आरोहणको सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान «

आरोहणको सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान

पर्यटकीय क्षेत्र खुम्बु सुनसान बनेको छ । पर्यटकीय सिजन सकिएसँगै खुम्बु अहिले सुनसान बनेको हो । कोरोना महामारीकाबीच पनि हजारौ पर्यटकको आवागमनले व्यस्त बनेको खुम्बु पर्यटक फर्किएसँगै सुनसान बनेको छ ।


बसन्तयामको सगरमाथालगायतका हिमाल आरोहण सकिएको छ । खुम्बु गएका पर्यटक गाइडसमेत तेन्जिङ हिलारी विमानस्थलमा मौसममा सुधार भएपछि काठमाडौं फर्किएका छन् भने तल्लो क्षेत्रबाट रोजगारीका लागि खुम्बु पुगेका पर्यटकका भरिया गाउँ फर्किएका छन् ।


करिब २ सिजन पर्यटक शुन्य बनेको खुम्बुमा यो सिजनमा हजारौ आन्तरिक तथा बाह्य पर्यटक पुगेका थिए । सगरमाथा राष्ट्रिय निकुञ्ज अन्र्तगतको जोरसल्ले पोष्टका अनुसार खुम्बुमा सन् २०२१ को जनवरीमा ६८, फ्रेब्रुअरीमा ९६, मार्चमा ५८६, अप्रिलमा १ हजार ६६१ र मे महिनामा ३२४ जना पर्यटक पुगेका थिए ।


खुम्बु पासाङल्हामु गाउँपालिकाले खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले राजस्व संकलन गर्ने गरेको पालिकाले २ हजार ६ सय ३२ पर्यटकबाट ५२ लाख ६४ हजार रुपैयाँ राजस्वसमेत संकलन सफल भएको छ । यो सिजनमा कुल १६ वटा हिमाल चढ्न ७४२ जना आरोहीले अनुमति लिएका थिए ।


यसमध्ये सगरमाथाका लागि मात्र ४ सय ८ जनाको आरोहण अनुमति जारी भएको थियो । जसमध्ये केहीले मौसममा खराबी आएपछि आरोहण रद्द गरेर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्