सेयर धितोमा मूल्यांकनको ६५ प्रतिशतसम्म ऋण प्रवाह गर्न सकिने «

सेयर धितोमा मूल्यांकनको ६५ प्रतिशतसम्म ऋण प्रवाह गर्न सकिने

राष्ट्र बैंकले सेयर ऋणको रिस्क वेटेजलाई पनि १ सय ५० बाट झारेर १ सय प्रतिशतमा ल्याएको छ ।

पूँजी बजार सुधारका लागि राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले पूँजी बजार सुधारका लागि निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले बुधबार सेयरको धितोमा मूल्यांकनको ६५ प्रतिशतसम्म ऋण प्रवाह गर्न सकिने गरी निर्देशन जारी गरेको हो । यसअघि ५० प्रतिशतको सीमा निर्धारण गरिएको थियो । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको कार्यदलले दिएको सुझाव अनुसार सेयर कर्जामा राष्ट्र बैंकले खुकुलो नीति लिएको हो ।
राष्ट्र बैंकले सेयर ऋणको रिस्क वेटेजलाई पनि १ सय ५० बाट झारेर १ सय प्रतिशतमा ल्याएको छ । यसैगरी मार्जिन कल गर्दा हकप्रद र बोनस सेयर सूचीकरण नभएको अवस्थामासमेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिने नीति लिएको छ ।
त्यस्तै नियामक निकायले सेयर ऋण कोर क्यापिटलको ४० प्रतिशतसम्म दिन पाइने व्यवस्था पनि गरेको छ । यस्तो सेयर ऋण कोर क्यापिटलको यसअघि २५ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकले निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर पनि घटाएको छ । अब चैतमै स्प्रेड दर ४ दशमलव ७५ प्रतिशतमा झार्नुपर्ने उल्लेख छ । यसअघि ५ प्रतिशतको स्प्रेड असार मसान्तसम्म साढे चार प्रतिशतमा झार्नु पर्ने व्यवस्था गरिएको थियो । राष्ट्र बैंकले आधार दरको गणना विधि पनि परिवर्तन गरेको छ । अब शून्य दशमलव ७५ प्रतिशत सम्पत्तिको प्रतिफल जोड्न पाइने छैन जसले गर्दा बाणिज्य बैंकहरूको नाफा १७ अर्बले घट्ने छ भने सर्वसाधारणले केही सस्तोमा ऋण पाउने छन् । यस्तै, अन्तरबैंक कारोबारबाट प्राप्त सापटी रकमलाई सीसीडी रेसियो गणना गर्दा स्रोत परिचालनमा समावेश गर्न सकिने भएको छ ।
यसैगरी संस्थागत निक्षेपको अंशलाई बढाइएको छ । यसअघि ४५ प्रतिशतसम्म संस्थागत निक्षेप लिन पाइनेमा अब ५० प्रतिशतसम्मै लिन पाइने भएको छ । त्यस्तै, बैंकहरूले सहायक कम्पनी मार्फत सेयर ब्रोकरको काम गर्न पाउने बाटो पनि खुलेको छ । बैंकहरूले ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनी मार्फत ब्रोकर कम्पनी खोल्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
राष्ट्र बैंकले निर्देशन जारी गर्दै ५१ प्रतिशत स्वामित्व हुने गरी बैंकले सहायक कम्पनी खोलेर ब्रोकर कम्पनी खोल्न पाउने व्यवस्था गरेको हो ।
छुट्टै सहायक कम्पनीमा लगानी गर्दा वित्तीय स्वार्थ स्थापित हुने भएकाले त्यसरी गरिएको कूल लगानी रकमलाई पूँजी कोष गणना गर्दा प्राथमिक पूँजीबाट घटाउनु पर्ने सर्त पनि राखिएको छ । सहायक कम्पनीलाई धितोपत्र बोर्ड र राष्ट्र बैंकले नियमन गर्ने छन् ।
राष्ट्र बैकका अनुसार सहायक कम्पनी खोलेको बैंकको वित्तीय स्वार्थ हुने हुँदा त्यस्तो कारोबारलाई दुबै कम्पनीले सम्बन्धित पक्षबीच हुने कारोबार शीर्षकअन्तर्गत राख्नुपर्ने छ । यस्तो कारोबार भएपछि नियमित प्रकाशित गर्नु पर्ने हुन्छ । सहायक कम्पनीले आफूले जारी गरेको वा आफ्नो मुख्य कम्पनीले जारी गरेको सेयरको कारोबार गर्न पाउँदैन ।
सहायक कम्पनीले वित्तीय स्रोत संकलन गर्ने प्रयोजनले दायित्व स्वरूप निष्कासन गर्ने कुनै पनि सुरक्षणपत्रमा मुख्य कम्पनीले लगानी गर्न पाउँदैन । त्यो सुरक्षणपत्रको धितोमा कर्जा प्रवाह गर्नसमेत पाउने छैन ।
यसरी अर्थ मन्त्रालयको कार्यदलले दिएको सुझावमध्ये राष्ट्र बैंकले सेयर बजारसँग सम्बन्धित अधिकांस मागलाई सम्बोधन गरेको हो । कार्यदले दिएको ५८ बुँदे सुझाव मध्ये २७ वटा राष्ट्र बैंकले कार्यान्वयन गर्नुपर्ने खालका थिए

प्रतिक्रिया दिनुहोस्