निषेधाज्ञाका कारण राजस्वमा कमी «

निषेधाज्ञाका कारण राजस्वमा कमी

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी र निषेधाज्ञाका कारण वीरगन्ज नाकाको अन्तर्राष्ट्रिय कारोबार प्रभावित भएका कारण त्यसको प्रत्यक्ष असर भन्सार राजस्व असुलीमा परेको छ । कोरोनाका कारण मालवस्तु आयात–निर्यातको कारोबार प्रभावित हुँदा वीरगन्ज भन्सार कार्यालयको राजस्व असुलीमा पनि असर परेको छ । कोरोनाको दोस्रो लहर नेपालमा वैशाखदेखि सुरु भएको थियो । संक्रमणको वृद्धिदर उच्च भएपछि संक्रमण रोकथाम र नियन्त्रणका लागि पर्सा जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
सरकारले देशव्यापी घोषणा गरेको निषेधाज्ञाका कारण वीरगन्ज भन्सार राजस्व कार्यालयको राजस्व संकलनमा प्रभाव परेको छ । यही वैशाख महिनामा वीरगन्ज भन्सारले लक्ष्यभन्दा २ अर्ब ६० करोड कम राजस्व संकलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सारलाई वैशाख महिनामा १९ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । तर, वैशाख महिनामा वीरगन्ज भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यको ८३.६३ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यभन्दा १३.३७ प्रतिशत कम अर्थात् १६ अर्ब ८४ करोड ५७ लाख ८२ हजार रुपैयाँँ मात्र राजस्व संकलन गरेको छ । सामान्य अवस्थामा वीरगन्ज भन्सार कार्यालयले दैनिक औसतमा ६५ करोड रुपैयाँ संकलन गथ्र्यो । तर, वैशाख महिना सुरु भएयता भन्सारको दैनिक राजस्व असुली दर २९ प्रतिशत मात्रै राजस्व उठाएको छ ।
हाल कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण भारत तथा तेस्रो मुकुकबाट मालवस्तुको आयात सहज नहुँदा त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा पर्न गएको हो । नेपालमा संक्रमणको दोस्रो लहर सुरु भएयता मुख्यतः बढी राजस्व उठ्ने इन्धन र नयाँ सवारी साधनको आयात ह्वात्तै घटेको कारणले त्यसको सीधा असर राजस्व असुलीमा पर्न गयो । निषेधाज्ञाका कारण गाडी नचलेकाले इन्धनको खपत कम भएकाले गर्दा थोरै परिमाणमा इन्धनको आयात भएको छ ।
यसका साथै अधिकांश उद्योग, कलकारखाना बन्द रहेका कारण औद्योगिक कच्चा पदार्थको आयात पनि घटेको छ । यो महामारी छिट्टै नियन्त्रणमा नआउने र निषेधाज्ञा पनि छिट्टै नहट्ने सम्भावना रहेकाले अब आउने आगामी महिनाहरूमा राजस्व असुलीमा अझ कमी आउने आकलन गरिएको छ । गत चैतमा वीरगन्ज भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको थियो । भन्सार विभागले चैतमा १५ अर्ब १७ करोड ६७ लाखको लक्ष्य दिएको थियो । सोही अवधिमा वीरगन्ज भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यभन्दा झन्डै साढे ४ अर्ब बढी अर्थात् १९ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्