खेलाडीको सुविधा नघटाउन उपराष्ट्रपतिको ध्यानाकर्षण «

खेलाडीको सुविधा नघटाउन उपराष्ट्रपतिको ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले खेलाडीहरुलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।


बुधबार ओलम्पिक डे २०२१ को अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले खेलाडीलाई मासिक रुपमा दिइने गरेको आर्थिक सुविधा निरन्तर नभएको गुनासोहरु आइरहेको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले फुटबल र क्रिकेटबाहेकका राष्ट्रिय खेलहरुको नियमित प्रशिक्षण नहुने गरेको भन्दै सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणको पूर्वाधार विकास गर्न पनि ध्यानाकर्षण गराए । उनले भने, ‘खेलकुदको विकासको लागि पूर्वाधार पहिलो शर्त हो । खेलाडीलाई मासिक रुपमा दिइने आर्थिक सुविधा निरन्तर नभएको गुनासो आइरहेको छ । म निरन्तरता दिन ध्यानाकर्षण गराउन चाहन्छु ।

फुटबल र क्रिकेट बाहेकका राष्ट्रिय खेलहरु नियमित प्रशिक्षण पनि नभएको चर्चाहरु चल्ने गरेको छ । सबैखाले राष्ट्रिय खेलको नियमित प्रशिक्षण गर्न पूर्वाधार विकासमा ध्यान दिन आग्रह गर्न चाहन्छु ।’


उपराष्ट्रपति पुनले ओलम्पिक खेलको विकासका लागि दिर्घकालीन योजना बनाउनुपर्नेमा पनि जोड दिए । दिर्घकालीन योजना बनाएर ओलम्पिकमा लगानी गर्न उनले आग्रह गरे ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकुदमा समावेश गराउने गरेको तथा शारिरीक र मानसिक रुपमा तन्दुरुस्त राखेको बताए । उनले समाजमा शान्ति स्थापना गर्न र विकासका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्