आधा साना तथा मझौला उद्योग बन्द «

आधा साना तथा मझौला उद्योग बन्द

कोराना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको बेला करिब आधा अर्थात् ४० प्रतिशत साना तथा मझौला उद्योग बन्द भएका छन् । निषेधाज्ञाको समयमा व्यवसाय सञ्चालन गर्न नपाउँदा साना तथा मझौला उद्योग बन्द भएका हुन् ।
सरकारले कोभिडको संक्रमण नियन्त्रण गर्नका लागि १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा गरेको थियो । निषेधाज्ञाको बेला अत्यावश्यक उद्योग सञ्चालन भए पनि अन्य उद्योग भने पूर्णरुपमा बन्द थिए । झण्डै दुई महिनासम्म बन्द हुँदा व्यवसाय सञ्चालन गर्न नसकेर धेरै साना तथा मझौला उद्योग बन्द भएका हुन् ।
राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले निषेधाज्ञामा ४० प्रतिशत साना तथा मझौला उद्योग बन्द भएको बताए । विशेषगरी गार्मेन्ट, हस्तकला, छालाजुत्ता, कपडा, कस्मेटिक उद्योग पूर्णरुपमा बन्द भएको उनले जानकारी दिए । “कोभिडले कतिपय व्यवसायलाई धेरै नै राम्रो भएको छ,” उनले भने, “धेरै उद्योग व्यवसाय सञ्चालन गर्न नसकेर पूर्णरुपमा बन्द नै भएका छन् ।”
उद्योग विभागका अनुसार २ लाख ४० हजार साना तथा मझौला उद्योग दर्ता भएकामा एकदेखि एक लाख ५० हजार व्यवसाय सञ्चालनमा थिए । जसमा कोभिडको कारणले ४० प्रतिशत उद्योग पूर्णरुपमा बन्द छन् ।
“गत वर्ष लामो समयसम्म भएको लकडाउनको कारणले धेरै उद्योग मारमा परेका थिए,” कटुवालले भने, “बिचमा खुल्दा घरभाडा र बैंकको व्याजको तिर्न सक्ने अवस्थामा आएका थियो । तर, फेरि अहिले भएको निषेधाज्ञाले उद्योग व्यवसाय प्रत्यक्षमा मारमा छन् ।” सडक पेटीमा व्यापार गर्ने, सटर व्यवसायहरु पूर्णरुपमा बन्द भएका छन् । व्यवसाय बन्द हुँदा धेरैको रोजगारी गुमेको छ । कोभिडको कारणले धेरै व्यवसाय नै पलायन हुँदा उपत्यकामा धेरै सटरहरु खाली रहेको महासंघले जनाएको छ ।
साना उद्योगलाई मात्र नभएर ठूला उद्योगलाई पनि कोडिभको प्रत्यक्ष प्रभाव परेको छ । दुई महिनादेखि न्युरोड, असन, इन्द्रचोक लगायतका पुराना व्यापारीक केन्द्रमा रहेका ठूला ठूला होलसेल व्यवसाय पनि कोभिडकै कारण मारमा परेका छन् । लामो समय व्यवसाय बन्द भएकाले निषेधाज्ञा अवधिको भाडा छुट दिन व्यवसायीले माग गरेका छन् । कोभिडको मारमा परी सञ्चालनमा आउन नसकेका व्यवसायीलाई सरकारले पहिचान गरेर बिजुलीमा छुट, कर मिनाहा, सहुलियतपूर्ण कर्जा उपलब्ध गराइदिनुपर्ने व्यवसायीको भनाइ छ । सरकारले एक साता निषेधाज्ञा थप राखेपनि बजार पसल भने बार अनुसार खुला गरेको छ ।
गत वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको अध्ययनमा कोभिडको मारमा साना तथा मझौला उद्योग परेको उल्लेख छ । अध्ययनका अनुसार, अघिल्ला वर्ष पूर्णरुपमा बन्द भएका उद्योगहरुमा लघु तथा घरेलु उद्योगको संख्या ८५ प्रतिशत रहेको थियो भने ८८ प्रतिशत लघु तथा घरेलु उद्योगहरुले आफ्नो उत्पादनको बजारीकरण गर्न सकेका थिएन् । ७५ प्रतिशत साना उद्योगले लागि कच्चा पदार्थ पाउन नसकेको अध्ययनले देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्