संसद्को हिउँदे अधिवेशन शुरु «

संसद्को हिउँदे अधिवेशन शुरु

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन बुधबारदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आह्वानका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।
बैठकमा राजनीतिक परिवर्तनका लागि मुलुकमा विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । संसदको हिउँदे अधिवेशनमा विभिन्न विधेयकमाथि छलफल र पारित गरिनेछ ।
नेपालको संविधानको साझा सूचीमा रहेका, सविधानसँग बाझिने तथा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण र संशोधन यसअधिवेशनको मुख्य कार्यभार रहेको छ । अधिवेशनको प्रारम्भका अवसरमा बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेता एवं सदस्यहरुले शुभकामनासहितको मन्तव्य राख्ने क्रम शुरु भएको छ ।
बुधबारको बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ भने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ प्रस्तुत गर्ने कार्यसूची छ ।
बुधबारको बैठकमा बैठकमा विभिन्न राजनीतिक दलका सांसदले शान्तिसुरक्षा तथा भ्रष्टाचारलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे सरकार र सदनको ध्यानाकर्षण गराए । बैठकमा भाग लिने सांसदले जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, संघीय, मामिलामा सबैभन्दा भ्रष्टाचार भएको तथ्यांक अख्तियार दुरुपयोग आयोगबाट आउनुले समाजमा भ्रष्टाचार व्याप्त छ भन्ने पुष्टि गरेको बताएका थिए ।
संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठले पुनर्निर्माणको अभियानमा समानताका आधारमा अघि बढाउन तथा समुदाय विशेषका आधारमा नभई सबै जातजातिका चाडपर्वमा समान हिसाबले बिदा दिने व्यवस्था गर्न सुझाव दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले दुई तिहाइ सरकारले विकास र समृद्धिको गतिलाई अघि बढाउन नसक्नुमा व्यक्ति दोषी होइन, प्रणालीकै कमजोरी भएको बताए । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संविधानले धर्म निरपेक्ष गरेको राष्ट्रमा एउटा धर्मको सहआयोजक सरकार बन्नुले समाजमा प्रश्न उठेको बताउँदै शान्तिसुरक्षा कायम गर्ने विषयमा पनि सरकार कमजोर साबित भएको आरोप लगाइन् ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरीदमा घोटला भएको हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अघिकारीको राजीनामा माग गरे ।

सरकारले न्याय दिन सकेन : देउवा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रे्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताएका छन् । बुधबारको संसद् बैठकमा उनले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाए । सभापति देउवाले भने, “शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ । देशभर हत्या र बलात्कारका घटना भएका छन् । दोषीलाई लुकाउन खोजिएको छ । होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन ? कुनै व्यक्ति विशेषलाई जबर्जस्ती फसाउने काम भएको छ ।”
संघीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माणमा सरकारले चासो नदिएकाले संघीयतासम्बन्धी कुनै कानुन बन्न नसकेको बताउँदै उनले भने, “सरकारले दलित, मधेशी, आदिवासी जनजातिलाई विश्वासमा लिन सकेको छैन । मधेशको मुद्दालाई सम्बोधन गर्ने पाटोमा सरकार उदासीन छ ।”
डा. गोविन्द केसी लगायतसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने कुराले सरकार संविधान पालना गर्दैन भन्ने स्पष्ट भइसकेको बताउँदै सभापति देउवाले भने, “संक्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन सरकारको तत्परता छैन ।”
विवादित संस्थाले आयोजना गरेको कार्यक्रमलाई सरकारले सघाएको आरोप लगाउँदै उनले प्रश्न गरे, “सरकार र राज्यको कुनै धर्म हुन्छ ? त्यो घटनाले सरकार कता जाँदैछ भन्ने स्पष्ट भएको छ । आफ्नो सरकारको पालामा ल्याइएको सामाजिक सुरक्षाको कार्यक्रमलाई मैले ल्याएको भन्न मिल्छ ?”

लोकतन्त्रको अनुभूति भएन : भट्टराई
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले जनताको नजरमा सरकारको छवि राम्रो नभएको तथा उनीहरूले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् । बुधबारको संसद् बैठकमा धारणा राख्दै उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधारका काम गर्न नसकिएको र जनता आधारभूत सेवाबाट वञ्चित भएको बताए ।
पूर्वप्रधानमन्त्री भट्टराईले अधिवेशनमा नै आवश्यक सबै कानुन बनाउनुपर्ने, देशमा सुशासन कायम गर्ने, अपारदर्शी आर्थिक गतिविधि अन्त्य गर्नुपर्ने, नेपाल वायु सेवा निगमका निम्ति ‘वाइड बडी’ विमान खरिदलगायत विकास–निर्माणका आयोजनामा पनि सुशासन कायम हुन नसकेको औँल्याए ।

साझा सहमति आवश्यक छ : दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान कार्यान्वयन, विकास र समृद्धिको मार्गमा मुलुकलाई लैजाने विषयमा दलहरुबीच साझा सहमतिको आवश्यकता रहेको बताएका छन् । बुधबारको संसद् बैठकमा उनले शान्तिप्रक्रिया र संविधान जारी भइसकेपछि मुलुकलाई विकास र समृद्धिमा लैजानुपर्छ भन्ने सबैको चाहना भएको र त्यो चाहनालाई पूरा गर्न दलहरुबीच साझा सहमति आवश्यक रहेकोमा जोड दिए ।
अध्यक्ष दाहालले भने, “हामी सहमतिमा अघि बढ्न सकेनौँ भने युद्धमा शान्तिलाई रुपान्तरण गर्न गरेको मेहनत खेर जान सक्छ । मुलुकमा अहिले महत्वपूर्ण उपलब्धि भएको छ, यसलाई केही होइन भन्ने ढंगबाट नजरअन्दाज गर्न मिल्दैन ।”
अहिलेको सरकारले संवैधानिक विकास र पूर्वाधार निर्माण तथा छिमेकीसँगको सम्बन्ध विस्तारमा दूरगामी महत्वको काम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले जनताको साझा एजेण्डा विकास र समृद्धि भएको बताए । नेपाली कांग्रेसको भर्खरै सम्पन्न बैठकबाट मुलुकलाई विकास र समृद्धिमा लैजानुपर्छ भन्ने एकैखाले भावना आउनु सुखद् पक्ष भएको बताउँदै अध्यक्ष दाहालले राष्ट्रिय अन्तर्राष्ट्रिय दृष्टिकोणबाट पनि उपयुक्त वातावरण रहेकाले विकास र समृद्धिको यात्रालाई हातेमालो गरेर अघि बढाउने नेपाली जनताको आकांक्षालाई पूरा गर्न सक्ने विश्वास व्यक्त गरे । उनले भने, “हामी सबैको जिम्मेवारी छ । यो संविधान कार्यान्वयनको जिम्मेवारी सत्तापक्षको मात्र होइन, अहिलेको कार्यभार पूरा सहमतिका साथ अघि बढ्न आवश्यक छ । संविधानको मर्म र भावनाअनुसार ऐन निर्माण गर्नु अहिलेको कार्यभार हो ।” निर्मला पन्तको बलात्कार–हत्याको दोषी पत्ता लगाउन नसक्नु कमजोरी भए पनि यसका लागि सरकारको प्रयास भने जारी रहेको उनले प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस्