महाकालीमा पानीको बहाब बढेपछि पुलको संरचनामा क्षति

महेन्द्रनगर-कञ्चनपुरको महाकाली नदीमा पानी बहाव बढेपछि नदीमाथि निमार्णाधीन पक्की पुलको संरचनामा क्षति पुगेको छ । केही दिनदेखि निरन्तर पहाडी क्षेत्रमा परिरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेपछि पुलको संरचनामा क्षति पुगेको हो । चार लेन पक्की पुलको पूर्वतर्फको पहुँचमार्ग नदीले भत्काएको छ भने एउटा टापुसमेत पानीले भत्काएको छ ।
“शनिबार बिहानदेखि नदीमा पानीको बहाब बढ्दै गएपछि नदीको किनारमा पोखरीका लागि निर्माण गरिएको एउटा टापु (आइसल्यान्ड) नदीले भत्काएको छ,” महाकाली पुल निर्माण कम्पनी कुमार सीएसईसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले भने, “योसँगै महाकाली वारिपारि जान निर्माण गरिएको पूर्वतर्फको पहुँचमार्ग पनि भत्काएको छ भने पश्चिमतर्फको कामदार बस्ने तथा काम गर्ने क्याम्प पनि डुबेको अवस्था छ ।” नदी वारपार गर्न पुलसम्मको पहुँच मार्गमा क्षति भएपछि नदी पारि दोधरा चाँदनी जान पनि बन्द भएको छ ।
इन्जिनियर पाण्डेयका अनुसार पोखरीका लागि निर्माण गरिएको टापु स्थिर पानीका लागि निर्माण गरिएको हुनाले नदीको बढ्दो बहाबले टापुलाई भत्काएको हो । योसँगै नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेसँगै पानीले अन्य क्षति पनि हुनसक्ने उनले बताए ।
संरचनामा क्षति पु¥याएपछि निर्माण कम्पनीले भत्किन लागेको स्थानमा तारजाली तथा ढुंगा भरान गर्ने कार्य गरिरहेको छ । भत्किएको तथा भत्किन सक्ने ठाउँलाई आधार बनाएर कम्पनीले तारजालीसहित ढुंगा भरान गर्ने कार्यलाई तीव्रता दिएको निर्माण कम्पनीले जनाएको छ । शनिबारको पानीले पुलको सम्पूर्ण संरचनासहित पुलको एक करोड बराबरको क्षति भएको इन्जिनियर पाण्डेयको भनाइ छ । यस्तै नदीमा पानीको बहाब दुई लाख क्युसेकभन्दा बढी पुगेको छ । २०७४ सालमा नै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चार लेन महाकाली पुलको शिलान्यास गरेपछि निर्माणको जिम्मा पाएको कम्पनीले कोरोना महामारीमा पनि निर्माण कार्यलाई निरन्तरता दिएको थियो । तर नदीमा बढ्दो पानीको बहाबले पुल निर्माणकार्य पनि प्रभावित बनेको छ ।
दोधरा–चाँदनी नगरपालिका डुबानको उच्च जोखिममा
महाकाली नदीमा पानीको बहाब बढेपछि नदी किनारका बस्ती डुबानमा परेका छन् । नदी वारि रहेको भीमदत्त नगरपालिकाको १२ र १३ वडामा नदीको पानी डाइभर्ट हुने क्रममा बस्तीमा पसेपछि बस्ती डुबानमा परेको अवस्था छ । यस्तै महाकाली नदीपारि दोधरा चाँदनीमा भने पानीको बहाब बढ्दै गएपछि नगरपालिका उच्च जोखिममा परेको छ । महाकाली नदीको पश्चिमतर्फ दोधरा चाँदनी नगरपालिकाको जोगबुढा नदी तथा महाकाली नदीको दोभान पर्ने क्षेत्र रहेको छ । जसको कारण नगरपालिका क्षेत्रका नदी किनारका विभिन्न वडा वर्षेनी उच्च जोखिममा रहँदै आएका छन् ।
“नदीमा पानीको बहाव बढ्दै गएको छ, जसका कारण नगरपालिकाका वडा नम्बर १०, वडा नम्बर ८ लगायत केही वडा डुबानमा पर्ने जोखिम उच्च छ ।” दोधरा चाँदनी नगरपालिकाका उपप्रमुख चिनी ओझा गिरिले भनिन्, “प्रत्येक वर्ष महाकालीमा पानीको बहाव उच्च भयो भने नगरपालिका पनि डुबानको उच्च जोखिममा रहने गर्दछ, नगरपालिकाको पश्चिम क्षेत्रमा दुईवटा नदीको दोभानस्थल पर्ने भएकाले पनि नगरपालिका डुबानको उच्च जोखिममा रहेको छ ।” पानीको बहाब बढ्दै गएको छ । विगतका वर्षमा भने यस वर्ष जति पानीको बहाब नपुग्ने उनले बताइन् । रातीको समयमा नदीमा पानीको बहाब बढ्दै गयो भने नगरपालिकाका केही वडा डुबान हुने खतरा रहेको समेत उपप्रमुख चिनि ओझा गिरिले बताइन् ।
बाढीले बाँध भत्काउँदा स्थानीय चिन्तित
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित कामिकाटे खोलाको बाँध बाढीले भत्काएको छ । केही दिन अगाडि आएको बाढीले चुरे क्षेत्र भएर बहने कामिकाटे खहरे खोलाको दुवै किनाराको बाँध बाढीले भत्काएको हो । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका वडाध्यक्ष राम नाथका अनुसार चुरे फेदीको उक्त खोलाकोे दुवैतिर करिब एक किलोमिटर क्षेत्रफलमा बाँध भत्काएको छ ।
“चुरे पहाड हुँदै आउने कामिकाटे खोला नियन्त्रण गर्नका लागि केही वर्ष अगाडि खोलाको दुवैतर्फ तीन किलोमिटर क्षेत्रफलमा बाँध निर्माण गरिएको थियो,” वडाध्यक्ष राम नाथले भने, “बाँध निर्माणपछि हल भएको समस्या पुनः सिर्जना हुन थालेको छ, केही दिन अगाडि आएको बाढीले खोलाको एक किलोमिटर क्षेत्रफलमा निर्माण भएको बाँध बाढीले भत्काएको अवस्था छ ।” खोलाले बाँध बाधेको दुवैतर्फ क्षति पु-याएको छ । भत्किन लागेको बाँधको केही स्थानमा पूर्णरूपले बाँध भत्केको अवस्था छ भने केही स्थानमा जालीमा बाँधेको ढुंगा जालीलाई बाढीले खोलामा पुरेको अवस्था छ । विगतका वर्षमा पनि बाँध निर्माण पछाडि केही समस्या भए पनि जोखिम नहुने अवस्था थियो । यस वर्ष भने वर्षा सुरु हुनु अगावै बाढीले बाँध भत्काउन थालेपछि समस्या सिर्जना भएको वडाध्यक्ष नाथले बताए ।