सहकारी ज्ञानसागर बजारमा «

सहकारी ज्ञानसागर बजारमा

बैकिङ क्षेत्रमा कार्यरत एवम् सहकारीविद् शहदेव बस्नेतको पुस्तक ‘सहकारी ज्ञानसागर’को लोकार्पण गरिएको छ । पूर्व उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथिको रूपमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी प्रमुख प्रा. डा. गोविन्द पोख्रेल सहभागी थिए ।
कार्यक्रममा सहकारी महासंघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले नेपालमा हालसम्म ३४ हजार ५ सय सहकारी संस्था स्थापना भइसकेको र यस्ता सहकारी सञ्चालनसम्बन्धी पुस्तकको अभावका बीचमा यो पुस्तक प्रकाशित हुनु धेरै राम्रो भएको र पुस्तकको भविष्य उज्ज्वल रहेको बताए ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् सहकारी विज्ञ केबी उप्रेतीले प्रत्येक सहकारीको सही सञ्चालन र चुस्त दुरुस्त आर्थिक प्रशासनको लागि सार्वजनिक गरिएको पुस्तक अन्त्यन्त उपयोगी हुने बताए ।
डा. वाइबी थापाले पुस्तक छोटो समयमै पढ्न सकिने भए पनि यसमा धेरै कुरा समावेश गरिएको र यसलाई हरेक विश्वविद्यालयले स्नातकोत्तर तहको एउटा पाठ्यक्रमको रूपमा पनि राख्न सकिने बताए । मेगा बैंकका मानव संशाधन प्रमुख राजेन्द्र सुवेदीले यो पुस्तक सहकारी, लघुवित्त र बैंकसहित विभिन्न वित्तीय क्षेत्रका अनुभवी व्यक्तिले लेखेकाले पनि सहकारीकर्मीलाई फलदायी हुने विश्वास व्यक्त गरे । प्रा. डा. गोविन्द पोख्रेलले सहकारीमार्फत् पुँजीको परिचालन गरिनुपर्ने र यसका लागि यो पुस्तक एक उत्तम सहयोगी सावित हुने बताए ।
पुस्तकका लेखक शहदेव बस्नेतले पुस्तकभित्र सहकारी सञ्चालक समिति र उपसमितिका सबैले गर्नुपर्ने कामको व्याख्या गरिएको, सहकारी ऐन २०७४ र सम्पत्ति सुद्धीकरण निवारणसम्बन्धी सहकारी संस्थालाई जारी गरिएको निर्देशन २०७४ लाई टिप्पणीसहित समावेश गरिएको जानकारी दिए ।
पूर्वउपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पुँजीलाई सहकारी मार्फत परिचालन गर्दा सामन्तीवर्गबाट पनि पुँजीको सुरक्षा गर्न सकिने बताए । उनले ज्ञानै ज्ञानले भरिएको यो पुस्तकले सहकारी सञ्चालनको सही विधि र राष्ट्रिय आर्थिक विकासको क्षेत्रमा सहकारीको महत्व अझ दर्शाउने बताए ।

प्रतिक्रिया दिनुहोस्