कतारमा नेपाली म्युजिक अवार्ड हुने «

कतारमा नेपाली म्युजिक अवार्ड हुने

हिमालयन नेपाली इभेन्ट्स प्रालिले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९ आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै हिमालयन नेपाली इभेन्ट्सले यसबारे जानकारी दिएको हो । आगामी माघ १८ गते (फ्रेबुअरी १ तारिख) कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गर्ने जानकारी आयोजकले दिएको छ ।
उक्त अवार्डका संयोजक डिएन घिसिङले असली सर्जक र सिर्जनाको उचित मूल्याङ्कन गर्ने बताए । घिसिङले भने, “हाम्रो संस्थाले २०१८ मा मलेसियामा यस्तै अन्तर्राष्ट्रिय अवार्डको कार्यक्रम सम्पन्न गरिसकेको छ । हामीसँग अनुभव र अभ्यास छ । विदेशमा गरिने कार्यक्रमहरु निक्कै महँगो हुन्छन् । तर, हामी सक्षम छौं ।”
उक्त अवार्डका मुख्य निर्णायक मिलन मोक्तानले गीतसंगीतको बजार व्यापक बन्दै गएको बताए ।
हिमालयन नेपाली इभेन्ट्स प्रालिका निर्देशक सविन घिसिङले उत्कृष्ट पाँच मध्येबाट उत्कृष्ट एकलाई छनोट गरी कतारमा अवार्ड प्रदान गरिने जानकारी दिए । ‘सृजनाको मूल्याङ्कन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा एवम् मिडिया टप नेपालको सहकार्यमा सम्पन्न हुने अवार्डमा उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट लोक तथा दोहोरी गीत, उत्कृष्ट तामाङ सेलो, उत्कृष्ट तामाङ म्हेन्दोमाया गीत, उत्कृष्ट लोक पप, उत्कृष्ट गायक-गायिका, उत्कृष्ट मोडललगायत ३७ विधामा अवार्ड वितरण गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
अवार्डको निर्णायकमा मिलन मोक्तानसहित वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, उन्नती शिला बोहरा, उवन वाङ लामा, विक्रमजंग शाह, रोज मोक्तान, अन्ना स्टीर लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्