आयात १३.८३ खर्ब, निर्यात १.२१ खर्ब «

आयात १३.८३ खर्ब, निर्यात १.२१ खर्ब


चालू आर्थिक वर्षको ११ महिनामा आयात २५ र निर्यात ३७ प्रतिशतले बढेको छ ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठ महिनासम्ममा आयात तथा निर्यात दुवै बढेको हो । कोरोना महामारी बीचमा पनि आयात तथा निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।
जेठमसान्तसम्ममा आयात २५.६७ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँ भएको विभागले जनाएको छ । अघिल्लो वर्ष सो अवधिमा ११ खर्ब ८१ करोड ३४ लाख २० हजारको आयात भएको थियो । साथै, उक्त अवधिमा निर्यात ३७.७८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजारको भएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष सो अवधिमा ८८ अर्ब ३१ लाख १० हजार रुपैयाँको निर्यात भएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार ११ महिनामा नेपालले कूल १५ खर्ब बढीको वैदेशिक व्यापार गरेको छ । विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार पछिल्लो ११ महिनामा मात्रै १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ बराबरको आयात निर्यातको व्यापार भएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ५६ प्रतिशतले बढी हो ।
गत आवको यही अवधिमा नेपालले ११ खर्ब ८८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । ११ महिनामा सबैभन्दा धेरै औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थ, मेसिनरीका सामान आयात भएका छन् ।
आयात र निर्यातको आँकडा हेर्दा नेपालको वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा ७ दशमलव ४० प्रतिशत हुँदा आयात व्यापारको हिस्सा ९२ दशमलव ६० प्रतिशत हुन आउँछ । जसका कारण नेपालले पछिल्लो ११ महिनामा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको व्यापारघाटा बेहोर्नु परेको छ ।
जुन गत वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ६१ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा नेपालले १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ बराबरको व्यापारघाटा बेहोर्नु परेको थियो । ११ महिनामा वस्तु तथा सेवाको आयात गरेर ३ खर्ब ८२ अर्ब १३ करोड ५८ लाख २ हजार रुपैयाँँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । कोभिड महामारीबीचमा पनि आयात बढ्दै गएकाले राजस्व संकलनमा वृद्धि भएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्