प्रतिपक्षीद्वारा प्रदेश सभाको बैठक अवरुद्ध «

प्रतिपक्षीद्वारा प्रदेश सभाको बैठक अवरुद्ध

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) ले असंबैधानिक तरिकाले बजेट ल्याएको भन्दै प्रदेश सभाको बुधबारको बैठक चल्न नदिएका हुन् । सभामुख अर्जुनबहादुर थापाले बैठकको कारबाही शुरु गर्नासाथ उठेर कांग्रेस र जसपाका प्रदेश सांसदहरुले बैठक अबरुद्ध गरेका थिए ।
सभामुख थापाले बैठक अबरुद्ध गर्नुको कारण सोधेपछि नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द बोहराले प्रदेश सभा सचिवालयमा दर्ता भएको आगार्मी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउनका लागि सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यायदेश नेपालको संविधान र प्रदेश सभा नियमावली विपरित रहेको बताए ।

उनले नेपालको संविधानको धारा २०२ र सुदूरपश्चिम प्रदेश सभा नियमावलीको परिच्छेद १४ को प्रक्रिया नप¥याएर बजेट ल्याएको हुनाले नेपाली कांग्रेसले विरोध गरेको जनाए ।
यसअघि, सोमबार र मंगलबारको प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले विचौलियाले ल्याएको योजनामा बजेट परेको र असंबैधानिक रुपमा बजेट ल्याएको भन्दै विरोध गरेका थिए । उनीहरुले प्रदेश सभाको संसदीय समिति बनाएर बजेटमा सुधार गर्नुपर्ने अन्यथा बजेट पास हुन नदिने चेतावनी दिएका थिए ।
नेपाली कांग्रेस संसदीय दलका नेताले डा. रणबहादुर रावलले पहिले सो अध्यादेशलाई संसद्बाट पास गर्नुपर्नेमा सिधै नीति तथा कार्यक्रम र बजेट ल्याएको हुनाले संविधानको बचाउका लागि विरोध जनाएको बताए । उनले प्रक्रिया र बजेट तथा योजना नसच्याएसम्म संसद् चल्न नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्