‘आइसिटी अवार्ड–२०२१’ को अनलाइन आवेदन खुला, साउन १६ गतेसम्म म्याद

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थापित आइसिटी अवार्ड छैटौं संस्करणको अनलाइन नोमिनेसन (आवेदन) सुरु भएको छ । ११ विधामा प्रदान गर्ने उक्त अवार्डको छैटौं संस्करणअन्तर्गत ‘आइसिटी अवार्ड २०२१’ को अनलाइन नोमिनेसन बुधबारदेखि सुरु भएको हो ।
विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाले २०७८ साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । अवार्डमा प्रतिस्पर्धी आफंै वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गर्न मिल्ने आइसिटी अवार्ड समितिले जनाएको छ ।
आइसिटी अवार्ड २०२१ लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने समितिले जनाएको छ । समितिका अनुसार, दोस्रो लहरको कोभिड संक्रमण दर केही घटेकाले अवार्डका लागि अनलाइन नोमिनेसन खुला गरिएको हो । तर, अवार्डको छनौट समितिका अधिकांश मिटिङहरू भर्चुअल सञ्चालन हुने बताइएको छ । आइसिटी अवार्डको छनौट प्रक्रियाका लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकारहरू छन् ।
नोमिनेसन खुला गरिएको ११ विधामध्ये स्टार्टअप तथा प्रोजेक्टका लागि स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी तीन विधाहरू छन् । त्यस्तै व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड छन् ।
त्यसैगरी सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन् ।
सन् २०१६ देखि सुुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन् । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन विधामा ३ चरणको छनौटपश्चात् उत्कृष्ट ५ घोषणा गर्दै पब्लिक भोटिङ सञ्चालन हुनेछ । अन्य विधामा पनि विभिन्न ४ चरणका भर्चुअल छनौट र फिल्ड भिजिट सञ्चालन हुने आयोजकले जनाएको छ ।
मंगलबार भएको भर्चुअल प्रेस कन्फ्रेन्समा आयोजक समितिका संयोजक राजन लम्सालले हरेक वर्ष अवार्डलाई परिस्कृत गर्दै बृहत बनाउन लागेको बताएका छन् । त्यस्तै जुरी संयोजक सुशील पोखरेल र प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले आइसिटी अवार्डलाई हरेक पक्षबाट स्तरीय र विश्वसनीय बनाउन लागि पर्ने बताए । पूर्वमन्त्री गणेश शाहले आइसिटी क्षेत्रलाई अझ फराकिलो बनाउँदै लानुपर्ने र यसका लागि अवार्डले सार्थक बनाइरहेको बताएका छन् भने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव अनिल दत्तले आइसिटी अवार्डले नेपालको आइसिटी क्षेत्रलाई प्रवद्र्धन गरेको बताएका छन् ।
आइसिटी अवार्ड २०२१ का लागि आवेदन दिन, आइसिटी अवार्ड डटओआरजीमा गई रजिस्ट्रेसनमा क्लिक गरी सम्बन्धित विधा छनौट गरी आवश्यक अनलाइन फारम बुझाउनु पर्ने हुन्छ ।