कार–जिपको आयात घट्यो «

कार–जिपको आयात घट्यो

रुपन्देही-स्थलनाका बेलहिया (भैरहवा) हुँदै चारपांग्रे हलुका सवारी साधन कार आयात घटेको छ । गत वर्षको तुलनामा यो वर्ष कार आयात घटेको हो ।
विगतको तराई मधेस आन्दोलनमा वीरगन्ज नाका ठप्प भएपछि आपूर्तिकर्ताहरूले बेलहिया नाका हुँदै सवारी साधन भिœयाउन सुरु गरेका थिए । त्यसपछि यो नाका हुँदै कार–जिप आयात बढ्दै गएकोमा पछिल्लो एक वर्षमा आयात घट्दै गएको छ । तर, २०७२ भन्दा अघिल्लो वर्षको तुलनामा भने कार–जिप आयात भने बढेको हो ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलका अनुसार बेलहिया नाका हुँदै चालू वर्षको ५ महिनामा जम्मा ३ हजार ५ सय ५५ गोटा कार भ्यान आयात भएका छन् । जबकी गत वर्षको यही अवधिमा (५ महिनामा) ५ हजार २५ गोटा कार–जिप आयात भएका थिए ।
बैंकले अटो लोनमा अझै कडाइ गर्नु र बेलहिया सुनौली नाकाबाट सामान आयात गर्दा समय बढी लाग्ने र जसले थप आर्थिक व्यय भार बढ्न थालेको जस्ता कारणले आयातकर्ताले पुरानै रुट वीरगन्जबाट लानु जस्ता कारणले गर्दा कार भ्यानजस्ता हलुका सवारी साधन आयात पछिल्लो ५ महिनामा घटेको हो ।
यो नाकाबाट कार, भ्यान आयात घटे पनि मोटरसाइकल, ट्र्याक्टर, साना माइक्रोबस, लोडर स्क्याभेटर, अटो रिक्सा, डबलक्याब पिकअप भ्यान भने आयात बढेको छ । यो नाका हुँदै चालू वर्षको पाँच महिनामा ६१ हजार ६ सय ६२ गोटा मोटर साइकल आयात भएका छन् । गत वर्षको सोही अवधिमा ५८ हजार २ सय ७४ मोबाइल भित्रिएका थिए । गत वर्ष १ हजार ४ सय ३२ ट्र्याक्टर आयात भएकोमा यो वर्षको पाँच महिनामा ४ हजार ५ सय ८० गोटा ट्र्याक्टर आयात भएको सूचना अधिकृत पौडेलले जानकारी दिए ।
त्यस्तैगरी सिंगल क्याब गत वर्ष १ हजार २ सय ७ गोटा आयात भएको यो वर्ष ५ महिनामा १ हजार ४ सय ४६ गोटा आयात भएका छन् । यस्तै ट्रकमिनी ट्रक गत वर्ष १ हजार ६७ गोटा र यो वर्ष १ हजार ३ सय १३ आयात भएका छन् । यस्तै लोडर स्क्याभेटर अघिल्लो वर्ष ५ सय १५ आयात भएकोमा यो वर्ष वृद्धि भई ८ सय ३८ गोटा आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्