नेपाली पर्यटन : गुणस्तरमा पनि ध्यान दिने कि ? «

नेपाली पर्यटन : गुणस्तरमा पनि ध्यान दिने कि ?

सन् २०१८ मा नेपालकै इतिहासमा सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । हुन पनि सन् २०१८ सकिनु एक महिनाअघि नै १० लाख १ हजार ९ सय ३० विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेको तथ्यांक प्रकाशित भएको छ । निश्चय नै यसले नेपाल सरकार र नेपाली पर्यटनको विभिन्न क्षेत्रमा लागेका पर्यटन व्यवसायीहरूलाई खुसी तुल्याएको छ ।
यसले गर्दा नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउनका लागि गरेको घोषणा र तयारीलाई थप बल पुग्ने आशा गर्नेतर्पm अभिपे्ररित गर्छ । हुन त निराशावादी कुरो गर्नु मात्रै राम्रो होइन । तर, त्यसरी निराशावादी कुरो नगरौं भन्दाभन्दै पनि बाँकी दुई वर्षमा एकैचोटि लगभग डबलको संख्यामा कसरी विदेशी पर्यटक नेपाल घुम्न आउलान् ? प्रश्न छँदैछ । कुरो नचपाई भन्नुपर्दा हालकै पूर्वाधार विकासको आधारमा भन्ने हो भने, वार्षिक २० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउन अलि गाह्रै पर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भिœयाउने लक्ष्यसहित सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भिœयाउने लक्ष्यलाई पूरा गर्न आग्रह गरिसकेका छन् ।
यसरी सरकारले अन्य उद्योगसरह पर्यटन उद्योगलाई पनि मान्यता दिएपछि भने पर्यटन व्यवसायमा लागेका व्यवसायीले सरकारबाट धेरै आशा र अपेक्षाहरू गरेका छन्, जुन स्वाभाविक पनि हो । खासमा त्योअनुसारको ऐन, नियम, विनियमहरू भने बनिसकेको देखिँदैन । यसरी ऐन, नियम, विनियमहरू बनेमा पर्यटन व्यवसायीहरूले सरकारबाट विभिन्न सहुलियत, सेवा, सुविधालगायतका ‘लोयल्टी’हरू पाउने आधारहरू तयार हुन्छ । यो अपेक्षित र स्वाभाविक पनि छ । नेपाली पर्यटनलाई टेवा दिन र मजबुत बनाउन सरकारले यस्तो सहुलियत, सेवा, सुविधा लगायतका ‘लोयल्टी’हरू दिनुपर्छ ।
निश्चय नै पर्यटनको कुरो गर्दा प्रायः सबै देशका लागि नभई नहुने अनि पहिलो र सर्व स्वीकार्य आवश्यकता भनेकै भौतिक पूर्वाधारको विकास हो । त्यसमा पनि नेपालजस्तो भू–परिवेष्टित देशहरूलाई विदेशी पर्यटक भिœयाउन नभइनहुने यातायातको प्रमुख आधार भनेको हवाई यातायात नै हो । यसो भनिरहँदा गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको मितिभन्दा अगाडि बनिसक्ने योजनासाथ अघि बढिरहेको भन्ने समाचार आएको थियो, जुन योजना सफल भएमा राम्रो हो । दुःखको कुरो नै हालसम्म नेपालमा चाहिँदो रूपमा हवाई यातायातको पहुँच नभएकैले नेपाल घुम्न आउन चाहने कतिपय विदेशी पर्यटकहरू अन्यत्र मोडिएको स्थिति पनि साँचो हो । हुन पनि हालसम्म नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । त्यो पनि लगभग २५÷३० वर्षको आवश्यकतलाई हेरेर बनाइएको थियो । त्यही अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय मापदण्डविपरीत बस्तीहरूको बीचमा रहेको छ । फेरि घरिघरि धावन मार्गको पिच उक्किने लगायत समस्या पनि भोग्दै आएको स्थिति छ । त्यसो हुनुको एक मात्र कारण भनेकै कम क्षमताको हुनु हो । यसरी नेपाल आउन चाहने वा आएका सबै विदेशी ठूला हवाईजहाज हाम्रो विमानस्थलले थेग्न नसक्नु नै हो ।
जे भए पनि अब हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यासँगै गुणस्तर बढाउनेतर्पm पनि ध्यान दियौं भने अरू सार्थक होला कि ? यसका लागि हामी सबैले होस्टेमा हैंसे गर्दै डटेर अघि बढौं ।
—निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्