आयात प्रतिस्थापन गर्न वस्तु तथा सेवाको पहिचान गरिँदै «

आयात प्रतिस्थापन गर्न वस्तु तथा सेवाको पहिचान गरिँदै

कतिपय मुलुकबाट अनावश्यक सामान आयात भइरहेकाले त्यस्ता सामान रोक्न सके व्यापार घाटा कम गर्न सकिने अर्थ मन्त्रालयको भनाइ छ

 बढ्दो आयातलाई प्रतिस्थापन गर्न सरकारले वस्तु तथा सेवाको आयात–निर्यातको पहिचान गर्न सुरु गरेको छ । बढी आयात र निर्यात हुने वस्तुको पहिचान गरेर निर्यात प्रवद्र्धन गरी आयातलाई प्रतिस्थापन गर्ने गरी सरकारले तथ्यांक संकलन गर्न थालेको हो ।
राजस्व सचिवको संयोजकत्वमा गठित समितिले निश्चित वस्तुको पहिचान गरेर बढ्दो आयात घटाउनका लागि अध्ययन गर्न लागेको हा । मुलुकमा पछिल्लो समय आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसकेपछि सरकारले निश्चित वस्तुको पहिचान गरेर निर्यात प्रवद्र्धन गर्न लागेकोे अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अर्थमन्त्रालयका सल्लाहकार डा. रामशरण खरेलले मुलुकमा व्यापार घाटा बढ्दै गएकाले कसरी कम गर्न सकिन्छ भनेर बढीमात्रामा आयात र निर्यात हुने वस्तुको पहिचान गर्न लागिएको जानकारी दिए । “बढी आयात हुने वस्तु तथा सेवालाई कसरी कम गर्न सकिन्छ र स्वदेशी वस्तुको निर्यातलाई कसरी बढाउन सकिन्छ भनेर वस्तु तथा सेवाको अध्ययन गरिरहेका छौं,” उनले भने, “वस्तु तथा सेवाको पहिचान गरेर केही दिनमै अर्थमन्त्रीलाई प्रतिवेदन पेश गर्छौ ।” बाहिरबाट अनावश्यक रूपमा धरै आइरहेका वस्तुलाई भन्सार बढाएर वा अन्य प्रक्रियाबाट रोक्नेबारे अध्ययन गरिहेको उनले जानकारी दिए । नेपालबाट निर्यातयोग्य वस्तु कुन÷कुन हुन पहिचान गरेर निर्यातमा जोड दिइने उनको भनाइ छ ।
मन्त्रालयका अनुसार सेवा क्षेत्रमा बिमा, पर्यटन, स्वास्थ्य, शिक्षा, सञ्चार क्षेत्रमा आयात निर्यातको अवस्था बारेमा अध्ययन गरिने छ । आयातलाई प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनमा जोड दिइने मन्त्रालयले जानकारी दिएको छ । नेपालले कसरी बढ्दो व्यापार घाटालाई कम गर्न सकिन्छ भनेर वस्तु तथा सेवाको पहिचान गर्न अध्ययन गरिएको उनले बताए । मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर वस्तु तथा सेवाको आयात र निर्यातको पहिचान गरिरहेको जानकारी दिएको छ । पेट्रोलियम पदार्थ र औषधि आयातको विकल्प नभएकाले विलासीका वस्तुको आयात कम गर्ने विषयमा समेत छलफल भइरहेको मन्त्रालयले जनाएको छ । कतिपय मुलुकबाट अनावश्यक सामान आयात भइरहेकाले त्यस्ता सामान रोक्न सके व्यापार घाटा कम गर्न सकिने मन्त्रालयको भनाइ छ । स्वदेशमै उत्पादन गर्न सकिने वस्तुको आयात रोक्न सके व्यापार घाटा कम गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन् ।
कृषि प्रधान मुलुक भए पनि नेपालमा वर्सेनि डेढदेखि दुई खर्ब रूपैयाँ बराबरको कृषिजन्य वस्तुको आयात भइरहेको छ । वार्षिक २५ अर्ब रूपैयाँ बराबरको चामल आयात हुने गर्छ । मुलुकमा उत्पादन गर्न सकिने मकै, तरकारीलगायतका अन्य सामान ठूलो परिणाममा आयात भइरहेका छन । जसले गर्दा पनि व्यापार घाटा बढ्दै गएको छ । स्वदेशी वस्तुको उत्पादन लागत महंगो पर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रतिपर्धा गर्न कठिन हुने गर्छ । स्वदेशी उत्पादनको तुलनामा आयातित वस्तु सस्तो पर्ने हुँदा आयातित सामानले बजार ओगट्ने गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा ३८ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ । निर्यात भने साढे २६ प्रतिशले वृद्धि भएको छ । नेपालमा हाल १ सय ८० देशबाट वस्तु तथा सेवाको आयात भइरहेको छ । निर्यात भने कम देशमा मात्र हुने गर्छ । सरकारले स्वदेशी वस्तुको निर्यात प्रवद्र्धनका लागि निर्यातमा नगद अनुदान दिए पनि निर्यात बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्