पर्वत उद्योग वाणिज्य संघको तीन वर्षे कार्ययोजना सार्वजनिक «

पर्वत उद्योग वाणिज्य संघको तीन वर्षे कार्ययोजना सार्वजनिक


गत चैत सात गते सम्पन्न पर्वत उद्योग वाणिज्य संघवाट निर्वाचित समितिका पदाधिकारीको कार्यविभाजन गरिएको छ ।
सोमबार सम्पन्न बैठकले पदाधिकारीको जिम्मेवारी तोकेको हो । जसअनुसार वरिष्ठ उपाध्यक्षमा ठाकुर बी पौडेल रहेका छन् ।

उद्योग उपाध्यक्षमा कमल जिसी, वाणिज्य उपाध्यक्षमा गणेश लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी महासचिवमा रमेश लामिछाने, सचिवमा राजन गुरुङ, कोषाध्यक्षमा नारायण शर्मा पौडेल र कार्यसम्पादन समिति सदस्यमा शेरबहादुर चोचाङ्गी मगरलाई जिम्मेवारी दिइएको छ । पर्वत उद्योग वाणिज्य संघको कार्यसमिति २३ सदस्यीय छ । अध्यक्षमा भने गोपी अधिकारी विजयी भएका थिए । कोरोना महामारीका कारण बैठक बस्न नसकेका कारण कार्यविभाजनमा केही ढिलाइ भएको हो ।


संघको निर्वाचित समितिले तीन वर्षे कार्ययोजना समेत सार्वजनिक गरेको छ । विगतमा औपचारिक समारोह गरेर आफ्नो कार्यकालको योजना सार्वजनिक गर्ने गरिएको भएपनि यसपटक कोरोना महामारी जारी रहेकाले समितिको बैठकबाट सार्वजनिक गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । संघले विगतका वर्षहरुमा भएका रचनात्मक कामहरुलाई निरन्तरता दिने, जिल्लाका सातै स्थानीय तहमा विना दर्ता सञ्चालित उद्योग व्यवसायलाई दर्ता गर्न सहजीकरण गर्ने योजना ल्याएको छ ।


त्यसैगरी राष्ट्रियस्तरको सातौ पर्वत महोत्सव आयोजना गर्ने, उद्योग वाणिज्य संघमा स्थापना भएको अक्षयकोषलाई वृद्धि गर्दै लैजाने, उपशाखाहरुमा महिला उद्यमी समिति विस्तार गर्ने, संघले सुरूवात गरेको कुश्मा–कल्लेरी सडकको स्तरोन्नती, र कल्लेरीमा मोटरेबल पुल निर्माणका लागि पहल गर्ने निर्णय समेत गरेको छ ।


पर्वतलाई लप्सी जिल्लाको रुपमा विकास गर्न पहल गर्ने, कागती, सुन्तला, अदुवा अलैंची खेतीको विस्तारमा जोड दिने तथा जिल्लामा सुविधासम्पन्न कोल्डस्टोर स्थापना, जडिबुटी तथा खानीजन्य सम्भावनाको खोजी गरी करिडोर आसपासमा उद्योग स्थापना गर्ने योजना समेत संघले अघि सारेको छ ।


कुश्मामा रहेका अग्ला र लामा पुल परिसरमा पार्क, पिकनिक स्पोर्ट, साइकल मार्ग जस्ता पूर्वाधारको विकास गरिने, पोके व्यापारीलाई निरुत्साहित गरिने, संघको पहलमा निर्माणाधिन विश्वकै अग्लो शिव पार्वतीको मुर्तिलाई पूर्णता दिन पहल गर्ने र अन्य धार्मिक स्थलको प्रवद्र्धनका लागि गुरुयोजना बनाउने कार्ययोजना समेत अघि सारिएको छ ।

कोरोनाले प्रभावित उद्योगी, व्यवसायीका लागि विभिन्न सहुलियतपूर्ण कार्यक्रमहरु अघि बढाउने, बडागाउँमा रहेको महोत्सव स्थल तथा खेलमैदानलाई अझै व्यवस्थित गरिने, कुश्मामा व्यवस्थित पार्कीङस्थल, बसपार्क र सिटीहल निर्माणका लागि पहल गर्ने, कुश्मादेखि भैरवस्थान र दुर्लुङकोटसम्म केवुलकार निर्माण गरिने, कुश्मालाई ग्रीनसिटीको रुपमा विकास गर्न विभिन्न बोटबिरुवाहरु रोप्ने कार्ययोजनामा समावेश गरिएको अध्यक्ष अधिकारीले बताए । पर्वत उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीको दुर्घटना बिमा गरिने र त्यसको ५० प्रतिशत संघले व्यहोर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्