चामलको मूल्य डिपोमा ५६ बजारमा ५४ «

चामलको मूल्य डिपोमा ५६ बजारमा ५४

जाजरकोट-बारेकोट गाउँपालिका–९ का गोविन्द पुन चामलका लागि नायकबाडाको घाट डिपोमा पुगे । हतार, हतार त्यहाँ रहेका कर्मचारीसँग चामल लिनुछ, कति रुपैयाँ केजी छ सर भन्दै सोध्न नपाउँदै, त्यहाँ रहेका कर्मचारीले ५६ रुपैयाँ प्रतिकेजी भनेर उत्तर दिएपछि गोविन्द स्थानीयबजार पुगेको बताउँछन् ।
स्थानीय बजारबाट प्रतिकेजी ५४ मा एक क्विन्टल चामल खरिद गरेर घरमा ल्याएको गोविन्दको भनाइ छ । अहिले दैनिक घाटमा रहेको डिपोमा चामल लिन आउनेको संख्य ठूलो भए पनि महँगो हुँदा बिक्री हुन सकेको छैन् । चामलको मूल्य घटे पनि जाजरकोटका दुर्गम गाउँमा पुरानै मूल्यामा चामल बिक्री गर्न खोज्दा बिक्री हुन नसकेको हो । खाद्य संस्थानले मङसिर २८ गतेभन्दा अगाडि प्रतिकेजी ५६/७५ पैसामा बिक्री गर्दै आएको थियो भने २८ गतेदेखि प्रतिकेजी ४४ रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । जाजरकोटका गाउँमा रहेका खाद्यान्न डिपोमा भने पुरानौ मूल्यमा चामल बिक्री भएको छ ।
बजारमा पाइने मोटो चामल ५४ मा प्रतिकेजी चामल बिक्री हुँदै आएको छ । सरकारले सहुलियमा उपलब्ध गराउँदै आएको चामल बजारको भन्दा महँगो हुनुले समस्या उत्पन्न भएको स्थानीयवासीको भनाइ छ । घाट डिपोमा मात्र १५० क्विन्टल चामल बाँकी भएर थन्किएको छ । मूल्य नघट्नुको कारण सोध्दा जाजरकोट शाखाका रामप्रसाद पौडेलले केही दिनभित्र समायोजन गरिने बताए ।
दुर्गमका स्थानीयवासीले मूल्य घटेको थाहा नपाउने भएकाले डिपोबाट मनपरि गरेको स्थानीय बुद्धिजीवी नीमबहादुर सिंहले बताए । त्यस्तै सदरमुकाममा पनि जापानिज चामल बिक्री हुन सकेको छैन । चौखा डिपोमा चामल नै नपठाएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्