म्युचुअल फण्डबारे लगानीकर्तालाई जानकारी गराउन जरुरी छ «

म्युचुअल फण्डबारे लगानीकर्तालाई जानकारी गराउन जरुरी छ

रमेन्द्र रायमाझी, सीईओ, एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) आजदेखि खुल्दैछ । एक अर्बको हाराहारीमा रहेको फण्ड ७ वर्ष अवधिको बन्दमुखी योजना हो । जसमध्ये १० रूपैयाँ अंकित दरका एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक बैंक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई असार १० गते देखि १४ गतेसम्म सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । एनआईसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डका विशेषता तथा म्युचुअल फण्डका बारेमा एनआईसी एशिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझीसँग कारोबारले गरेको कुराकानीको सार ।

एनआईसी एशिया सेलेक्ट ३० फण्ड निष्काशनको गर्दै हुनुहुन्छ । यो कस्ता प्रकारको फण्ड हो र फण्डको आकार, बिक्री खुल्ला रहने समय तथा कसरी लगानी गर्न सक्छन् ।

–एनआईसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्ड हो । यो ७ वर्ष अवधिको बन्दमुखी योजना हो । यसको आकार एक अर्बको रहेको छ । जसमध्ये १० रूपैयाँ अंकित दरका एक करोड ५० लाख इकाई अर्थात १५ करोड रूपैयाँ कोष प्रवद्र्धक बैंक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी १० रूपैयाँ अंकित दरका ८ करोड ५० लाख इकाई असार १० गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । एनआईसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको आईपीओ असार १० देखि १४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला हुने छ । अत्यधिक माग भएको अवस्थामा यस योजनाको आकार एक अर्ब २५ करोडसम्म कायम गर्न सकिने छ ।
यस योजनाको इकाई खरिद गर्नको लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोषलगायतले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।
इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिने छ । साथै सिडिएससी ले उपलब्ध गराएको मेरो सेयर एप्लिकेसन प्रयोगकर्ताहरुले मेरो सेयरको माई आस्वामा गई सहजै रुपमा आवेदन दिन सक्नुहुने छ ।

हाल सेयर बजारमा म्युचुअल फण्डहरुको उपस्थिति बढ्दै गएको छ । तर म्युचुअल फण्डहरुले बजारमा आफूलाई एउटा औजारको रुपमा स्थापित गर्न भने सकेनन् भन्ने आरोप छ नि, के भन्नुहुन्छ ?

–हाल नेपालमा १५ वटा क्यापिटलले म्युचुअल फण्ड सेवाअन्तर्गत २५ वटा योजनाहरु सञ्चालनमा छन् । निकट भविष्यमा म्युचुअल फण्ड सञ्चालन गर्ने क्यापिटलहरु तथा म्युचुअल फण्डअन्तर्गतका योजनाहरुको संख्या बढ्दै जाने देखिन्छ । नेपालको सन्दर्भमा म्युचुअल फण्ड सञ्चालनको इतिहास धेरै लामो नरहेको तथा म्युचुअल फण्डमा लगानी गर्दा हुने फाइदाका बारेमा आम लगानीकर्तालाई जानकारी गराउन नसकिएकाले पनि म्युचुअल फण्डको इकाई खरिद गर्नका लागि सर्वसाधारण लगानीकर्ता आकर्षित नभएका हुन सक्छन् । तर नेपालको सन्र्दभमा हेर्ने हो भने संस्थागत लगानीकर्ताको बजारमा उपस्थिति नरहेको अवस्थामा म्युचुअल फण्डको उपस्थितिले समग्र सेयर बजारको विकास विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
केही लगानीकर्ताले बजार घट्दो क्रममा रहेको अवस्थामा म्युचुअल फण्डहरुले सेयर खरिद गरी बजार घट्नबाट रोक्न भूमिका खेल्नु पर्दछ भन्ने कुराहरु गरेको पनि सुनिन्छ । तर म्युचुअल फण्डमार्फत लगानी गरिने रकम पनि तपाई हामी जस्तै सर्वसाधारणबाट स–सानो रकम संकलन गरी उठाइएको हुँदा फण्डमा लगानी गर्ने इकाई धनीहरुको लगानी सुरक्षित गरी उनीहरुलाई उचित मुनाफा वितरण गर्नु हाम्रो प्रमुख उद्देश्य हुन्छ । तसर्थ म्युचुअल फण्ड सञ्चालकहरुले पनि इकाई धनीप्रति उत्तरदायी भएर धितोपत्रको खरिद बिक्री गर्ने सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । पछिल्लो समयमा धितोपत्रको दोश्रो बजारमा म्युचुअल फण्डको इकाईको कारोबार वृद्धि हुँदै गएको देखिन्छ । यसको अर्थ म्युचुअल फण्डको इकाईमा लगानी गर्दा राम्रो मुनाफा लिन सकिन्छ भन्ने कुरा विस्तारै आम लगानीकर्तामा पर्दै गएको छ । हाल सञ्चालित अधिकांश योजनाको प्रर्दशन राम्रो रहेको छ भने लगभग सम्पूर्ण फण्डहरुले राम्रो प्रतिफल वितरण गर्न सक्ने अवस्थामा रहेकाले आगामी दिनमा म्युचुअल फण्डप्रति सर्वसाधारणको आकर्षण बढ्दै जाने देखिन्छ । हामीले यस भन्दा अगाडी निष्काशन गरेको डाईनामिक डेप्ट फण्डमा माग गरिएको भन्दा तीन गुणा बढी आवेदन प्राप्त भएको थियो भने त्यसपछि बजारमा आएका म्युचुअल फण्डहरुमा उत्साहजनक सहभागित रहेको देखिन्छ । त्यसैले विस्तारै म्युचुअल फण्ड पनि धितोपत्र बजारमा प्रमुख लगानी औजारको रुपमा स्थिापित हुनेमा पूर्ण विश्वास लिएको छु ।

नियामक निकायको भूमिकाले म्युचुअल फण्डको विकास एवं विस्तारमा कस्तो सहयोग भइरहेको छ ?

–पछिल्लो समयमा नियमनकारी निकायको धितोपत्र व्यवसायीहरुको कार्य क्षेत्र विस्तार तथा नीतिगत सुधारका कामहरु धेरै गरिसकेको र केही हुने क्रममा रहेको देखिन्छ । म्युचुअल फण्डको विकास विस्तारमा समेत पछिल्लो समयमा सामूहिक लगानी कोष नियमावली संशोधन गरी सामूहिक लगानी कोष सञ्चालनमा नयाँ व्यवस्था गरेको छ । मापदण्ड पु¥याएर बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुलाई पनि सामूहिक लगानी कोष सञ्चालन गर्नको लागि अनुमति दिने व्यवस्था गरेको हुँदा म्युचुअल फण्ड सञ्चालन गर्ने कम्पनीहरुको संख्या विस्तारै बढ्दै जाने देखिन्छ । जसले गर्दा समग्र धितोपत्र बजारको विकास विस्तार हुनुको साथै लगानीकर्तालाई थप नयाँ लगानीको अवसर प्राप्त गर्नेछन् ।

म्युचुअल फन्डहरुको आकर्षण बढ्दा यसका लगानीकर्ताले कतिसम्म रिटर्न आशा गर्न सक्दछन् ?

–म्यूचुअल फण्डमा गरिने लगानी आफैंमा लगानीको डाभर्सिफिकेसन हो । पछिल्लो समयमा धितोपत्र बजारसँगै म्युचुअल फण्डहरुको प्रफमेन्स राम्रो रहेको हुँदा म्युचुअल फण्डप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । हाल हामीले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको दुई वटा बन्दमुखी योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सडे् फण्ड तथा एउटा खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड सञ्चालन गरिरहेका छौं ।
सञ्चालनमा रहेको योजनामध्ये पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्डले सञ्चालनमा आएको दुई वर्षको अवधिमै २२ प्रतिशत नगद लाभांश वितरण गरी २०७८ जेठ मसान्तमा १९.३२ न्याभ कायम गर्न सफल भएका छौं भने दोश्रो योजना एनआईसी एशिया ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको पहिलो ८ महिनाको अवधिमै ८ प्रतिशत नगद लाभांश वितरण गरी जेठ मसान्तमा मा १७.७२ न्याभ कायम गर्न सफल भएका छौं । त्यस्तै यस क्यापिटलद्वारा सञ्चालित पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड सञ्चालनमा आएको ७ महिनाको अवधिमै ११.३९ न्याभ कायम गर्न सफल भएका छौं । समग्रमा हामीले सञ्चालन गरिरहेको योजनाहरुको प्रदर्शन राम्रो देखिन्छ । जुन कुरा मासिक रुपमा प्रकाशित गरिने योजनाहरुको वित्तीय विवरण हेरेर यहाँहरुले नै आकलन गर्न सक्नु हुने छ ।
यसबाट पनि के सहजै अनुमान लगाउन सकिन्छ भने अहिले सञ्चालन गर्न लागिएको एनआईसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डमा लगानी गर्ने लगानीकर्ताले पनि राम्रो प्रतिफल प्राप्त गर्न सक्नुहुने छ । यो फण्डमा लगानी गर्ने इकाई धनीहरुले कम्तिमा १४३ प्रतिशत भन्दा बढी रिर्टन प्राप्त गर्ने हामीले प्रक्षपेण गरेका छौं ।

एनआइसीको यो नयाँ म्युचुअल फण्डको विशेषता के के हो ? किन यो म्युचुअल फण्डमा नै लगानी गर्ने ?

–एनआईसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्ड हो । यस योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिनेछ । यस योजनाको प्रमुख विशेषता भनेको सूचीकृत कम्पनीहरुमा लगानी गर्दा राम्रा मानिएका कम्पनीहरु मध्ये ३० वटा मात्र उत्कृष्ट कम्पनीहरु छनौट गरी लगानी गरिने हो । सोही अनुसार ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेञ्जमा कायम गरेको सम्पूर्ण समूहको प्रतिनिधित्व गर्ने भएकाले यस फण्डलाई इन्डेक्स फण्ड भनिएको हो ।
धितोपत्रको दोश्रो बजारमा गरिने लगानी कहिले पनि जोखिम रहित हुँदैन । अर्थाथ दोश्रो बजारमा सेयर खरिद बिक्री गर्ने भन्ने सबैको इच्छा चाहना हुन्छ । तर कस्ता कम्पनी किन्ने कहिले किन्ने र कहिले बेच्ने भन्ने निर्णय लिन आम लगानीकर्तालाई निकै गाह्रो विषय हुन सक्दछ । त्यसैले सेयर बजारमा लगानी गर्न मन भएका तथा सेयर बजार सम्बन्धी ज्ञान कम भएका सर्वसाधरण तथा संघ संस्थाहरुले यस योजनामा लगानी गर्दा उचित प्रतिफल प्राप्त गर्ने छन् । अर्को शब्दमा भन्दा यस फण्डमा संकलित रकमले धितोपत्रको दोश्रो बजारमा सूचीकृत सम्पूर्ण समूह उप–समूहमा रहेका राम्रा मानिएका कम्पनीहरु छनौट गरी लगानी गरिने हुँदा फण्डमा लगानी गर्ने इकाई धनीले सानो रकम लगानी गर्दा पनि सूचीकृत कम्पनीमध्ये राम्रा मानिएका ठूला कम्पनीबाट लाभ लिन सक्ने हुँदा यस योजनामा निर्धक्कसँग लगानी गर्न अनुरोध गर्दछु ।

नेपालमा क्लोज एण्डेड म्युचुअल फण्डहरु धेरै आए तर, ओपन एण्डेड म्युचुअल फण्डहरु किन एकदमै कम आएका होलान् ?

–हो हाल बजारमा सञ्चालित अधिकांश योजनाहरु बन्दमुखी प्रकृतिका रहेको छन् । नेपालमा म्युचुअल फण्ड सञ्चालनको इतिहास लामो नरहेको हुँदा भर्खरै म्युचुअल फण्ड सञ्चालनको सुरुवाती चरणमै रहेको छ । म्युचुअल फण्ड व्यवस्थापनको हिसावले हेर्दा पनि खुलामुखी योजना सञ्चालन गर्नु भन्दा बन्दमुखी योजना सञ्चालन गर्दा सहज हुने हुँदा सुरुवाती चरणमा बन्दमुखी योजनाहरु सञ्चालनमा आए पनि बिस्तारै खुलामुखी योजनाहरु सञ्चालनमा आउन थलेको छन् ।
हामीहरुले पनि यस भन्दा अगाडि नै एउटा खुलामुखी योजना एनआईसी एशिया डाइिनामिक डेप्ट फण्ड सञ्चालन गरिरहेका छौं । विस्तारै अरु क्यापिटलहरुले पनि खुलामुखी योजना सञ्चालनका लागि प्रकृयामा रहेको देखिन्छ । त्यसैले आगामी दिनमा बन्दमुखी योजना भन्दा खुलामुखी योजना सञ्चालन गर्ने क्रम बढ्दै जाने देखिन्छ ।

अन्त्यमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौं योजना आउँदै छ भन्नु भयो । उक्त योजना कस्तो प्रकारको हो ?

–हामीले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौ योजना नामक बन्दमुखी योजना स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पेश गरिसकेका छौं । उक्त योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचीकृत सम्पूर्ण कम्पनीहरुमा लगानी गरिने छ । लगानी गर्दा स्माल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी जुन क्यापमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने जुनसुकै कम्पनीको सेयरमा पनि लगानी गर्न सकिने प्रकृतिको फण्ड हो ।

प्रतिक्रिया दिनुहोस्