कोहलपुरमा कागती खेती «

कोहलपुरमा कागती खेती

सिर्जना समुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा ४ हजार कागती लगाएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोलास्थित सृजना सामुदायिक वनले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको बिरुवा रोपेको छ ।

सिर्जना सामुदायिक वनले यस क्षेत्रमा करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि भ्यूटावर निर्माण गरेको छ ।
जंगल छेउमै भएकोले रमाउन आउने मानिसहरुलाई किरा, सर्पलगायत जनावरहरुको आक्रमण हुन सक्ने भन्दै समितिले भ्यू टावरको क्षेत्रमा तराई क्षेत्रमा नपाइने बिरुवाहरु पनि लगाएको छ । कागती रोपेपछि जंगलका ठूला रुखहरुलाई हुर्कन र खाली जमिनको सदुपयोग भएको सिर्जना सामुदायिक वनका अध्यक्ष दशरथ शर्मा पराजुलीले बताए ।


गाँउका छेउमा रहेको जंगल सफा हुनुका साथ खाली जमिनलाई सदुपयोग गर्ने र स्थानीय बिपन्न परिवाहरुलाई रोजगारी मिल्ने तथा वैकल्पिक आर्थिक स्रोत बढ्ने भएकाले कागती रोपेको समितिका सदस्य महेन्द्रप्रसाद पौडेलले बताए ।


कोहलपुर नगरपालिकाले हालसम्म ६, ९ र १३ नम्वर वडाहरुलाई तरकारी पकेट क्षेत्रको रुपमा निर्माण गरिसकेको छ । यसै आर्थिक वर्षदेखि नगरपालिकाले नगर प्रमुख विशेष कार्यक्रम सञ्चालनसमेत गर्ने भएको छ । नगरपालिकाले नगरमा भएका किसानहरुलाई कृषि र वैकपिक आयबारे निःशुल्क परामर्श दिइरहेको छ ।


नगरपालिकाले नगरबासीहरुलाई फलफूलका बिरुवासमेत वितरण गर्दै आएको कोहलपुर नगरपालिकाका कृषि शाखा प्रमुख चन्दलाल बुढाले बताए । चालु आर्थिक वर्ष २०७६÷०७७ मा सिर्जना सामुदायिक वन उपभोक्ता समितिलाई छनोट गरी लागतको ५० प्रतिशत अनुदान र ४ हजार कागती उपलब्ध गराइएको छ । जसमा सुन कागती र कलम कागती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्