सेलपे सेवाले पायो नेपाल राष्ट्र बैंकबाट अनुमति

भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । सेवाले यसको अनुमति गत मंगलबार प्राप्त गरेको भन्दै सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने पनि जनाएको छ । सेलपे सेवा अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको कम्पनीले बताएको छ । विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेस्टुराँ, सिनेमा हलहरूमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर आदि वास्तविक समयमा गर्ने सेवा प्रदायक कम्पनीको रूपमा स्थापित सेलकम प्राइभेट लिमिटेडले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा ‘सेलपे’को सुरुवात गर्न लागेको जनाएको छ ।