जुम्लाको खलढुंगामा १२ घर भत्किए, ११७ घरपरिवार विस्तापित «

जुम्लाको खलढुंगामा १२ घर भत्किए, ११७ घरपरिवार विस्तापित

जुम्ला-लगातारको वर्षाले देशभरसहित जुम्लाका विभिन्न गाउँवस्तीमा पहिरोको जोखिम बढेको छ । यस्तै अविरल वर्षाका कारण पहिरो आउँदा जुम्लाको हिमा गाउँपालिका–६ पातरखोलाको खलढुंगा र दलित बस्तीका १२ वटा घर भत्किएका छन् । भत्किएका १२ घर आशिंक क्षति भएका ४ घर गरी १६ घरधुरीका १ सय १७ जना घरपरिवार विस्तावित भएका छन् ।
गाउँबस्तीको चारैतिर पहिरो गएसँगै घरका विभिन्न भाग भत्किन थालेपछि स्थानीयको बिचल्ली भएको छ । गाउँनै पहिरोको उच्च जोखिममा परेपछि विस्तापित घरपरिवार आफन्तको शरणमा पुगेका छन् ।
खलढुंगाका सूर्य अधिकारी रत्नराज अधिकारी, भक्त अधिकारी, सिंह अधिकारी, मुनराज अधिकारी, पुन्न अधिकारी र दलित वडाका रति दमाई गज दमाईलगायत १२ जनाको घर भत्किएका छन् । पातरखोला क्षेत्रका करिब ८० घर अझै पहिरोको उच्च जोखिममा छन् ।
लामो समयसम्म वर्षा हुँदा गाउँ नै जोखिम छ । स्थानीय सूर्यबहादुर अधिकारीले भने, “पातरखोलाको खलढुंगा गाउँमा घर पहिरोले भत्काउन थालेपछि स्थानीय त्रसित छन् । गाउँ छोडेर सुरक्षित ठाउँमा जान थालेका छन् ।”
प्रहरी निरीक्षक युवनकुमार चौधरीका अनुसार हिमामा वर्षाले गर्दा सबै गरी १६ वटा घरमा पहिरोले क्षति गरेका छन् । जसबाट १ सय १७ घरपरिवार विस्तापित भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।
उनले भने, “पहिरो घरै बगाएको छैन । तर, कसैका पर्खाल भत्किएका छन् । कसैका झ्याल ढोका भत्किएका छन् । कसैका घरभित्रै पानी पसेको छ । जोखिम बढेपछि स्थानीय विस्तापित भएका हुन् ।” विस्तापित १६ घरका १ सय १७ जना अहिले सुरक्षित नै रहेको प्रहरीले जनाएको छ ।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले एक वर्षअघि नै पातरखोलाका जोखिम बस्ती सुरक्षित स्थानमा सार्न निर्णय भए पनि सघिय सरकारको चासो नदिएको बताए । बस्ती स्थानान्तरण गर्नका लागि सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय जुम्लालाई परिपत्र गरिएको र बजेट नजुटेपछि स्थान्तरणमा समस्या भएको छ ।
यता, सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका शव इन्जिनियर चन्द्र खड्काले उक्त जोखिम बस्ती स्थानान्तरण लागि करिब १२ करोड लाग्ने अनुमान सहित केन्द्रमा कार्यक्रम पठाएका बताए । तर, चालू वर्षमा पनि स्वीकृत भएन । आगामी आर्थिक वर्षमा पनि त्यो कार्यक्रम बजेटमा परेको छैन । यस विषयमा सवै क्षेत्र तथा निकायबाट पहल गर्नुपर्ने उनको जोड छ ।
वर्षाले भेडीगोठालाको बिचल्ली
गर्मी छल्न पाटन उक्लेका भेडीगोठाको निरन्तरको वर्षाले बिचल्लीमा परेका छन् । भेडाको बथानसँगै पाटन र खर्कमा बसेका भेडीगोठाला बिचल्लीमा परेका हुन् । भोजपत्र, त्रिपाल र ढुँगाले छाएको गोठमा बसिरहेका भेडीगोठालालाई एकातिर चट्याङको खतरा छ भने अर्कोतिर भेडाबाख्रालाई भोकै राख्नुपर्ने बाध्यता छ । ‘पाटनमा भरपर्दाे गोठ नै छैनन्, आफंैले बनाएका गोठ हावाहरीले उडाउने खतरा हुन्छ ।
तातोपानी गाउँपालिका–७ सर्मीका भेडीगोठाला कृष्ण खड्काले भने, “गत वर्ष यही समयमा पानीको वास्ता नगरी भेडा चराउन हिँडेका एक छिमेकी गोठाला चट्याङले मृत्यु भयो । अहिले पनि त्यस्तै नहोला भन्न सकिने अवस्था छैन । २०७२ सालमा पनि करिब १० दिनसम्म निरन्तर वर्षा हुँदा सयौं भेडा मरेका थिए ।”
पाटन क्षेत्रमा चार महिना बसाइपछि घर फर्किन्छन् । जिल्लाका पाँचसय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, भुरिचुला लगायतका पाटनमा अस्थायी भेडीगोठ छन् । जुम्लामा करिब ७४ हजारको हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोबिन्द महतले बताए ।
आम्दानी राम्रो छ, भेडाको संख्या बढिरहेको छ,’ उनले भने, “कर्णाली प्रदेशले यो वर्षबाट गोठालो भत्ता दिने भएको छ । ५० भन्दा बढी भेडाबाखा भएका किसानलाई मासिक ५ सय गोठालो भत्ता दिने भएपछि गोठाला हर्षित भएका छन् ।” साथै भेडापालन व्यवसायको अनिवार्य बिमा गर्नसमेत उनले आग्रह गरेका छन् ।
फोटो क्याप्सनः पहिरोले भत्किएका जुम्ला पातरखोला गाउँका घर । तस्बिरः सागर परियार ।

प्रतिक्रिया दिनुहोस्