निःशुल्क यात्रा गर्न वृद्धवृद्धालाई परिचयपत्र वितरण «

निःशुल्क यात्रा गर्न वृद्धवृद्धालाई परिचयपत्र वितरण

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले निःशुल्क यातायात सेवाका लागि वृद्धवृद्धालाई परिचयपत्र वितरण सुरु गरेको छ । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सडक यात्राको व्यवस्थाका लागि गाउँपालिकाले निःशुल्क यातायात सेवा परिचयपत्र वितरण सुरु गरेको हो ।
वृद्धवृद्धाको सम्मान, हौसला र सहज यात्राका लागि गाउँपालिकाभित्र बसोबास गरिरहेका ज्येष्ठ नागरिकलाई गाउँपालिकाभित्रकै सडक यात्राका क्रममा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए ।
ज्येष्ठ नागरिकको सहज यात्राका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटाङ यातायात प्रालिबीच मंसिर २२ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुसार निःशुल्क यातायात सेवाका लागि परिचयपत्र वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमीबजार सडक खण्डमा २०७४ साल पुस ३० गतेदेखि यात्रुबाहक सवारीसाधन आवतजावत गर्न थालेपछि गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था मिलाइएको हो । गाउँपालिकाभित्रका वृद्धवृद्धालाई निःशुल्क सडक यात्राको व्यवस्थाका लागि गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले निःशुल्क यातायात सेवा सुरु गरेको हो
यातायात प्रालि र गाउँपालिकाबीच भएको सम्झौतामा ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात टिकटको व्यवस्था गर्ने, निःशुल्क यातायात सुविधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचयपत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको सोही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर सोही समितिमार्फत यातायात प्रालिलाई मासिकरूपमा भुक्तान दिने, सम्झौता वार्षिकरूपमा नवीकरण गर्ने लगायतका बुँदा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्