पर्यटन विकासमा सरकार चनाखो हुनुपर्छ : राष्ट्रपति «

पर्यटन विकासमा सरकार चनाखो हुनुपर्छ : राष्ट्रपति

सौराहा-राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य पूरा गर्न पर्यटनको विकास जरुरी रहेको बताएकी छिन् । पर्यटनको विकासमा सरकार चनाखो हुनुपर्ने उनको भनाइ छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा सौराहामा बुधबारदेखि सुरु भएको १५ औं हात्ती महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वदेशी र विदेशी लगानी भिœयाउने वातावरण सिर्जना गर्न सरकारले ध्यान दिनुपर्ने बताइन् । “पर्यटन पूर्वाधार निर्माणमा पर्याप्त लगानी छैन,” राष्ट्रपति भण्डारीले भनिन्, “लगानीको वातावरण तयार गर्न सरकारले ध्यान दिनुपर्छ, तब मात्र सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली नारा सार्थक हुन्छ ।”
उनले पर्यटन वर्ष–२०२० लाई सफल बनाउन हात्ती महोत्सवजस्ता गतिविधिले मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । उनले बर्सेनि वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति हुने गरेकोमा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरिन् । “चितवन निकुञ्ज आसपासमा वन्यजन्तुबाट घटना भइरहेको विषयमा म दुखित छु,” राष्ट्रपति भण्डारीले भनिन्, “द्वन्द्व न्यूनीकरणका लागि सरकारले ठोस कदम चाल्न आवश्यक छ ।”
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले वन्यजन्तुबाट विदेशी मुद्रा भिœने भएकाले यसको विविधिकरण र बजारीकरण गर्नुपर्ने औंल्याए । मन्त्री अधिकारीले सौराहामा पर्यटन पूर्वाधार निर्माणका लागि केन्द्रीय सरकार दृढ रहेको बताए । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हात्ती महोत्सवलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउनुपर्ने बताए ।
पर्यटनको समृद्धि बिना समृद्धि नहुने हुँदा प्रदेश सरकारले चालू आर्थिक वर्षमा पर्यटनलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो । प्रदेश सरकारले यो वर्ष पर्यटनको विकासका लागि १ अर्ब १ करोड विनियोजन गरेको छ ।
होटल संघ नेपालका केन्द्रीय अध्यक्ष अमरमान शाक्यले पर्यटनमा निजी क्षेत्रबाट खर्बौं लगानी भए पनि सरकारले उचित नीति बनाउन नसकेको धारणा राखे । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवानसँग मिलेर सौराहामा पर्यटन वसपार्क, भ्यूटावर, वाटर किगडमजस्ता पर्यटक आकर्षित गर्ने पूर्वाधार निर्माण गर्न लागेको बताए । उद्घाटनका अवसरमा संरक्षणकर्मीहरू चितवन निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याल र पुरुषोतम पाण्डे तथा पर्यटन व्यवसायतर्फ हरिहर शैजु र अमरमान शाक्यलाई सम्मान गरिएको थियो ।
हात्ती महोत्सव सुरु
क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा बुधबारदेखि १५ औं संस्करणको चितवन हात्ती महोत्सव सुरु भएको छ । हात्तीका गतिविधिलाई समेट्दै उनीहरूको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रत्ननगर ७ बाघमारा चौरमा आयोजित महोत्सव पुस १५ गतेसम्म चल्नेछ । महोत्सवको पहिलो दिन हात्ती फास्टवाक प्रतियोगिताअन्तर्गत पहिलो चरणको खेल भएको छ । पाँचवटा हात्ती समावेश पहिलो चरणबाट ४ वटा हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन् । नाटाको प्रतिनिधित्व गरेको लक्कीकली, बाह्रखरीको पूजाकली, रुस्लानको रानीमाया कली र न्युज २४ को गुलाफकली दोस्रो चरणमा प्रवेश गरेको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले बताए । पहिलो दिन हात्तीका छावाहरूबीचको मैत्रीपूर्ण फुटबल भएको छ । महोत्सवको दोस्रो दिन हात्ती पिकिनिक कार्यक्रम छ । सो कार्यक्रममा निजी र सरकारी गरी कुल ९५ वटा हात्ती समावेश हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्