भिजिट नेपाल–२०२० : ‘मिसन’ २० लाख पर्यटक «

भिजिट नेपाल–२०२० : ‘मिसन’ २० लाख पर्यटक

सरकारले सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष घोषणा गरेको छ, जसका लागि विभिन्न क्षेत्रबाट अभियानसमेत सुरु भएको छन् । २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको ‘भिजिट नेपाल–२०२०’ का लागि विभिन्न समितिसमेत निर्माण हुने चरणमा छन् । निजी क्षेत्र उत्साहितसमेत छन्, जसलाई सफल पार्न सबैले सहयोग गर्ने घोषणा गरेका छन् । सन् २०१९ सुरु हुनै लाग्दा देशभर विभिन्न पर्यटक प्रर्वद्धनका कार्यक्रमसमेत घोषणा भइरहेका छन् । निजी क्षेत्रकै पहलमा आगामी साता लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट मार्टसमेत सञ्चालन हुँदै छ भने अर्कातर्फ सरकारले विश्वभर प्रचारप्रसार सुरु गर्ने तयारीसमेत गरेको छ । सन् २०२० मा २० लाख पर्यटकको लक्ष्य पूरा गर्नका लागि पूर्वाधार निर्माण र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ । पूर्वाधार भन्नेबित्तिकै विमानस्थल, सडक, एयरलाइन्स र होटल मुख्य रूपमा पर्छन् । एक गन्तव्यबाट अर्को गन्तव्यमा सडक मार्गमार्फत सहज आउजाउ गर्ने वातावरण तयार गर्ने मुख्य भूमिका हुन आउँछ । यसै सन्दर्भमा प्रस्तुत छ, ‘भिजिट नेपाल–२०२०’ मा २० लाख पर्यटकको लक्ष्य पु-याउन के गर्नु आवश्यक छ भन्ने कारोबारको बहसमा पर्यटन क्षेत्रका विभिन्न व्यक्तिहरूसँग गरिएको कुराकानीको सार :

पूर्वाधार निर्माण द्रुतगतिमा सम्पन्न गर्न आवश्यक
अच्युत गुरागाईं
प्रथम उपाध्यक्ष
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार अझै हुन सकेको छैन । त्यसको विकल्पमा निर्माणको चरणमा रहेको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा आउन आवश्यक छ, जसका कारणले नेपालमा पर्यटक आउने मुख्य द्वार नै साँघुरो भएका बेला यसले सहज बनाउने आशा छ । दोस्रो कुरा भनेको सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नु आवश्यक छ । पूर्वाधार भन्नाले मैले विमानस्थलको मात्रै कुराकानी गरिरहेको छैन । यसमा एक गन्तव्यबाट अर्को गन्तव्यमा पुग्ने सडक चुस्त–दुरुस्त राख्नु आवश्यक छ । घण्टांै जाम हुने अवस्थाबाट पर्यटकलाई मुक्ति दिलाउन आवश्यक छ भने नयाँ गन्तव्यमा पर्यटक लैजाने वातावरण र पूर्वाधार खडा गर्न आवश्यक छ ।
अहिले पनि पर्यटकहरू काठमाडौं, नगरकोट, पोखरा र चितवनमा बढी मात्रामा जाने गरेका छन् । यसमा परिवर्तन हुनु जरुरी छ । यसैका लागि नाट्टाले आगामी सातादेखि बुद्धिष्ट अन्तर्राष्ट्रिय मार्ट सञ्चालन गर्न गइरहेको छ । यस्ता गतिविधिले नयाँ गन्तव्यको प्रचारप्रसार हुनेछ । अर्को महत्वपूर्ण कुरा भनेको अन्तर्राष्ट्रिय प्रवद्र्धन नै हो । अहिले पनि प्रवद्र्धनको शैली नेपाल पर्यटन बोर्डलगायत संघ संस्थाहरूले परिवर्तन गर्न सकेका छैनन् । यसका लागि नयाँ प्रविधिको प्रयोग गर्दै नयाँ ढंगले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रचार गर्न जरुरी छ ।
अर्कोे कुरा, नेपालको नकारात्मक समाचारहरूको प्रचार रोकिनु आवश्यक छ । नकारात्मक प्रचारले पर्यटकहरूको नेपाल आउने उत्साहमा कमी आउनेछ । अहिले पनि नयाँ गन्तव्यमा पर्यटकहरूलाई लैजान सहज पूर्वाधार नहुँदा महँगो प्याकेज लिन पर्यटक बाध्य छन् । जहाजकै भाडाको कुरा गर्ने हो भने संसारमै नभएको चलन नेपालमा छ । विदेशीलाई महँगो र स्वदेशीलाई सस्तो भाडा राखेर चलाइएको छ । यसमा मात्रै एकरूपता आउने हो भने रारा, खप्तडलगायत कर्णाली र सुदूरपश्चिममा नयाँ र आकर्षक गन्तव्यमा पर्यटक पु-याउन सहज हुने थियो । यसलाई सरकारले प्राथमिकतामा राख्नु आवश्यक छ । अहिले पनि महँगो जहाज भाडाकै कारण पूर्व र पश्चिमका पर्यटकीय गन्तव्यको प्रचार गराउन सकिएको छैन । यसमा सबैको ध्यान जानु आवश्यक छ ।
निजी क्षेत्रले पूर्वाधारमा अहिले व्यापक लगानी गरिरहेका छन् । नयाँ–नयाँ गन्तव्यमा पाँचतारे होटलहरू सञ्चालनमा आएका छन् । यसले के देखाउँछ भने निजी क्षेत्र लगानी गर्न आतुर छन्, तर सरकारले सडक र हवाई मार्गमा सहज पहुँचको निर्माणमा जोड दिनु आवश्यक छ ।

वाइडबडी जहाजलाई लामो रुटमा उडाउन आवश्यक
सुमन पाण्डे
पूर्वअध्यक्ष
पाटा नेपाल च्याप्टर
सन् २०२० लाई भिजिट वर्ष घोषणा गरेर २० लाख पर्यटकको लक्ष्य राखिएको छ । यो विषयलाई सकारात्मक रूपमा सबैले सहयोग गर्न आवश्यक छ । पर्यटकको संख्यामा वृद्धि हुनेबित्तिकै नेपालको समृद्धिको अभियान पूरा हुनेछ । नेपालको विकासको सबैभन्दा सहज र सजिलो बाटो भनेको पर्यटन नै हो । नेपालमा पर्यटक बढाउने भनेको अब हवाई मार्गबाट मात्रै सम्भव हँुदैन । मुख्य कुरा, बोर्डरबाट पर्यटक भित्र्याउने अभियान सुरु गर्नु आवश्यक छ । मैले सुनेको छु, आगामी १८ गतेबाट कोदारी राजमार्ग पनि खुल्दै छ । यो मार्ग खुल्नु भनेको चिनियाँ पर्यटक नेपाल भित्र्याउने बाटो सहज हुनु हो । ल्हासामा १ करोड ६० लाख चिनियाँ घुम्न जाने गरेका छन् । वार्षिक ५ लाख मात्रै चिनियाँ पर्यटक भित्र्याउन सके नेपालको पर्यटनले फड्को मार्नेछ ।
अर्को कुरा, भैरहवा विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । यो विमानस्थलबाट राजस्व उठाउने भन्दा पनि सस्तो फेयरमा उडान गर्ने एयरलाइन्स कम्पनीलाई विशेष छुट दिएर हब विमानस्थल बनाउन आवश्यक छ, जसमा भारत र चीनबाट थुप्रै एयरलाइन्स भैरहवामा आउनेछन् । अर्को कुरा, नेपाल वायुसेवा निगमले खरिद गरेका दुई थान वाइडबडी युरोप, जापान, लन्डन, दक्षिण कोरिया, चीनको बेइजिङ उडान पहल गरेर तत्काल उडान सुरु गर्न आवश्यक छ । युरोपको हकमा ईयूले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेकोमा यसबाट मुक्त गराउन जरुरी छ । यसैको बहानमा नेपाल आउने पर्यटकको विमान शुल्क पुनर्बिमा कम्पनीहरूले बढाइरहेका छन् । यो बिमा शुल्क महँगो भएकाले नेपाल आउने पर्यटकको प्याकेजमै महँगो हुन पुगेको छ । सबै पक्षले ध्यान दिनुपर्ने भनेको चिनियाँ र भारतीय बजार नै हो । दुई देशबाट सडक मार्ग हुँदै धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउन सकिन्छ । भारतीय पर्यटकलाई क्यासिनोलगायतको विशेष प्याकेज दिएर नेपाल ल्याउन सकिन्छ ।
अर्को कुरा, नेपाल आउने २८ वटा एयरलाइन्स कम्पनीलाई प्रयोग गरेर विश्वभर प्रचार अभियान चलाउन आवश्यक छ । भिजिट– २०२० लोगोलाई एयरलाइन्समार्फत निःशुल्क विश्वभरि प्रचार गर्ने सबैभन्दा सजिलो माध्यम हो । नेपालको पर्यटनको सबैभन्दा ठूलो दुर्दशा भनेको पूर्वाधार नै हो । पर्यटनको पूर्वाधार भन्नाले विमानस्थल, एयरलाइन्स कम्पनी, होटल, सडक नै हो । होटल निजी क्षेत्रले तयार पारिरहेका छन् । तर, विमानस्थल निर्माणको गति कम हुँदा मुख्यद्वारमै समस्या छ भने गन्तव्यबाट गन्तव्य जोड्ने सडकको अवस्था गतिलो नहुँदा पर्यटकहरूलाई नयाँ गन्तव्यमा लैजान सकिएको छैन । समग्रतामा सन् २०२० लाई अभियानका रूपमा प्रचार गर्न अब एक वर्ष मात्रै बाँकी रहेको छ । यसमा निजी क्षेत्र, सरकारी सबै निकाय समन्वय गरेर अन्तर्राष्ट्रिय मार्केटिङमै फोकस हुन जरुरी छ ।

चीन र भारतबाट लाखौं पर्यटक सडक मार्गबाट ल्याउन जरुरी
विनायक शाह
महासचिव
होटल संघ नेपाल (हान)
नेपालको पर्यटक आगमनदर सन् २०१८ मा करिब ११ लाख हुने देखिएको छ । यो संख्या सन् २०१९ मा अत्यधिक बढेमा १४ लाख पुग्ने देखिन्छ । सरकारले सन् २०२० मा २० लाख पर्यटकको लक्ष्य राखेको छ, जुन सकारात्मक हो । एक वर्षपछि १० लाखको वृद्धि हासिल गर्ने लक्ष्य चानचुने भने छैन । संख्या पुगे पनि नपुगे पनि अभियान भने निरन्तर सञ्चालन हुन आवश्यक छ । सन् २०११ को १० लाखको लक्ष्य अहिले ७ वर्षपछि पूरा भएको छ । फेरि यो गतिको आगमनदरले भने पर्यटन अगाडि बढ्दैन । अहिले स्थिर सरकारदेखि समृद्धिका नारा घन्किरहेका बेला विश्वभर नेपालमा स्थिरता रहेको प्रचार गर्न पनि आवश्यक छ । राजनीतिक रूपमा स्थिरता नहुँदा सबभन्दा ठूलो मार पर्यटन क्षेत्रले बेहोर्नुपरेको थियो ।
नेपालमा अहिले पनि होटलहरू २५ लाख पर्यटक धान्न सक्ने अवस्थामा छन् । तर, सोही अनुसारको सरकारले पूर्वाधार खडा गर्न नसक्दा हामीलाई २० लाख पर्यटक भित्र्याउन धौधौ परेको हो । अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खराब रहेको छ । पर्यटक भित्र्याउन मुख्य ढोकालाई वर्षौंदेखि विस्तार गर्न नसक्दा समस्या सबै क्षेत्रले बेहोर्नुपरेको छ । मैले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थललाई बुटिक विमानस्थल बनाउने घोषणाले केही काम हुन्छ भन्ने आशा भने जागेको छ । सानो र साँघुरो विमानस्थल भए पनि बुटिक विमानस्थल भनेर प्रचार गर्न सके नेपालको नयाँ प्रचार हुने थियो । हामीले संख्यामा वृद्धि गर्नका लागि सडकमार्गको प्रयोगलाई विशेष ध्यान दिनु आवश्यक छ । चीनबाट नेपाल पर्यटक ल्याउन सहज भनेको सडक मार्ग त्यसमा पनि कोदारी मार्ग नै हो । यो नाका नखुलेसम्म नेपालमा चिनियाँ पर्यटक बढ्ने सम्भावना कम नै छ । अब छिट्टै खुल्ने भन्ने सुनिएको छ, जुन सकारात्मक हो । सडक मार्गबाट भारतीय पर्यटक पनि लाखौंको संख्यामा नेपाल भित्र्याउन सकिन्छ । २०२० लाई होटल संघले सबै हिसाबले सहयोग गर्नेछ । विभिन्न होटलले आफ्ना वेबसाइटमार्फत २०२० को प्याकेजसमेत दिन थालेका छन् । सबै होटलले २०२० लाई विशेष प्याकेज घोषण गरेर जानेछन् । यो सकारात्मक अभियानमा सबैले साथ दिए नेपालको पर्यटनले अवश्य पनि नयाँ बाटो समाउनेछ । वर्तमान सरकारले १० वर्षमा वार्षिक ५० लाख पर्यटकको लक्ष्य पु-याउन पनि सन् २०२० मा २० लाख पर्यटक ल्याउन आवश्यक छ । निजी क्षेत्र त्यसमा पनि होटलको यसमा विशेष भूमिका रहनेछ ।

सन् २०२० मा राष्ट्रिय प्याकेज नै घोषणा आवश्यक
कुल गुरुङ
महासचिव
नेपाल पर्वतारोहण संघ
सरकारले उल्लास र महत्वाकांक्षी लक्ष्यका साथ मनाउन लागेको भिजिट नेपाल— २०२० सफल पार्नु सबैको दायित्व हो । सन् २०२० को अवसर भनेको नेपालको ब्रान्डिङ गर्ने अवसर पनि हो । यसमा सरकारलाई सबैले सहयोग गर्नेछन् । नेपाल पर्वतारोहण संघ पनि मूल आयोजक समितिकै सदस्य भएको र आयोजक पनि भएकाले यसलाई अवसरका रूपमा लिएका छौं । सन् २०१९ लाई प्रवद्र्धनको वर्ष घोषणा गरेर विश्वभर अभियानका रूपमा कार्यक्रम गर्नु आवश्यक छ ।
अर्कातर्फ सन् २०१९ भरि त्रैमासिक रूपमा कम्तीमा एउटा ठूलो मार्ट नेपालमा सञ्चालन गर्न आवश्यक छ, जसले सन् २०२० लाई महत्वपूर्ण सहयोग पु-याउनेछ । मलेसियाले पनि सन् २०२० लाई भिजिट मलेसिया घोषणा गरेको छ । जसको प्रवद्र्धन विगत पाँच वर्षदेखि गर्दै आएको छ । तर, नेपाललाई अब एक वर्ष मात्रै बाँकी छ । सरकारले राष्ट्रिय प्याकेज घोषणा गर्न पनि आवश्यक छ, जसमा हिमालमा कस्तो प्याकेज दिने, होटलहरूले के दिने, अन्य टुर एन्ड ट्राभलको प्याकेज बनाएर प्रचार गर्न जरुरी छ । किनभने अहिले विश्वभरि नै यस्ता प्रवद्र्धनका कार्यक्रमहरूमा प्याकेज कस्तो छ भनेर गुगलमा सर्च हुने गरेको छ । नेपालले पनि धेरै प्याकेज दिएर ब्रान्डिङ गर्न सके धेरै नै सहयोग पुग्नेछ ।
अर्को महत्वपूर्ण कुरा भने एउटा मात्रै पिकलाई निःशुल्क गरेर प्रचार गर्न सकियो भने पनि नयाँ तवरको ब्रान्डिङ हुनेछ । पर्वतारोहण संघले सञ्चालन गर्दै आएका २७ पिकमध्ये एउटा मात्रै निःशुल्क गर्न सके मात्रै पनि भिजिट २०२० का लागि नयाँ प्रडक्टका रूपमा विश्वमा प्रचार गर्ने अवसर हुने थियो । अर्को कुरा भनेको सरकारले सन् २०२० मा २० लाख पर्यटकको लक्ष्य राखेको छ, जसका लागि ठूलो संख्यामा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक पर्छ । अझ हिमाली क्षेत्रमा जाने जनशक्तिको धेरै अभाव भएकाले सन् २०१९ भित्रमा सयांैको संख्यामा नयाँ जनशक्ति उत्पादन गर्न आवश्यक रहेको छ । केही संख्यामा प्रत्येक वर्ष संघले गर्दै आएको भए पनि अब एकैचोटि धेरै उत्पादन गर्नुपर्ने भएको यसमा सरकारको समेत ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्