खानेपानीका लागि घण्टौं हिँड्नु पर्ने बाध्यता हट्यो «

खानेपानीका लागि घण्टौं हिँड्नु पर्ने बाध्यता हट्यो

सल्यान-सल्यानको कालिमाटी गाउँपालिका–२ बराढुंगा गाउँमा खानेपानी पुगेपछि स्थानीय २९ घरधुरीमा खुसियाली छाएको छ ।
कालिमाटी गाउँपालिका–२ बराढुंगाका शिवलाल वलीलाई खानेपानी ल्याउन घरदेखि करिब १ घण्टा हिँड्नु पथ्र्यो । घरनजिकै खानेपानीको मुहान नहुँदा उनलाई पानी ओसार्नमा नै दिन बित्ने गर्दथ्यो । सिँचाइ गर्ने त परै जाओस् खानेपानीसमेत नहँुदा उनलाई दैनिकी कटाउन निकै समस्या हुने गरेको थियो । उनीमात्रै होइन खानेपानी नहुँदा बराढुंगाका २९ घरधुरीलाई खानेपानीको जोहो गर्न निकै समस्या हुने गरेको थियो । उनीहरूको दैनिकी नै खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । तर अहिले बराढुंगा बहुउद्देश्यीय पानी प्रणालीमार्फत गाउँमा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् । यूएसएआईडीको आर्थिक तथा प्राविधिक सहयोगमा दलित विकास समाज सल्यानद्वारा सञ्चालित पहल कार्यक्रमले सो खानेपानी आयोजना सम्पन्न गरेको हो । पहल कार्यक्रमको ४ लाख ९७ हजार, कालिमाटी गाउँपालिका–२ को १ लाख ५० हजार, समुदायको नगद १४ हजार र जनश्रमदान ५ लाख ३१ हजार गरेर करिब ११ लाख ९३ हजार ४४० रुपैयाँको लागतमा बहुउद्देश्यीय पानी प्रणाली सम्पन्न भएको हो ।
अहिले २९ घरधुरीका लागि १० वटा धारा जडान गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष केशव वलीले बताए । गाउँमा खानेपानी नहँुदा खानेपानीको लागि घण्टौं समय बिताउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ । पानी ल्याउनका लागि घण्टौं समय बिताउनु पथ्र्यो, हामीलाई पहिले गाउँमा पानीको निकै समस्या थियो, गाउँमा पानी आएपछि सजिलो भएको छ उनले भने । स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै खानेपानी ल्याउन जानुपर्ने बाध्यताको अन्त्य गर्न बहुउद्देश्यीय पानी प्रणाली सम्पन्न गरिएको पहल कार्यक्रमका जिल्ला सिँचाइ प्राविधिक महेशकुमार वलीले जनाए । उनले भने, “यस प्रणालीअन्तर्गत स्थानीयले खानेपानी र खेतवारीमा सिँचाइसमेत गर्न सक्ने बताए । यस प्रणालीबाट यहाँको ५० रोपनी बढी जग्गा सिञ्चित हुनेछ । पहल कार्यक्रम जिल्लाका लेखपोखरा, दमाचौर, कालीमाटी रामपुर, लक्ष्मीपुर, निगाँलचुला र कुपिण्डे दह गरेर साविकका ६ वटा गाविसमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्