केरौंजाका १ सय ५० घरधुरीलाई लालपूर्जा «

केरौंजाका १ सय ५० घरधुरीलाई लालपूर्जा

गोरखा-भूकम्पको ४३ महिनापछि गोर्खाको धार्चे गाउँपालिका केरौंजाका १ सय ५० घरधुरीले घडेरीको लालपूर्जा पाएका छन् । २०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिको पहिरोले उच्च जोखिममा परेको केरौंजामा बस्ती स्थानान्तरणका लागि बुधबार १ सय ५० घरधनीलाई लालपूर्जा वितरण गरिएको हो । गाउँमा आयोजित कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख रामशरण आचार्य र गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले लालपूर्जा वितरण गरेका हुन् ।
उनीहरूलाई केरौंजाकै डोङ्गान, लामाबेंसी र बाम्लाक्चोकमा स्थानान्तरण गरी लालपूर्जा वितरण गरिएको वडाअध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए । लालपूर्जा वितरणका लागि गाउँमा नापी र मालपोत कार्यालयको डोरमुकाम टोली परिचालन गरिएको छ । पुरानो बस्ती पहिरोको जोखिममा परेपछि भाडाको जग्गामा बस्दै आएका केरौजाका ३ सय ४८ घरधुरीमध्ये ४३ घरधुरीलाई गतअसारमा लालपूर्जा वितरण गरिएको थियो । अब केरौंजाका १ सय ५४ घरधुरीलाई लालपूर्जा वितरण गर्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । “बाँकी घरधुरीलाई पनि जग्गाको खोजी भइरहेको छ,” उनले भने, “भूगर्भविद्ले छनोट गरेका ठाउँमा वस्ती स्थानान्तरण गर्ने पहल भइरहेको छ ।”
भूकम्पको लामो समय बिते पनि केरौंजाका धेरैजसो स्थानीय सुरक्षित जग्गाको अभावमा टहरामुनि कष्टकर जीवन बिताइरहेका छन् । केही घरधुरी गोरखा सदरमुकामसहित आरुघाट बजार र चितवनमा बसाइँ सरेका छन् । भूकम्पपछिको पहिरोले गोरखाका २२ भन्दा बढी बस्ती जोखिममा रहे पनि सरकारी पहलबाट केरौंजामा पहिलोपटक स्थानीयलाई लालपूर्जा वितरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्