सिमरा मालपोतको सेवा विद्युतीय प्रणालीमा «

सिमरा मालपोतको सेवा विद्युतीय प्रणालीमा

सिमरा-भूमि व्यवस्थापनसम्बन्धी सेवालाई पारदर्शी र सरलीकरण गर्न बाराको सिमरा मालपोत कार्यालयले अनलाइनमार्फत् सेवा दिन सुरु गरेको छ । कलैयाबाट सेवा विस्तार गर्ने केन्द्रकै योजना बमोजिम केही महिना अघिमात्रै निकै विवाद र कलैयाका लेखापढी व्यवसायीको विरोधका बीच यो कार्यालयको सिमरा, बजनीमा उद्घाटन गरिएको थियो । कार्यालयमा कलैयाभन्दा अघिनै यहाँ अनलाइनबाट सेवा सुरु गरी सेवाग्राहीलाई अति सरल हुने गरी काम थालिएको छ
मालपोत कार्यालयमा आयोजित एक कार्यक्रमका बीच भूमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले अनलाइन सेवाको उद्घाटन गर्दै देशका १ सय ३१ कार्यालयमध्ये ४६औं स्थानमा सिमरा मालपोतमा अनलाइन सेवाको सुरुआत गरिएको बताए । उनले देशैभरका सबै मालपोतले दिने सेवालाई सरलीकरण गर्ने उद्देश्यसहित यो सेवा सुरु गरेको जानकारी दिए ।
महानिर्देशक दवाडीले अनलाइन पद्धतीको विकासले सेवाग्राहीलाई काम गर्न झन्झट नहुने र कुनै पनि कामका लागि सेवाग्राही आफैंले फारम भरी काम गर्न सकिने बताए । अब सामान्य लेखपढ गर्ने सेवाग्राहीले मालपोतका सानाठूला कामका लागि कसैलाई गुहार्न आवश्यक नरहेको उनको भनाइ थियो ।
महानिर्देशक दबाडीले मालपोत कार्यालयमा ५० प्रतिशत कर्मचारी अभाव रहेको भए पनि केही समयभित्रै समस्याको समाधान गरी छिटो र छरितो सेवा दिन विभाग प्रयासरत रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्