कोभिडको दोस्रो लहर र शासकीय व्यवस्था «

कोभिडको दोस्रो लहर र शासकीय व्यवस्था

संक्रमणको दर मात्रै होइन कि मृत्युदर पनि पहिलो लहरमा भन्दा दोस्रो लहरमा बढी भएकाले दोस्रो लहर पहिलोभन्दा घातकसिद्ध भएको छ । त्यसैले यो लहरमा देशहरूको शासकीय व्यवस्थालाई भ्याक्सिनको मात्रा नाप्ने गरिएको छ, जुन सरकारले जनस्वास्थ्यविद्हरूको सल्लाहअनुसार ७० प्रतिशतभन्दा बढी नागरिकहरूलाई खोप लगाउन सक्छ, त्यो सरकारलाई सफल सरकारका रूपमा मान्नुपर्ने हुन्छ । अर्को शब्दमा भन्नुपर्दा जुन देशको सरकारले आफ्ना बढीभन्दा बढी नागरिकलाई खोप लगाउन सक्यो र यसको संक्रमणबाट बचाउन सक्यो, त्यो सफल राष्ट्रका रूपमा गनिनुपर्ने अवस्था हुन आयो । पहिलो लहरमा अमेरिका, बेलायत र युरोपका जर्मनीबाहेक धेरै देशहरूले यो रोगको संक्रमण दर र मृत्युदरलाई लिएर जुन आलोचना खेप्नुपरेको थियो, दोस्रो लहरमा खोप कार्यक्रम चलाएर र समयमै लक डाउन गरेर कोभिड नियन्त्रणमा गिरेको साख फिर्ता ल्याउन सफल भएका छन् । तेस्रो लहरमा जुन सरकारले धेरैभन्दा धेरै बालबालिकालाई जोगाउन सक्छ, त्यसलाई सफल सरकार मान्नुपर्ने अवस्था पनि आउन सक्ने आकलन गरिएको छ ।
सर्र्बियाले आफ्ना ६६ प्रतिशत जनतालाई खोप लगाइसकेको छ । इजरायल, भुटान र सिसिलीजस्ता देशहरूले आफ्ना अधिकांश नागरिकहरूलाई खोप लगाइसकेका छन् । बेलायतबाट निस्केको केही सुखद समाचारहरूले गर्दा कोभिडविरुद्धको खोपको महŒव अरू बढेको छ । बेलायतको पब्लिक हेल्थबाट संकलन गरिएको तथ्यांकको विश्लेषणबाट फाइजरको र अस्ट्राजेनिकाको दुई मात्रा खोप लगाएका व्यक्तिहरूलाई ८० प्रतिशतले भाइरसले आक्रमण गर्न सक्ने सम्भावना कम रहेको निष्कर्ष निकालेको छ । सिसिलीमा दोस्रो मात्राको खोप अधिकांश जनतालाई लगाइसक्दा पनि संक्रमण भइ नै रह्यो, तर यसको कारणबाट मृत्यु भने कमै मात्र हुन गयो । इजरायलले आफ्ना अधिकांश नागरिकहरूलाई दुई मात्राको खोप दिई नागरिक जीवन सामान्य बनाएका छन् । यसले गर्दा अहिले धेरै देशहरू खोप कार्यक्रमलाई व्यापक मात्रामा चलाएर जनतामा कोभिड–१९ अनुकूल व्यवहार अगाडि बढाउन नागरिकहरूलाई अनुनय विनय गरिरहेका छन् ।
पहिलो लहरमा यो रोग नियन्त्रण गर्न सफल भएका कोरिया, जापान, ताइवान र अरू दक्षिणपूर्वी एसियाका देशहरू अहिले यो दोस्रो लहरमा संक्रमणसँग जुघ्न परिरहेको छ । जापानमा त केही सहरहरूमा अस्पतालले थेग्नै नसक्ने गरी रोगीहरूको संख्यामा वृद्धि भएको छ । पहिलो लहरमा युरोपमा सबभन्दा कम मृत्युदर भएको जर्मनीलाई दोस्रो लहरमा आफ्नो साख बचाउन गाह्रो भएको छ । पहिलो लहरमा संक्रमण र मृत्युदर कम भएको भनी प्रशंसा कमाएको भारत दोस्रो लहरमा आएर त्यहाँको स्वास्थ्य व्यवस्था धराशायी नै हुन पुग्यो । दोस्रो लहरमा भारतमा नै भाइरस म्युटेन्ट भई नयाँ प्रकारको भाइरस निस्केको र जुन अरू भाइरसभन्दा बढी खतरनाक भएको र भारतको खोप नीतिको सर्वत्र आलोचना भएको थियो । यति मात्र होइन कि कोभिड रोकथामका लागि विदेशबाट प्राप्त सहयोग पनि व्यवस्थापन गर्न नसकेको आरोप भारतका कर्मचारीतन्त्रले खेप्नुपरेको छ । भारतको थोत्रो र कामै नलाग्ने स्वास्थ्य प्रणालीलाई यो संक्रमाणले अरू उदांगो पारिदिएको छ । जनताले राज्यको उपस्थिति शून्य भएको महसुस गर्न बाध्य हुनुप¥यो । कर्मचारीतन्त्र भ्रष्ट मात्रै होइन कि पूरै असक्षम रहेको पाइयो । संघीय सरकार र राज्य सरकारको बीचमा समन्वयको अभाव, नागरिकको तत्काल मागलाई सरकारले सम्बोधन गर्न नसकेको, संकटको समस्या समाधान गर्न संस्थागत व्यवस्थाको अभाव, असफल आमसञ्चार व्यवस्था आदि कारणहरूले गर्दा भारतका लागि यो दोस्रो लहर पीडादायी नै हुन पुग्यो ।
थाइल्यान्डलाई पहिलो लहरको संक्रमण रोक्न गरेको प्रयासलाई विश्व स्वास्थ्य संगठनले पनि प्रशंसा गरेको थियो । उसले जनस्वास्थ्यमा गरेको खर्चलाई पनि त्यतिखेर प्रशंसा गरिएको थियो । जर्मनीलाई पहिलो लहरमा त्यहाँको सक्षम सरकार र संघीय सरकार तथा प्रदेश सरकारको सहयोगात्मक कार्यको कारणले सफलता मिलेको कुरा व्याख्या गरिएको थियो । संक्रमणको दर र मृत्युदरको हिसाबले ब्राजिलको स्थिति भने यथावत् रहेको पाइन्छ । फिलिपिन्स र इन्डोनेसियाजस्ता अति घना आबादी भएका देशहरूको स्थिति पनि पहिलो लहरको तुलनामा स्थिति अरू बिग्रेको पाइन्छ । फिलिपिन्सका राष्ट्रपतिले पहिलो लहरमा पनि आलोचना खेपेका थिए । पहिलो लहरमा अमेरिकाभन्दा कम संक्रमण र मृत्युदरको असर भोगेको क्यानडा दोस्रो लहरमा आएर संक्रमणको बढी सिकार हुनुप¥यो । क्यानडामा भन्दा अमेरिकामा खोप दिने कार्यले बढी गति लिएको पाइन्छ ।
दक्षिण कोरिया र ताइवानले पहिलो लहरमा यो रोगको संक्रमणको रोकथाम गर्न सक्नुमा त्यहाँका कर्मचारीतन्त्रको ठूलो हात रहेको र उनीहरू विश्वभरि प्रशंसित पनि भए । तर दोस्रो लहरमा आएर भारतले कर्मचारीतन्त्रमाथि निर्भर रहँदा नसोचेको क्षति बेहोर्नुप-यो । त्यहाँको राजनीतिज्ञहरूले सेखीबाज र असक्षमताको आरोप खेप्नुपरेको छ भने कर्मचारीतन्त्र अल्छी र ढिलो एक्सनमा आएको आरोप लागेको छ । भारतमा केही समयअगाडि गंगा नदीमा लासहरू तैरिरहेको दृश्यले भारतको शासकीय व्यवस्था अरू झांगिएको छ र यसले यो रोगको संक्रमण ग्रामीण क्षेत्रसम्म भयावह रूपमा फैलिएको संकेत गरेको छ । पहिलो लहरमा कमै प्रभावित भएका भियतनाम पनि यो दोस्रो लहरमा अरू प्रभावित हुन पुगेको छ । यद्यपि तुलनात्मक रूपमा मृत्युदर र संक्रमणको दर भने कमै रहेको पाइन्छ । भियतनामले हालका वर्षहरूमा गरेको आर्थिक प्रगति मात्र होइन कि कोभिडको संक्रमण रोक्न चालेका कदमहरू पनि संसारमै नक्कल गर्न योग्य खालको छ ।
अहिले विश्वमा भारतका प्रधानमन्त्री मोदी र ब्राजिलका राष्ट्रपति बोलेसेनारोले सबभन्दा बढी जनताको विरोध खेप्नुपरिरहेको छ । उनीहरूको सरकारले दोस्रो लहरलाई जुन प्रकारले ह्यान्डल गरे त्यसले संक्रमणको दर मात्रै होइन कि मृत्युदर पनि धेरै बढाइदियो । यिनीहरूलाई विश्वमा पपुलिस्ट नेताका रूपमा लिने गरिन्छ । बोलेसोनारोले संसदीय छानबिनको समस्या भोगिरहेको छ भने मोदीले तत्काल चुनाव नभएको कारणले राजनीतिक परिणति भोग्नु नपर्ने भएको छ । ब्राजिलमा पनि करिब ६ प्रतिशत नागरिकले मात्र दुई मात्राको खोप लगाउन पाएको र १० प्रतिशत नागरिकहरूले पहिलो मात्राको खोप लगाएको हुनाले खोपको कभरेज निकै कम मानिएको र भारतमा जस्तै राज्य सरकार र संघीय सरकारको बीचमा त्यहाँ पनि विवाद रहेको पाइन्छ ।
कोभिडविरुद्धको खोपमा विश्वमा जोड दिए पनि अहिलेसम्म कुनै पनि देशले समूहलाई रोगमुक्त गर्ने कार्य (हर्ड इम्युनिटी) गर्न सकेको पाइँदैन । धेरै देशले सामाजिक क्रियाकलापहरूलाई संक्रमण कम भएपछि सञ्चालन गर्न दिने र संक्रमण अलि बढेपछि पुनः लकडाउन गर्ने कार्यलाई ट्रायल एन्ड इररको रूपमा सञ्चालन गर्दै आएको पाइन्छ । यो संक्रमणको कसरी अन्त्य हुन्छ भनि कसैले प्रक्षेपण गर्न सकेको पाइँदैन । खोपको विश्वव्यापी उपलब्धताले नै यो संक्रमणलाई जित्न सकिने हुन्छ । अहिले दोस्रो संक्रमणको कारणले बालबालिकाहरूमा पनि यो संक्रमण बढेको हुनाले सम्पूर्ण नागरिकहरूलाई खोप लगाउनुपर्ने दायित्व सरकारहरूमा थपिएको छ । खोपमा भएको लगानीले जनताको स्वास्थ्य रक्षा गर्ने र त्यसबाट आर्थिक क्रियाकलापहरूमा तीव्रता आई अर्थव्यवस्थासमेत चलायमान हुने कुरा अमेरिका तथा बेलायतको अर्थतन्त्रले स्पष्ट गरिसकेको छ । खोपको लगानीमा भएको गुणक प्रभावलाई सरकारहरूले मनन गर्नुपर्ने देखिन्छ । अहिले दक्षिण एसियामा दसैंतिहारतिर तेस्रो लहरको संक्रमण फेलिने, यो पहिलो र दोस्रो लहरभन्दा घातक हुने र यसले बालबालिकालाई बढी प्रभाव पार्ने चेतावनी वैज्ञानिकहरूले दिइरहेका छन् । यसैअनुसार सरकारहरूले आफ्नो तयारी अगाडि बढाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्