मायाको चिनो ट्याटु «

मायाको चिनो ट्याटु

पोखरा – कुनै समय शरीरमा खोपिने ट्याटुलाई समाजमा नराम्रो दृष्टिले हेर्ने गरिन्थ्यो । तर समय बित्दै जाँदा हिजोआज ट्याटुको महत्व बुझ्न थालिएको छ ।
शरीरका विभिन्न अंगमा ट्याटु खोप्ने चलन केही जाति विषेशमा भने पहिलेदेखि नै रहेको पाइन्छ । नेपालमा पनि धार्मिक विश्वासका आधारमा मगर, गुरुङ, नेवार, थारू, तामाङलगायतका समुदायमा ट्याटु खोप्ने परम्परा पहिलेदेखि चलिआएको हो । पछिल्लो समय यो परम्परासँगै फेसनको रुपमा फस्टाउँदै ट्याटु क्रेजले समाजका धेरै क्षेत्रलाई प्रभावित पार्न थालेको छ । ट्याटु खोप्दा रोग, दुःख र शत्रुले आक्रमण गर्न नसक्ने धार्मिक जनविश्वास समेत रहेको पाइन्छ ।

नेपालमा ट्याटु व्यवसायको इतिहास अन्य देशको तुलनामा ढिलो भएको पाइन्छ । यद्यपि ट्याटु क्रेजले गर्दा हिजोआज यो व्यवसाय नेपालका मुख्य सहरहरुमा स्थापित हुँदैछ । सामान्यतया राम्रो ट्याटु खोप्ने कलाकारले मासिक ४० हजारदेखि एक लाख भन्दा बढी आम्दानी गर्न सक्षम हुने गरेका छन् । प्रतिट्याटु एक हजारदेखि लाखसम्म शुल्क लिने गरेको पाइन्छ ।
पछिल्ला वर्ष ट्याटु सोखमात्र नभई मायाको चिनोका रुपमा पनि प्रयोग हुन थालेको गगन ट्याटु इन एण्ड प्रिन्टिङका सञ्चालक गगन थापाले बताए । उनले भने, “पहिला ट्याटु खोप्ने मान्छेप्रति नकारात्मक ढंगले हेर्ने गरिन्थ्यो तर पछिल्लो वर्षयता पारिवारीक रुपमा समेत ट्याटु खोप्ने र अधिकांश मायाको चिनोका रुपमा ट्याटु खोपेर सरप्राइज दिने गरेकाछन् ।” आमाबाबुले छोराछोरीको, छोराछोरीले आमाबाबुको, प्रेमी र प्रेमीकाले एक आपसमा नाम त केहिले आधा–आधा तस्बिरसमेत शरीरको विभिन्न भागमा ट्याटु खोपेर मायाको चिनोको रुपमा प्रयोग गर्न थालेको थापाले बताए ।

कतिपयले भगवानको तस्बिर, मन पर्ने मानिस, ओम, लक सिग्नल, फूल, जनावर, ग्राफिक डिजाइनलगायत विभिन्न आकृतिमा शरीरमा ट्याटु खोप्ने गरेको उनले जनाए । महिलामा समेत ट्याटु क्रेज बढिरहेको थापाको भनाइ छ ।
ट्याटुनिष्ट (कलाकार) मोहन गुरुङबाट प्रेरित भई डेढ दशकदेखि पोखराको लेकसाइड र काठमाडौंको ठमेलमा ट्याटु व्यवसाय सञ्चालन गर्दै आएका थापा यसबाट सन्तुष्ट छन् । उनले करिब २० जना ट्याटु कलाकारसमेत उत्पादन गर्न सफल भएका छन् । त्यसैगरी उनले पोखरामा ५ र काठमाडौंमा ४ जना गरी ९ जनालाई रोजगारीसमेत दिएका छन् । धैर्यताका साथ निरन्तर एउटै व्यवसायमा कटिवद्ध भएर लागेका कारण आज देशविदेशबाट धेरैले आफ्नो नाम र संस्थाको नाम खोज्दै ट्याटु हान्न आफूसम्म आउने गरेको थापा बताउँछन् । थापालाई उनकै भाइ तुलबहादुर थापाले सहयोग गर्दै आएका छन् । तनहुँ जन्मघर भएका थापा पोखराको रामबजारमा बसोबास गर्दै आएका छन् । नेपालको पर्यकीय क्षेत्र लेकसाइड र ठमेलमा उक्त व्यवसाय संचालन गरेबाट पर्यटन प्रबद्र्धनसमेत हुने गरेको उनको दाबी छ ।

ट्याटुले शरीरमा भएको अंगको दाग छोप्ने, जनै खटिराका बिरामीलाई राहत हुने र कपाल नभएको स्थानमा समेत ट्याटु प्रयोग गर्ने गरेको उनले जनाए । आफूहरुले पहिला धेरै बिग्रिएका ट्याटुहरु पुनः खोप्ने समेत गरेकोमा पछिल्लो समयमा धेरै सुधार भएको थापाको भनाइ छ ।
पोखरामा करिब तीन दर्जनको हाराहारीमा ट्याटु प्रिन्टिङ व्यवसाय रहेका छन् । विषेशगरी जाडोभन्दा गर्मी मौसममा ट्याटु खोप्ने र बजारमा ट्याटु प्रर्दशन गर्ने गरिन्छ । नेपालमा प्रयोग हुने ट्याटुका अधिकांश रंगसहितका सामान छिमेकी मुलुक चीनबाट आउने गर्दछ । ट्याटुनिष्ट थापाले भारत, थाइल्याण्ड र सिंगापुरसम्म ट्याटु सम्मेलनमा सहभागी भई विभिन्न देशका ट्याटुको बारेमा अध्ययन गर्ने अवसरमा पाएका छन् । आफूहरुले खोपेको कुनै पनि ट्याटु २० र्वासम्म वारेन्टी हुने उनले दाबी गरे ।

पोखरा न्यूरोडको नमस्ते हेयर सलुन एण्ड ट्याटु प्रालिका सञ्चालकमध्येका एक सुरज राईले पनि पोखरामा ट्याटु व्यवसाय हाल फष्टाउँदो अवस्थामा रहेको बताए । आफूजस्ता ५ जना युवाले २ वर्ष अघिदेखि उक्त व्यवसाय सुरु गरेको र व्यवसायबाट सन्तुष्ट रहेको उनले सुनाए । ट्याटु खोप्नुका साथै ट्याटुको ३ महिने र ६ महिने तालिम समेत प्रदान गर्दै आएको राईले जनाए । पछिल्लो समयमा युवाका साथै अन्य उमेर समूहका व्यक्तिको पनि ट्याटुमा रुची बढेको उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्