सरकारले दिएको सुविधा उपयोग गर्न होटल तथा पर्यटन व्यवसायीलाई आग्रह «

सरकारले दिएको सुविधा उपयोग गर्न होटल तथा पर्यटन व्यवसायीलाई आग्रह


उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरका छन् ।


होटल संघ नेपालको सुझावपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गरेका हुन् ।


बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमुलक उद्योग सरहको सुविधा उपलबध गराइने उल्लेख गरिएको जानकारी गराउँदै उनले कोरोना महामारीको समयमा यो भन्दा राम्रो अर्को बजेट आउन सम्भव नभएको दावी गरे ।


उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख भएका कार्यक्रमहरु कार्यान्वयन हुनेमा ढुक्क हुन व्यवसायीहरुलाई आग्रह गरे । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा होटललाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमाण्ड शुल्क छुट दिने, कोरोनाबाट प्रभावित होटल, ट्रेकिङलगायतका पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८/०७९ मा तिर्नु पर्ने इजाजत तथा निवकरण दस्तुर छुट दिइ स्वतः नवीकरण हुने व्यवस्था उल्लेख गरिएको छ ।


यस्तै होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, कोरोनाका काराण सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्डअनुसार रकम उपलब्ध गराउने लगायत उल्लेख गरिएको छ ।


होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटललाई सेवामूलक उद्योगमा राख्नु ठूलो कुरा भएको उल्लेख गर्दै बजेट निर्माणका बेला होटल संघ नेपालले दिएको सुझावहरु बजेटमा सम्बोधन भएपनि कार्यान्वयनमा आशंका रहेको बताइन् ।
बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको राष्ट्र बैंकमार्फत अनुगमन गर्नुपर्ने भन्दै संघले हाल कायम रहेका पुर्नकर्जाको रकम थप गरिनुपर्ने तथा सो कर्जाको अवधि अर्को एक वर्षसम्म कायम गर्न माग गरेको छ ।

त्यसैगरी राष्ट्रबैंकले तोकेको दरमा २ प्रतिशतसम्म थप प्रिमियम लिने गरी गर्ने व्यवस्था रहेकोमा सो प्रिमियम रकम १ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था गर्न संघले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्