पारदर्शी ढंगले काम गर्न मन्त्री अरगरियाको निर्देशन «

पारदर्शी ढंगले काम गर्न मन्त्री अरगरियाको निर्देशन


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन् ।


आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राम मन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुर्ननिर्माणका कामहरुलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिएका हुन् ।


उनले आफू पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफू आएर हेर्नसक्ने बताए । उनले भ्रष्टाचार हुन नदिनका निम्ति सजग पनि गराए । “पारदर्शी गरिदिनुहोला, म व्यक्तिगत भ्रष्टाचारको विरुद्धको आन्दोलनले आज मन्त्रीसम्म पुगेको छु र मेरो एउटै उद्देश्य हुन्छ, न खान्छु न खान दिन्छु कसैलाई ।”


मन्दिर पुर्ननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित नगराइने पनि मन्त्री अरगरियाले बताए । निर्माणको काम सकिइसकेपछि साधुसन्तलाई पुर्नस्थापना गरिने उनले बताए ।


पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई तपोभुमिको रुपमा विकास गर्ने ध्येय रहेको बताए । उनले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गरे । “यो क्षेत्र हामीले सोचेको सन्त, महात्माहरुको प्रवचन गुञ्जिरहोस् । यो क्षेत्रमा अध्ययन, अध्यापन होस्, संस्कृतको श्लोकहरु गुञ्जिरहोस् र एउटा तपोभूमिको रुपमा विकसित होस् भन्ने हाम्रो सोच रहेको छ” उनले भने ।


पशुपति क्षेत्र विकास कोषले दाताहरुको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिर निर्माण गर्न लागेको सदस्य सचिव ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्