राप्ती लोकमार्ग कालोपत्रे कि धुलोपत्रे «

राप्ती लोकमार्ग कालोपत्रे कि धुलोपत्रे

रुकुम-राप्ती लोकमार्ग अन्तर्गत सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ । राप्ती लोकमार्ग अन्तर्गत रुकुम खण्ड केही समयअघि टालटुल गरिए पनि पुनः उस्तै देखिएको छ । सडकमा नाम मात्रको कालोपत्रे र टालटुल भए पनि धेरै ठाउँमा सडक धुलाम्ये बनिसकेको छ । कतै सडक खाल्डाखुल्डी छ त कसै कालोपत्रे उत्रिएर धुलाम्ये र कतै वर्षातमा गएको पहिरोले समेत सडक नाजुक बनाएको छ । सडकको रुकुम खण्डमा प्रवेश गर्ने बित्तिकै नै सडकको अवस्था नाजुक रहेको छ ।
झुल्नेटा, सिम्रतु र सोलबाङमाथि देखि सदरमुकाम आसपासमा समेत सडकको अवस्था बेहाल छ । २०५९ सालमा निर्माण भएको यस सडक ५ वर्षअघि कालोपत्रे गरिएको थियो भने १ वर्ष अघिमात्र बिग्रिएको ठाउँमा टालटुल पारिएको थियो । आव ०६९/७० मा विश्व बैंकको करिब ६१ करोड ५० लाख रुपैयाँमा ओटासिल गरिएको थियो । सडक गुणस्तरहीन भएका कारण एक वर्षमै उप्किने र भत्किन सुरु गरेको थियो । जसमा खौलादेखि पितिवाङसम्मको सविन कन्ट्रक्सन प्रालि र पितिवाङदेखि सल्लेसम्मको सडक टालटुल गर्ने जिम्मा मनकामना कन्ट्रक्सन प्रालिले लिएको थियो । जसका लागि एक/एक करोड रुपैयाँ विनियोजित गरिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ ।
सडक दुर्घटना बढे
अस्तब्यस्त राप्ती लोकमार्गका कारण गाडी दुर्घटना पनि बढेको छ । विशेषगरी सडक निर्माण भएको लामो सममसम्म पनि सडक चौडा नभएका कारण सडक जीर्ण बनेसँगै दुर्घटना बढेको हो । सडक साँघुरो हुनु, ड्राइभरको लापरबाही, थोत्रा गाडीसँगै यातायातमा सिण्डिकेट प्रणालीका कारण दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार ०७१/७२ देखि हालसम्म १ सय २७ वटा गाडी दुर्घटना भएको र जसमा ५८ जनाको मृत्यु भएको छ । तर यस अघि पनि राप्ती लोकमार्गमा थुप्रै गाडी दुर्घटना भए पनि कति जनाको मृत्यु भयो भन्ने एकिन तथ्यांक छैन ।
२०६३ सालमा सल्यानमा भाण्टाखोलामा गाड दुर्घटना हुँदा झण्डै ४० भन्दा बढीको मृत्यु भएको थियो । त्यसपछि पनि धेरै गाडी दुर्घटना भएको र धेरै जनाको ज्यान गएको छ । राप्ती लोकमार्ग अन्तर्गत दाङको अमेलियादेखि मुसिकोट सल्लेसम्म १ सय ६८.५४ किमि सडक पर्दछ । भौगलिक रूपमा कमजोर भिरालो जमिन भएका कारण वर्षे पहिरो र बाढीले सडक बढी क्षति हुने गर्दछ । अन्य वैकल्पिक सडक नहुँदा रुकुम (पूर्व–पश्चिम) र सल्यानका स्थानीय यसै सडक हुँदै ओहरदोहर गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्