धितोपत्र बोर्डलाई लिखित जवाफ पेश गर्न आदेश «

धितोपत्र बोर्डलाई लिखित जवाफ पेश गर्न आदेश


सर्वोच्च अदालतमा नेपाल धितोपत्र बोर्डलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बोर्डले जोखिमयुक्त ५१ कम्पनीको सूची सार्वजनिक गरेको विरुद्ध परेको मुद्दामा न्यायाधीश डा. कुमार चुडालले घटनाको बारेमा जानकारीसहित अन्तरिम आदेश जारी गर्न नपर्ने आधार कारणसहित पेश गर्न आदेश दिएका हुन् ।


अधिवक्ता रविन बोहजुले बोर्डले सार्वजनिक गरेको जोखिमयुक्त कम्पनीको सूची बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।


“निवेदकले अन्तरिम आदेश समेत जारी गरी पाउँ भनि गरेको निवेदन मागका सम्बन्धमा हेर्दा विपक्षी धितोपत्र बोर्डमा दर्ता रहेका विभिन्न कम्पनी समेतको विविध आर्थिक अवस्था सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरेको कार्यले निवेदक निर्विवाद हकमा असर पारेको भन्ने नदेखिँदा निवेदक माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन” आदेशमा भनिएको छ ।


बोर्डले गत मंगलबार जोखिमयुक्त ५१ वटा कम्पनीको सूची सार्वजिक गर्दै सेयर कारोबारको छानविन सुरू गरेको छ ।
बोर्डले जोखियुक्त कम्पनीको सूची सार्वजनिक गरेसँगै घट्न थालेका सेयर बजारमा आइतबार पनि ६३ अंकले गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ६३.२८ अंकले घटेर २९०५.१४ अंकमा झरेको हो ।


नेप्सेसँगै समूहगत परिसूचकहरु पनि ओरालो लागेका छन् । आइतबार बैंकिङ ३५.४२, व्यापार ९८.४८, होटल तथा टुरिजम ८८.५८, विकास बैंक १६५.२२, जलविद्युत् १०१.०९, फाइनान्स ८०.०४ अंकले घटेका छन् । यसैगरी निर्जीवन बिमा २७९.२५, उत्पादन १४९.५, अन्य ५१.०३, लघुवित्त ११७.६४, जीवन बिमा ११०.९४, म्युचुअल फण्ड ०.२ र लगानी समूह २.२८ अंकले गिरावट आएको छ ।
आइतबार २३१ कम्पनीका २ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्