लगानी बोर्डद्वारा एक खर्बको लगानी स्वीकृत «

लगानी बोर्डद्वारा एक खर्बको लगानी स्वीकृत


लगानी बोर्डले ४२४.२ मेगावाटका दुई जलविद्युत् आयोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठकले सो लगानी स्वीकृत गरेको हो । लगानी बोर्डका प्रवक्ता भुपाल बरालका अनुसार स्वीकृत भएका दुई आयोजनामा सानिमा हाइड्रोले निर्माण गर्न लागेको २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजनाको अनुमानित लागत ५४ करोड अमेरिकी डलर तथा बुटबल पावर कम्पनी (बीपीसी) ले निर्माण गर्न लागेको १३९.२ मेगावाटको तल्लो मनाङ्ग मस्याङदी जलविद्युत् परियोजना अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख छ ।
बैठकले सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो चीन–नेपाल फ्रेन्डशिप इडष्ट्रिज पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौता (पीडीए) को लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
बैठकले संखुवासभा जिल्लामा निर्माण हुने ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको डीपीआरका लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता एसजीभीएन लिमिटेडसँग गरिने समझदारी–पत्रको मस्यौदा स्वीकृत गरेको छ । बैठकमा ७५६ मेगावाटको तमोर जलाशययूक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति प्रदान गर्न देखिएका अस्पष्टता सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले पश्चिम सेती र एसआर–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको संयोजकत्वमा एक समिति गठन गरेको छ । बैठकले अरुण–३ जलविद्युत् परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउन बोर्डलाई निर्देशन दिएको छ ।
बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा ‘विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिस सम्बन्धी कार्यविधि, २०७८ स्वीकृत भएको छ । लगानी बोर्डबाट भारतीय मुद्रामा स्थान्तरण तथा अन्य मुद्रा सटहीका लागि सहजीकरण हुने प्रवक्ता बरालले बताए ।
बैठकमा प्रधानमन्त्री ओलीले ऊर्जा सम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादन सँगसगै प्रसारण प्रणाली समेतको निर्माण कार्य अगाडि बढाई परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्