपर्ट एजुकेसनद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस चितवनले ५ वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । चितवनका दुई अस्पताल, मकवानपुरका २ स्वास्थ्य चौकी र नवलपरासी पूर्वका १ अस्पताललाई सहयोग गरेको हो ।

चितवनको माडी नगरपालिकाको बघौडा अस्पताल, इच्छाकामना गाउँपालिकाको दारेचोक स्वास्थ्य चौकीलाई सहयोग गरेको हो । यस्तै मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत नामटार स्वास्थ्य चौकी र मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्य चौकी र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको देउराली प्राथमिक अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरिएको छ ।

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले एक्सपर्ट फाउन्डेसनमार्फत एक्सपर्टले देशका सबै शाखामार्फत ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको बताए ।
जसमध्ये चितवन शाखालाई ७ वटा अक्सिजन कन्सट्रेटर प्राप्त भएको थियो । तीमध्ये ५ वटा वितरण गरिसकेको छ भने बाँकी दुईवटा उपकरण छिट्टै विकट ठाउँमा वितरण गर्ने तयारीमा छ । ती सबै स्वास्थ्य संस्थालाई एक/एक थान १० लिटर क्षमताको अक्सिजन कन्सट्रेटर सहयोग गरिएको हो । यसले अक्सिजन आवश्यक पर्ने बिरामीलाई तत्कालै अक्सिजन दिन मद्दत पुग्ने छ । सघन कक्षमा उपचार गर्नुपर्ने बिरामीबाहेकलाई यसै कन्सट्रेटरबाट सहजै अक्सिजन प्रदान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्