विश्व आपूर्ती श्रृंखलामा कोभिड–१९ को प्रभाव «

विश्व आपूर्ती श्रृंखलामा कोभिड–१९ को प्रभाव

वस्तुको सिर्जनादेखि बिक्रीसम्म समावेश हुने सम्पूर्ण व्यक्तिहरू, संगठनहरू, स्रोतहरू, क्रियाकलापहरू र प्रविधिको सञ्जाललाई आपूर्ति सञ्जाल (सप्लाई चेन) भनिन्छ । आपूर्तिकर्ताबाट उत्पादनकर्तासम्म कच्चा पदार्थहरूको प्रवाह हुँदै अन्तिम ग्राहकसम्म वस्तुहरूको प्रवाह गर्ने कार्यका सम्पूर्ण प्रक्रियाहरू आपूर्ति सञ्जालभित्र समावेश हुन्छन् । आपूर्ति सञ्जाल व्यवस्थापन (एमसीएम) ले सामग्रीहरू, सूचनाहरू र आर्थिक स्रोतहरूको निरीक्षण गर्छ, जसको प्रवाह प्रक्रियागत रूपमा सप्लायर्सबाट म्यानुफ्याक्चरर्स, होलसेलर, रिटेलर हुँदै ग्राकहसम्म पुग्छ । आपूर्ति सञ्जाल मुख्यतः तीन वटा प्रवाहहरूको एकीकृत रूप हो, ती हुन्— उत्पादन प्रवाह, सूचना प्रवाह र वित्तीय प्रवाह । आपूर्ति सञ्जाल व्यवस्थापनले कम्पनीभित्र र कम्पनीहरूबीच यी तीन प्रवाहहरूलाई एकीकृत गर्ने र समन्वय गर्ने कार्य गर्छ ।
आज सम्पूर्ण विश्व नै कोभिड–१९ का कारण हाम्रो सामु खडा गरिरहेको मानवीय र आर्थिक संकटहरूसँग जुधिरहेको छ । आपूर्ति सञ्जालले एउटा अद्वितीय चुनौतीहरूको सामना गरिरहेका छ । कोभिड–१९ को पहिलो लहर विश्वको उत्पादनमूलक उद्योगको २० प्रतिशत हिस्सा ओगट्ने चीनबाट सुरु भएसँगै ‘सप्लाई सक’ को अवस्था उत्पन्न भयो । चीनबाट विश्वका विभिन्न देशहरूमा निर्यात हुने तयारी वस्तुहरू एवं कच्चा पदार्थहरूमा भएको भारी गिरावटका कारण विश्वका विकसित बजारहरूका उद्योगहरूमा हुने उत्पादनहरूमा प्रतिकूल प्रभावहरू देखिएका थिए । कम्पनीहरू कुन उत्पादन सम्भाव्य छ र कुन मागलाई पूरा गर्न सकिन्छ भन्ने कुरा अनुमान गर्न पनि असमर्थ एवं अनिश्चित थिए । कोभिडको महामारी फैलिँदै र गहिरिँदै गएपछि र विभिन्न देशहरूले लकडाउनलगायतका प्रतिबन्धहरूको अवलम्बन गर्न सुरु गरेपछि विश्व आपूर्ति सञ्जालले बिल्कुलै नयाँ–नयाँ प्रवृत्तिहरू अनुभव गर्दै गयो । वस्तुहरूको सम्भावित अभावसँग जुध्न मानिसहरूले उपभोग्य वस्तुहरूको अत्यधिक भण्डारण गरिरहेका थिए । कसैले महिना दिनलाई पुग्ने सामान एकैपटक खरिद गरेको अवस्था पनि थियो, जसलाई ‘प्रणालीगत माग झट्का’ (सिस्टमेटिक डिमान्ड सक) भनिन्छ ।
महामारीपछि माग र उत्पादनमा अत्यधिक वृद्धि भई तुरुन्तै ‘बुलविप इफेक्ट’ सुरु हुन्छ भन्ने विषयमा विज्ञहरूका बीच मत ऐक्यता थिएन । तर, ‘बुलविप इफेक्ट’ नहुने विभिन्न कारणहरू थिए, जस्तो कि वस्तुको मागको प्रकृति कस्तो हुन्छ भन्ने अनुमान सहज थिएन । आपूर्ति सञ्जालका सबै खेलाडीहरू किन माग बढ्दै छ भन्ने कुरामा सचेत थिए र उत्पादनको विक्रीमा भएको वृद्धि अर्गानिक वृद्घि होइन भन्ने कुराको राम्रो हेक्का उनीहरूलाई थियो । तर पनि ‘सर्टेज गेमिङ’ ले ‘बुलविप इफेक्ट’ उत्पन्न गर्न सक्छ, जसको व्यवस्थापन कुनै हालतमा गर्नुपर्ने हुन्छ । दुर्लभ स्रोतहरूको धेरै हिस्सा दाबी गर्ने उद्देश्यले आपूर्तिको आवश्यकता बढी देखाउने प्रवृत्ति ‘डाउनस्ट्रिम एक्टरर्स’हरूमा देखिएको हुन्छ । तसर्थ वास्तविक आपूर्ति प्राथमिकताहरूको अनुमानमा क्षति नहोस् भन्नका लागि सतर्क भएर अगाडि बढ्नुपर्ने आवश्यकता थियो । त्यसैगरी आपूर्ति सञ्जालका योजनाकर्ताहरू गतिशील रूपमा अगाडि बढ्नका लागि एउटा मुख्य खतरा ‘इन्भेन्ट्री वाउन्स ब्याक’सँग टाढा रहनुपर्ने अवस्था पनि थियोे ।
कोरोना भाइरसको विश्वव्यापी महामारीले आधुनिक सप्लाई चेनलाई अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती दिएको छ । सप्लाई चेन विज्ञहरूका अनुसार सप्लाई चेन इन्डस्ट्रीमा अहिलेसम्म यति ठूलो आकारमा अवरोध पु-याउने कोभिड महामारी नै भएको छ । कोभिड– १९ को पहिलो लहरको सुरुवाती चरणमा ट्वाइलेट पेपर, पेपर टावल्स, औषधिहरू र खाद्य पदार्थहरूको माग अत्यधिक बढेको थियो भने कोरोनाको विस्तारसँगसँगै उपभोग्य वस्तुहरूको मात्र नभई स्वास्थ्यसँग सम्बन्धित उत्पादनहरू जस्तै भेन्टिलेटर, रेस्पिरेटर र परीक्षण उपकरणहरूको पनि तीव्र माग बढ्यो । दसौँ लाख भेन्टिलेटर तत्काल आवश्यक पर्ने परिस्थिति बन्यो, जुन ऐतिहासिक रूपमा उच्च हो । त्यसैगरी पीपीई, ग्लोब्स, फेस मास्क, एन–९५ रेस्पिरेटर्सलगायतको आवश्यकता धेरै हुन थाल्यो, तर तत्कालीन उत्पादनले यो माग धान्न सक्ने अवस्था भने थिएन । सीमा नाकामा नियन्त्रणहरू, यातायात तथा यात्राहरूमा लगाइएका प्रतिबन्धहरूले अन्तर्राष्ट्रिय व्यापार र यातायातमा अवरोध उत्पन्न गरिरहेका थिए ।
कोभिड–१९ ले परम्परागत आपूर्ति सञ्जाल मोडलहरूमा रूपान्तरणको आवश्यकता दर्साएको छ । परम्परागत ‘लिनियर सप्लाई चेन मोडेल’ अब ‘डिजिटल सप्लाई नेटवर्क‘ मा रूपान्तरित हुँदै गएको छ । सम्भावित चुनौतीहरूलाई पूरा गर्न विकसित प्रविधिहरूलाई आत्मसात् गरिँदै छ, जस्तै इन्टरनेट, एआई (आर्टिफिसियल इन्टेलिजेन्स), इन्टरनेट अफ थिङ्स, रोबोटिक्स, डीएसएनएस (डिजिटल सप्लाई नेटवक्र्स) को डिजाइन गरिएको छ भने ‘ओम्नी च्यानल सप्लाई चेन’ को मान्यता स्थापित भएको छ । अनपेक्षित र अप्रत्याशित घटनाक्रमहरू (ब्लाक स्वान) जस्तै कोभिड–१९, व्यापारयुद्घ, युद्घ तथा आतंकवाद, नियामकीय परिवर्तन, श्रम विवाद, मागमा हुने उतारचढाव, आपूर्तिकर्ता टाट पल्टिनुजस्ता परिस्थितिमा पनि डीएसएनएस (डिजिटल सप्लाई नेटवक्र्स) पद्घति आत्मसात् गरेका संगठनहरू अनपेक्षित परिस्थितिहरूसँग मुकाबिला गर्न सक्छन् तथापि यिनीहरूमा दिगोपनको धेरै जरुरी हुन्छ । अबको आपूर्ति सञ्जालको भविष्य भनेको नै डिजिटल र अटोनोमस हो । त्यसैगरी जाोखिम न्यूनीकरण तथा कठिन परिस्थितिबाट मुक्त भई पुनः पहिलेकै अवस्थामा फर्कनका लागि आफ्नो सप्लाई चेन रणनीति पुनर्विचार गर्ने र उच्च गतिमा डिजिटल प्रविधिमा लगानी बढाउनुपर्ने आजको आवश्यकता हो । साँच्चिकै दिगो सप्लाई चेनमार्फत कम्पनीलाई नवप्रवर्तन गरी पछि आउन सक्ने संकटहरूलाई सजिलै व्यवस्थित गर्न सक्ने रणनीति तयारी गरी अनुसरण गर्नुपर्छ । तसर्थ सम्भावित संकटहरूलाई भयंकर ठूला अवसरहरूमा प्रस्थान गराउने ‘टर्निङ प्वाइन्ट’ पनि हो यो ।
हाल विश्व विशेषतः कोभिड–१९ भ्याक्सिनको ग्लोबल सप्लाई चेनमा भर परिरहेको छ, जसले हामीलाई यो संकटबाट बाहिर ल्याउन सकोस्, तर भ्याक्सिन सप्लाई चेनका विभिन्न चरणहरू त्यति सहज भने छैनन् र विभिन्न कारणले आपूर्तिलाई अवरोध पु¥याउन सक्छन् । पहिलो चरण भनेको भ्याक्सिन उत्पादनको विकास हो । अधिकांश उत्पादित भ्याक्सिनहरू प्रयोगका लागि स्वीकृत भइसकेका छन् र कतिपय विकासक्रममै छन् । स्वास्थ्य संस्थाहरू र सरकारहरूले भ्याक्सिनको वितरण, प्रशासन र डोजको फलोअप सूचीको उत्तम उपायहरू खोजी गरिरहँदा खोपको उत्पादन डिजाइनमा धेरै ठूलो प्रभाव परेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा २ अर्ब हाराहारीको डोज उत्पादन गर्न सक्ने क्षमता विश्वसँग भएको प्रक्षेपणका बाबजुत पनि बदलिँदो मागलाई वितरणहरूले समेट्न सक्छ कि सक्दैन भन्ने अनिश्चितता कायमैै छ । कोभिड–१९ को नयाँ भेरियन्टले संक्रमण दर र गम्भीरतामा ठूलो प्रभाव पर्न सक्छ र खोप सार्वजनिक गर्ने रणनीतिहरूमा प्रभाव पारी नयाँ खोप उत्पादन गर्नुपर्ने अवस्था आउन सक्छ । सप्लाई चेनमा वितरणको ‘लास्ट माइल’ डिजाइनले पनि धेरै ठूलो अर्थ राख्छ । भौगोलिक स्थिति, प्राथमिकताहरू र उत्पादनको उपलब्धताका कारणले सुरुवाती चरणमा बेलायतमा खोप सार्वजनिक गरिँदा विभिन्न क्षेत्रहरूमा खोप लगाउने दरमा धेरै नै अन्तर देखिएको थियो । यो निकै जटिल छ र प्रशासन प्रणाली र योजनामा सावधानी अपनाउने साथसाथै वहन गर्न सक्ने उपयुक्त वितरण मोडेलहरू अनुशरण गर्नुपर्ने हुन्छ ।
कोभिड–१९ ले सम्पूर्ण क्षेत्रहरूलाई प्रतिकूल प्रभाव मात्र पारेको छैन, पश्चिमी देशहरूका मानिसहरू ‘वर्क फ्रम होम’मा सिफ्ट भएसँगै इलेक्ट्रोनिक्स र दूरसञ्चारका उपकरणहरूको उत्पादन तथा सेवाहरूमा बढोत्तरी भइरहेको छ । घरायसी फर्निचरहरू, सरसफाइका उत्पादनहरू, स्वास्थ्य सामग्रीहरूको व्यवसाय बढेको छ, जबकि अन्य धेरै क्षेत्रहरूको व्यवसायमा दिगो गिरावट आएको छ । फुटकर व्यापार, स्मार्ट फोन, इनर्जी तथा उद्योग, इलेक्ट्रोनिक्स, अटोमोबाइल र यातायातलगायतमा भने प्रत्यक्षतः नकारात्मक वित्तीय प्रभाव परिरहेको छ । ‘ई कमर्स’ धेरै दु्रत गतिमा फस्टाएको छ । अनलाइनमार्फत खरिद नगर्ने धेरै मानिसहरूले पनि नियमित रूपमा यसको प्रयोग गर्न थालेका छन् । यो महामारी अगाडिको प्रवृत्तिको अर्धस्थायी तथा दु्रत गतिको रूपान्तरण हो ।
नेपालजस्ता विकासोन्मुख देशहरूमा कोभिड–१९ को दोस्रो लहर फैलिँदो छ । न्यून तथा मध्यम आम्दानी भएका मुलुकहरूमा संक्रमणको दर बढिरहेको छ, जसको फलस्वरूप नियमित लकडाउनलगायतका प्रतिबन्धहरू लागू भएका छन्, जसले अर्थतन्त्रको सम्पूर्ण पक्षहरूलाई असर पु¥याउँछ । यसले खासगरी ‘फुड सप्लाई चेन’मा व्यापक प्रभाव पारेको देखिन्छ । घरेलु, साना तथा मझौला उद्योगहरूले अत्यन्त ठूलो समस्या भोगिरहेका छन् । विश्वका धेरै राष्ट्रहरूले बढ्दो खाद्य असुरक्षाको सामना गरिरहेका छन् । विश्व बैंकका अनुसार सन् २०२१ र २०२२ सम्म पनि कोभिड–१९ ले गम्भीर र व्यापक खाद्य असुरक्षा वृद्घि गर्नेछ र प्रत्येक देशहरूका विपन्न परिवारलाई प्रतिकूल प्रभाव पार्नेछ ।
विश्वभरि भ्याक्सिन पु-याउने यो लक्ष्य भर्खर सुरु हुँदै छ र भ्याक्सिनको उत्पादन विश्वभरि नपुग्ने समयसम्म सप्लाई चेनका यी मुद्दाहरू पनि यथावत् रहिरहनेछन् । भ्याक्सिनले धेरैजसो अर्थतन्त्रहरूलाई अन्त्यमा लकडाउन र आर्थिक क्रियाकलापको नाटकीय गिरावटवाट पुनरागमन गर्न सक्छ कि ? केही समयसम्म विश्वको यो तस्बिर अनिश्चित नै रहने देखिन्छ । धेरैका लागि व्यवसाय अब महामारीपूर्वझैँ सामान्य अवस्थामा फर्किन सक्दैन भन्ने अनुमान होला, तर अनिश्चिततालाई वहन गर्न र पार गर्न सक्नेहरूका लागि यसले थुप्रै अवसरहरू प्रदान गर्ने नै छ ।

प्रतिक्रिया दिनुहोस्