खेल क्षेत्रको विकासको लागि सल्लाह «

खेल क्षेत्रको विकासको लागि सल्लाह

युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आफू खेल क्षेत्रको विकासका लागि खेल क्षेत्रका व्यक्तित्वहरूसँग आवश्यक सल्लाह–सुझाव मागेका छन् ।
शनिबार ओलम्पिक डे को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफूले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालयभन्दा राम्रो बनाउन चाहेको उल्लेख गर्दै मन्त्रालयलाई राम्रो बनाउनका निम्ति सरोकारवालासँग सल्लाह, सुझाव माग गरेका हुन् । आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनका लागि भएको भन्दै त्यस निम्ति खेल क्षेत्रका व्यक्तिहरूको सुझाव र सहयोग आवश्यक रहेको उनले बताए ।
उनले राष्ट्रिय खेलकुद परिषद्को नियमावली छिट्टै बनाउनका लागि टिम बनाउने पनि बताए । उनले भन्ने, ‘मन्त्रालयलाई अझ राम्रो कसरी लान सकिन्छ त्यसमा मेरो बढी ध्यानाकर्षण भएको छ । कसरी सहकार्य गरेर राम्ररी रणनीति बनाएर, प्लान बनाएर मन्त्रालय र अरू सम्बन्धित सबैलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर मेरो ध्यान अगाडी बढेको छ । खेल क्षेत्रको विकासका लागि राय, सल्लाह, सुझाव दिनुस् । राष्ट्रिय खेलकुद परिषद्को ऐन आइसकेको छ । अब नियमावली पनि बनाउने म चाँडै टिम तयार पार्दैछु । कानुन विज्ञ, खेलका विज्ञहरूलाई ड्राफ्ट उपलब्ध गराउँछु । त्यसमा के थपेर जाँदा हुन्छ छलफल गरौं । अझ राम्रो कसरी गर्न सकिन्छ, त्यसमा राय–सुझाव पाउँ ।’
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वव्यापी रूपमा भातृत्व र मित्रता बढाएको बताए । खेलले शान्ति र विकासको कुरा अगाडि बढाइरहेको पनि उनले बताए । ओलम्पियनहरू धेरै मानिसहरूको प्रेरणाको स्रोत भएको पनि उनको भनाइ छ । उनले भने, ‘खेल भनेको खेलाडीको मात्र होइन, खेलाडी प्रमुख हुन् । ओलम्पियनहरू प्रेरणाको स्रोत हुनुहुन्छ । ओलम्पियनभन्दा हरेक व्यक्तिलाई उत्साह भर्ने स्रोत व्यक्तिका रूपमा उहाँहरू हुनुहुन्छ । खेलकुदले भातृत्व, मित्रताका कुरा यी सबै कुराहरूलाई खेलकुदको माध्यमबाट अगाडि बढाइरहेको छ । यो महत्वपूर्ण कुराहरू हुन् ।
विकास, शान्तिको कुराहरू अगाडि बढाइरहेका छन् यी महत्वपूर्ण कुराहरू हुन् । त्यसैले हरेक समाजमा यसको आवश्यकता छ । हरेक समाजले शान्ति चाहिरहेको छ । विश्वले शान्ति चाहिरहेको छ । विश्वले आफ्नो संस्कृति समृद्ध बनाउनचाहिँ रहेको छ । यि कुराहरू हामी ओलम्पिकको मार्फत् सन्देश दिन सक्छौं । यसले विश्वमा भातृत्व विकास गर्न सक्छौं ।’
उनले कोभिड–१९ को प्रोटोकललाई मान्दै सुरक्षित भएर खेल क्षेत्रलाई अगाडी बढाउनुपर्ने बताए । उनले ओलम्पिक डे को माध्यमबाट सबैले आफ्नो जीवनलाई सक्रिय बनाउने सन्देश दिन चाहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्