५ राजदूत सिफारिस, ३ फिर्ता बोलाइए

मन्त्रिपरिषद् निर्णय
सरकारले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ भने ३ देशबाट राजदूत फिर्ता बोलाएको छ । यही पुस ६ र ९ गते मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरिएको छ ।
त्यस्तै, शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरु भने फिर्ता बोलाइएका छन् । बंगलादेशका लागि नेपाली राजदूत डा. चोपलाल भुसाल, दक्षिण कोरियाका राजदूत अर्जुन जंगबहादुर सिंह र स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई फिर्ता हुन ३ हप्ताको समय दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।
भुसाल र सिंह कांग्रेसको कोटाबाट र रायमाझी राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटाबाट राजदूत भएका थिए । यसअघि सरकारले सिफारिस गरेका भारतका लागि राजदूत निलाम्बर आचार्य, युएईका लागि कृष्ण ढकाल, मलेसियाका लागि उदयराज पाण्डे र इजरायलका लागि अन्जान शाक्यको संसदीय सुनुवाइ सम्पन्न भइसकेको छ । उनीहरुको एग्रिमोका लागि सम्बन्धित देश पठाइएको छ ।