गर्भवतीलाई नुन तेल उपहार «

गर्भवतीलाई नुन तेल उपहार

सिन्धुली-सिन्धुलीको सुनकोसी गाउँपाकिलाले गर्भवती उपहार कार्यक्रमको सुरुवात गरेको छ ।
गर्भवती महिलाको घरमा झण्डा झुन्ड्याएर जिल्लामै नमुना काम गरेको गाउँपालिकाले अब गर्भवती महिलालाई निःशुल्क खाने तेल र आयोडिन नुन दिने भएको छ । गाउँपालिकाले स्वास्थ्य चौकीमा गर्भ चेक गराउन आउने महिलालाई नुन तेल उपहार दिने भएको हो ।
गर्भवती उपहार कार्यक्रमअन्तर्गत एक पोका नुन र एक लिटर खाने तेल दिने अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले जानकारी दिइन । यस अभियानले महिलालाई नियमितरूपमा स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न प्रोत्साहन मिल्ने र स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको उनले बताइन् । गर्भवती महिलाले चार पटकसम्म स्वास्थ्य चौकीबाट यो सेवा पाउने छन् । गर्भ रहेको ४, ६, ८ र ९ महिनामा गर्भ चेक गर्न आउँदा प्रत्येक पटक नुन तेल उपहार पाउने सुनकोसी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ
सुनकोसी गाउँपालिका–१ मा ७७, २ नम्बर वडामा ७२, ३ मा ७९ जना, ४ मा ७१ जना, ५ मा १३२ जना, ६ नम्बर वडामा ११३ र ७ नम्बर वडामा ६६ जनासहित ६१० जना महिला गर्भवती अवस्थामा रहेको गाउँपालिका स्वास्थ्य शाखाका माधव प्रधानले जानकारी दिए ।
गाउँपालिकाले यसअघि गर्भवती महिलाको घरमा झण्डा झुन्ड्याउने कार्यक्रम पनि सुरु गरेको थियो । ‘सुरक्षित मातृत्व, सुनकोसी गाउँपालिकाको दायित्व’ भन्ने नारासहित गाउँपालिकाले सबै गर्भवती महिलाको घर–घरमा सुरक्षित मातृत्व अंकित झण्डा झुन्ड्याएको छ ।
निलो रङको झण्डाले गर्भवती महिला भएको घर भन्ने सबैले थाहा पाउँछन् । झण्डा राखिएपछि परिवारलाई नै सुरक्षित मातृत्व गर्नुपर्छ भन्ने चेतनासमेत बढ्दै गएको उनको भनाइ छ । सो कार्यक्रम सञ्चालनपछि सुरक्षित मातृत्व गराउनका लागि महिलालाई प्रोत्साहन मिलेको प्रधानले बताए ।
निलो रङको झण्डा अनिवार्य राख्न महिला स्वास्थ्य स्वयं सेविकालाई वडा–वडामा परिचालन गरिएको थियो । सोही कार्यक्रम अन्तर्गत गाउँपालिकाको ७ वटै वडाका ६१० गर्भवती महिलाका घरको धुरीमा झण्डा झुण्डाइएको छ । सुत्केरी भइसकेपछि झण्डा गर्भवती महिलाले स्वास्थ्य चौकीलाई फिर्ता गर्नुपर्नेछ । गर्भवतीको प्रतिक निलो झण्डा सुनकोसी गाउँपालिकाले उपलब्ध गराउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्