राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा निर्वाचन कार्यालय

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आयोगले शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयहरू प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरिएको छ । प्रदेश नम्बर १ को मोरङमा, २ को धनुषामा, प्रदेश ३ को ललितपुरमा, प्रदेश ४ को कास्कीमा, प्रदेश ५ को दाङमा, प्रदेश ६ को सुर्खेतमा र प्रदेश ७ को डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावलीअनुसार सात जना जिल्ला न्यायाधीशलाई आयोगले यसअघि नै निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ ।