अध्यादेशअनुसार कर्मचारी समायोजन सुरु «

अध्यादेशअनुसार कर्मचारी समायोजन सुरु

काठमाडौं-सरकारले निजामती कर्मचारी समायोजनको प्रक्रिया सुरु गरेको छ । सरकारले निजामती कर्मचारी समायोजन सम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ अनुसार समायोजन प्रक्रिया सुरु गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्रकार सम्मेलन गरी कर्मचारी समायोजन औपचारिक प्रक्रिया सुरुवात गरेको उल्लेख गरेको हो ।
अध्यादेश जारी भएपछि मन्त्रालयले कर्मचारी समायोजन कार्यलाई तीव्रता दिएको छ । सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संचरना र दरबन्दी स्वीकृत गरेको हो । जसअनुसार संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ७६ हजार ५ सय ३ दरबन्दी कायम गरिएको छ । मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले संरचना र दरबन्दीको आधारमा कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाइने बताए ।
यद्यपि, विधेयकप्रति निजामती र साविकका स्थानीय निकाय मामातहतका कर्मचारीले विरोध गर्दै आए पनि सरकारले अध्यादेशअनुसार समायोजन प्रक्रिया सुरुवात गरेको हो । सरकारले विरोधमा उत्रिएका कर्मचारीसँग समन्वय स्थापित गरेको जनाएको छ । सरकारले बुधबारबाट समायोजन औपचारिक प्रक्रिया सुरु गरेको हो ।
सरकारले प्रदेश र स्थानीय तहको सेवामा समायोजन भएका अन्य सेवाका कर्मचारी र साविकका तहगत रूपमा रही समान तहमा प्रदेश वा स्थानीय तहको सेवामा समायोजन भएका सरकारी सेवाका कर्मचारीको हकमा निजहरूको नियुक्ति शैक्षिक योग्यता र सेवा अवधिको आधारमा मापदण्ड बनाई प्रोत्साहन सुविधाको आवश्यक व्यवस्था गर्ने जनाएको छ । कर्मचारीको सेवा सुरक्षा, सुवधा र वृत्ति विकासलाई सुनिश्चित गर्ने विषयमा सरकार अन्त्यन्त संवदेनशील रहेको सहसचिव पनेरुले बताए ।
उनले प्रदेश र स्थानीय तहमा समायोजन भएका सरकारी कर्मचारीको वृत्ति विकास पथमा कुनै विभेद र असमानता नहुने प्रष्ट पारे । “सरकारी सेवामा नियुक्त भई संघ, प्रदेश र स्थानीय तहको सेवामा समायोजन हुने सबै कर्मचारीको निमित संघीय सेवामा रिक्त हुने पदमामा संघीय निजामती सेवासम्बन्धी काुननमा व्यवस्था भएबमोजिममा खुला प्रतियोगिता, अन्तरिक प्रतिस्पर्धा र जेष्ठता तथा कर्यक्षमताका आधारमा हुने बढुवामा समान अवसर दिइनेछ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्