नीति तथा कार्यक्रम : वालिङ नगरको प्राथमिकता स्वास्थ्य क्षेत्रलाई «

नीति तथा कार्यक्रम : वालिङ नगरको प्राथमिकता स्वास्थ्य क्षेत्रलाई


स्मार्ट नगरको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, उद्योग, व्यापार, पर्यटन, ऊर्जा, सूचना प्रणाली र पूर्वाधार–स्मार्ट सिटी वालिङ निर्माणका आधार’ भन्ने मूल नारा रहेको वालिङ नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।


आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा कोरोना भाइरसको रोकथाम, नियन्त्रण उपचारको प्रभावकारी व्यवस्थापन गर्ने सबैको जीवनरक्षा गर्दै जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको अधिक उपयोग तथा उपलब्धताको उच्चतम परिचालन गरी विकासको गतिलाई तीव्र बनाउने, आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय सरकार प्रदेश सरकार र अन्तर पालिकाको साथै छिमेकी स्थानीय तहसँगको सम्बन्ध बलियो बनाउने रहेको छ ।

नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा विशेषगरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । नगरप्रमुख दिलीपप्रताप खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड–१९ विरुद्ध लाग्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाई नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताए ।


बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल संघ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगर प्रमुख खाँणले बताए ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि अगाडि सारेको स्वास्थ्यसम्बन्धी नीतिमा सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई पारदर्शी र थप व्यवस्थित बनाउने, राष्ट्रिय मापदण्ड बमोजिमका आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क उपलब्ध गराउने, मासिकरूपमा प्रत्येक वडामा चिकित्सकको व्यवस्थासहित नागरिकको स्वास्थ्य परीक्षण गर्ने, नगरपालिकाभित्र विशेषज्ञ सेवासहितको ५० शैयाको अस्पताल जतिसक्दो छिटो निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ र त्यसैगरी नगरबासीलाई स्वास्थ्य बिमामा समेट्ने, शिक्षण अस्पतालको पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाउने, सबै वडा केन्द्र, स्वास्थ्य संस्थामा कम्तिमा एक/एक वटा एम्बुलेन्सको व्यवस्था गर्ने, गह«ौं प्राथमिक अस्पतालबाट मोबाइल हाइवे, टेलिसर्भिस, सर्भिस कार्ड लागू गर्ने, नगरभित्र पाठेघरको क्यान्सरको पहिचान तथा मिर्गौला परीक्षणको दायरा फराकिलो बनाई समयमै रोग पहिचान गरी रुग्णता दर र मृत्युदर कम गर्ने, नगरबासीलाई स्वास्थ्य बीमाको दायराभित्र समेटिने, विपन्न नागरिकलाई नगरबाटै बीमा गर्ने व्यवस्था मिलाउने, बन्दाबन्दी तथा कोभिड–१९ का कारणले रोजगारी गुमाएका व्यक्तिलाई लक्षित गरी राहत उपलब्ध गराउने, बर्थिङ सेन्टरहरूको विस्तार गर्ने लगायतका नीति तथा कार्यक्रम छन् ।

नीति तथा कार्यक्रममा एकै प्रकारको स्थानीय पाठ्यक्रम लागू गर्ने, आवश्यकता अनुसार विद्यालय समायोजन गर्ने, प्रत्येक वडामा एउटा माध्यमिक विद्यालयलाई नमूना विद्यालय र इनोभेसन सेन्टर खोल्दै लैजाने, अंग्रेजी माध्यममा सञ्चालन गर्न प्रोत्साहन गरिने उल्लेख छ ।

यसैगरी सामुदायिक विद्यालयको समग्र व्यवस्थापन सुधारका लागि बायोमेट्रिक हाजिरीको ब्यवस्था गर्ने, फरक क्षमता मैत्री बनाउने, सबै माध्यमिक तहमा सेनेटरी प्याडको प्रयोगलाई व्यवस्थित बनाउन अटोमेटिक सेनिटरी प्याड मेसिन जडान गर्ने व्यवस्था मिलाइने भनिएको छ । त्यस्तै स्मार्ट क्लब गठन गरी स्मार्ट सर्भिसका बारेमा जानकारी गराउने, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था मिलाउने, विद्यालयहरूमा स्कुल नर्स कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा योग शिक्षाको विस्तारका लागि शिक्षकलाई तालिम दिने शिक्षा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्