राजपा बहुमतीय प्रणालीतिर «

राजपा बहुमतीय प्रणालीतिर

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्यहरूले पार्टीलाई सहमतीय प्रणालीबाट बहुमतीय प्रणालीमा अगाडि बढाउने संकेत गरेका छन् । ६ पार्टीको एकीकरण हुने बेलामा अध्यक्षमण्डल गठन गरी सहमतीय प्रणालीलाई अंगीकार गरेको राजपा अब बहुमतीय प्रणालीमा जान लागेको हो ।
गत मंसिर ४ गते सम्पन्न अध्यक्ष मण्डलको बैठकबाट तत्कालीन संयोजक महन्थ ठाकुरलाई हटाएर चक्रीय प्रणालीमा पार्टीलाई अगाडि बढाउने निर्णय बहुमतबाट गरिएको थियो । त्यो निर्णयमा अध्यक्ष मण्डलका सदस्य अनिल झाले नोट अफ डिसेन्ट जाहेर गरेयता पार्टीमा विवाद देखिएको छ । अध्यक्ष मण्डलका एक सदस्य झाले असहमति जाहेर गरेपछि निर्वतमान संयोजक ठाकुर निकटका पूर्व तमलोपाका नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका थिए । मंसिर ४ पछि संयोजक महतोले अध्यक्ष मण्डलको बैठक बोलाउने प्रयास गरेको भए पनि सफल हुन सकेका थिएनन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक छलफल गर्न अनिल झासमेत राजपा अध्यक्ष मण्डलका नेताहरू मिलेर गएका थिए । प्रधानमन्त्रीको भेटपछि मंगलबारै बैठक बस्न खोजिएको भए पनि सो सम्भव हुन सकेको थिएन ।
बुधबार सम्पन्न भएको अध्यक्ष मण्डलको बैठकमा झा भने सहभागी भएनन् । पार्टीका महासचिव केशव झाका अनुसार झाले सो बैठक बहिष्कार गरेका थिए । झा पार्टी कार्यालयमा उपस्थित हुँदाहुँदै बैठकमा उपस्थित नभएको उनले जनाए ।
संयोजक महतोको अध्यक्षतामा सम्पन्न भएको बैठकबाट दुईटा निर्णय गरिएको छ । झाले दिएको जानकारीअनुसार विवादले सदस्यता वितरणमा गतिरोधको अवस्था उत्पन्न भएको थियो । मंसिर मसान्तसम्म तोकिएको सदस्यता वितरणको समयावधि माघ १५ सम्म थप्ने निर्णय गरिएको छ । सदस्यता वितरण र महाधिवेशन तयारीका लागि जिल्लास्तरीय र वडास्तरीय बैठक गर्ने निर्णय पनि भएको छ ।
महासचिव झाका अनुसार पुस १८ र २५ गते जिल्लास्तरीय र वडास्तरीय विस्तारित बैठक गरिनेछ । यो बैठकबाट वडा इन्चार्ज तोकिने योजना रहेको छ । इन्चार्जले सदस्यता वितरणलाई प्रभावकारी ढंगले अघि बढाउने विश्वास गरिएको छ ।
महासचिव झाका अनुसार अध्यक्ष मण्डलका सदस्य अनिल झाले बैठक बहिष्कार गरेको भएपनि किन बहिष्कार गरे भन्ने विषयमा अध्यक्ष मण्डललाई कुनै जानकारी दिइएको छैन ।
पार्टीका केही अन्य नेताहरूले पार्टीलाई सहमतीयको नाममा गतिरोध थप्न नहुने बताएका छन् । उनीहरूका अनुसार पार्टीलाई गतिशील बनाउनुपर्ने आवश्यकता छ । देशको तेस्रो ठूलो पार्टीलाई यसरी राख्न नहुनेमा उनीहरूले जोड दिएका छन् ।
राजनीतिमा सहमतीय र बहुमतीय दुवै किसिमको राजनीति गर्ने गरिन्छ । यसलाई देश र जनताको हितमा प्रयोग गर्नुपर्ने हुन्छ । तर अध्यक्ष मण्डलका नेताहरूले पार्टीलाई पारदर्शी र व्यक्तिगत इमानदारिता प्रदर्शन गर्नुपर्ने आवश्यकता रहेको ती नेताहरूको भनाइ छ ।
एक नेताले भने, “मधेशका नाममा अगुवाइ गरेका अहिलेसम्मका नेताहरूले व्यक्तिगत छवि निर्माण गर्न सफल हुन नसकेकाले जनताले उनीहरूले छवि सुधार गरिरहेको देख्नुपरेको छ ।” ती नेताका अनुसार ठाकुर आफैं अध्यक्ष मण्डलको बैठकमा सहभागी भएपछि निर्णयलाई विवादित बनाउनुको कुनै तुक छैन ।

प्रतिक्रिया दिनुहोस्