पर्वतमा सतुवाको व्यावसायिक खेती सुरू «

पर्वतमा सतुवाको व्यावसायिक खेती सुरू


बहुमूल्य जडिबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती सुरू गरिएको छ ।
जिल्लाको जलजला गाउँपालिका–६ शालिजा र ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा सतुवाको खेती थालिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग हुँदै आएको छ ।


यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, वान्ता वा पखाला लागेका बिरामी तथा गाईभैंसी बिरामी हुँदा सतुवा खुवाइन्छ । १ हजार ८ सयदेखि ३ हजार मिटरसम्म उचाइमा हुने सतुवा भारत र चीन निकासी हुँदै आएको छ । महत्वपूर्ण जडिबुटीको रुपमा चिनिने सतुवावाट प्रसस्त आम्दानी गर्ने उद्देश्यले यहाँका झण्डै ५० भन्दा बढी कृषकले खेती सुरू गरेका हुन् ।

वनौका देउप्रसाद फगामी, रामबहादुर गर्वुजा, धनबहादुर फगामी, टकमाया फगामी, प्रेम पुन, गौबहादुर पुन, टमप्रसाद पुन लगायतका कृषकहरुले व्यावसायिक रुपमा खेती गरेको जलजला गाउँपालिका वडा नं. ९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिए । त्यसैगरी जलजलाका १ दर्जन भन्दा बढी कृषकहरुले यसको व्यावसायिक खेती गरेको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ ।


कार्यालयका अनुसार पर्वतमा झण्डै १५ रोपनी क्षेत्रफलमा यसको खेती सुरू गरिएको छ । अहिले अधिकांस कृषकहरुले विरुवा तयार गरिएको बताएका छन् । बिक्रीको समस्या नहुने र पर्याप्त मुल्य समेत पाइने भएपछि कृषकहरु यस खेतीतर्फ आकर्षित बनेको सतुवा कृषक प्रेम पुर्जाले बताए । उनका अनुसार तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । पहिलोपटक खेती सुरू गरेकाले यतिनै उत्पादन हुन्छ भन्न नसकिने कृषकहरुको भनाइ छ । यस वर्षको उत्पादनको परिमाण हेरेर आगामी वर्षदेखि खेती विस्तार गर्ने योजनामा कृषकहरु रहेका छन् ।

डिभिजन वन कार्यालयले सतुवा खेतीमा यस वर्ष अनुदानसमेत दिएको छ । कृषकहरुले गरेको सतुवा खेतीको क्षेत्रफल र उत्पादनको आधारमा ४ लाख रुपैयाँ अनुदान वितरण गरिएको डिभिजनल वन अधिकृत मेघराज पौडेलले जानकारी दिए । उनका अनुसार यो अनुदान हरेक वर्ष विस्तार गर्दै जाने योजना रहेको छ ।


अहिले बजारमा सतुवा प्रतिकिलो हरियोलाई ६ हजारदेखि सुकेको १५ हजार रूपैयाँसम्ममा बिक्री गर्न सकिने कृषक टकमाया फगामीले बताइन् । नेपालका विभिन्न शहरहरु र छिमेकी मुलुकहरुमा समेत यसको निर्यात गर्न सकिने उनको भनाइ छ । यसको खेतीलाई व्यावसायिक रुपमा विस्तार गर्न सके कृषकहरको जीवनस्तर छिटो परिवर्तन हुने सहायक वन अधिकृत केशव पुडासैनीले बताए ।

प्रतिक्रिया दिनुहोस्