अप्पर इङ्गवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूको लगानी «

अप्पर इङ्गवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूको लगानी

बैंक अफ काठमाण्डूले अप्पर इङ्गवा जलविद्युत् आयोजनामा एकल लगानी गर्ने भएको छ । बैंक र इङ्गवा जलविद्युत् लिमिटेडबीच अप्पर इङ्गवा जलविद्युत् आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो ।


९.७ मेगावाट उत्पादन क्षमता रहेको यो आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रहेको छ । इङ्गवा जलविद्युत् लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाउँपालिकामा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङ्गवा जलविद्युत्को लगानी रहनेछ । आयोजना पूरा भएपछि उत्पादित विद्युत् अमरपुर सवस्टेसनमा जोडिनेछ । सवस्टेसनसम्मको आवश्यक १६ किलोमिटरको ३३ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ । साथै कर्जा लगानी पश्चात् आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको जनाएको छ ।


बैंक उर्जा क्षेत्रहरु (सौर्य तथा जलविद्युत) को बिकासको लागि बैंकिङ्ग क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको र विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्