रेमिट्यान्स कम्पनीले विनिमयदर प्रकाशित गर्नुपर्ने «

रेमिट्यान्स कम्पनीले विनिमयदर प्रकाशित गर्नुपर्ने


बैंक तथा वित्तीय संस्थाहरुले विदेशी मुद्राको विनिमयदर प्रकाशित गरेजस्तै अब रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरुले पनि रेमिट्यान्स विनिमयदर प्रकाशित गर्नुपर्ने भएको छ ।


नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका साथै रेमिट्यान्स कम्पनीलाई निर्देशन जारी गर्दै दैनिक दुई पटक औसत विनिमयदर प्रकाशित गरी त्यसैका आधारमा कारोबार गर्न निर्देशन दिएको हो ।


फरेन एक्सचेन्ज डिलर एसोसिएसन अफ नेपालमार्फत विदेशी मुद्राहरुको औषत खरिददर तय गरी त्यसैका आधारमा बिहान १० बजे र दिउँसो २ बजे रेमिट्यान्स विनिमयदर प्रकाशित गर्नुपर्ने निर्देशनमा उल्लेख छ । उक्त रेमिट्यान्स विनिमयदरको जानकारी राष्ट्र बैंकको विदेशी विनिमय विभागमा दिनुपर्नेछ ।


रेमिट्यान्स कम्पनीहरुले रेमिट्यान्स कारोबार गर्दा जथाभावी विनिमयदर निर्धारण गर्ने गरेका गुनासो बढेसँगै यसलाई व्यवस्थित गर्न केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।


यसैगरी रेमिट्यान्स कम्पनीहरुले सबएजेन्ट नियुक्त गर्दा नगद धरौटी लिन नपाउने व्यवस्था समेत केन्द्रीय बैंकले गरेको छ । सब एजेन्टबाट नगद धरौटीको सट्टा बैंक जमानत लिनुपर्ने निर्देशनमा उल्लेख छ । हाल रेमिट्यान्स कम्पनीहरुले सबएजेन्ट नियुक्त गर्दा नगद धरौटी लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्