उद्धार र राहतको पर्खाइमा मनाङका नासोबासी «

उद्धार र राहतको पर्खाइमा मनाङका नासोबासी

मनाङको नासो गाउँपालिका १ स्थित नासो ताल क्षेत्रका स्थानीय यतिबेला बाढीको डुवानले गर्दा तत्काल उद्धार र राहतको पर्खाइमा रहेका छन् । विगत ५ दिनदेखि बिहान र बेलुका दुई छाक खान र रात बिताउन समेत मुस्किल परेको नासोबासीले गुनासो गरेका छन् ।
बाढीबाट आफूहरु प्रभावित भए पनि हालसम्म सरकारको कुनै उपस्थिति हुन नसकेको एक स्थानीय रोशनी घलेले बताइन् । उनले भनिन्, “हामीलाई यस ठाउँभन्दा अल्लि माथिल्लो भेगमा बस्ने र खानाको व्यवस्था मिलाइदिनु, हामीले अर्को गाउँबाट कति दिन मागेर खाने ?” आफूहरुले जेठ ३१ गते रातिदेखि हालसम्म राम्रोसँग दुई छाक खान र रात बिताउनसमेत नपाएको स्थानीय घलेले बताइन् । आफूहरुले पूर्व सावधानि अपनाएकोले गर्दा मानविय क्षति नभए पनि ६२ घर परिवारको अधिकांश घरमा बाढी पसेर अन्न वाली र विस्तारा सहितका वस्तुहरु हिलाम्मे भएको, केही बगाएको त केही पुरिएको स्थानीय मदन गुरुङले बताए ।
आफूहरु करिब ३ सय जनामध्ये केहीको हात खुट्टा भाँचिएको त केहीको स्वास्थ्यमा समस्या देखिन थालेकोले तत्काल उनीहरुको रेस्क्यु गरेर उपचार गर्नु पर्ने अवस्था भएको उनले बताए । बाढीले गर्दा ६२ घर परिवारका अधिकांश प्रभावित भएका छन् भने विगत ४ दिन देखि स्थानीय भिर पाखा र अर्कोको शरणमा बस्न बाध्य भएको स्थानिय वेद बहादुर गुरुङले गुनासो गरे । हाल आफूहरुसंग खानको लागि खाद्य सामग्री अभाव भएको र रात बिताउन अस्थायी बसोबासको तत्काल व्यवस्थापन गर्नु पर्ने उनको माग छ । हालसम्म केही घरमा रहेको खाद्यवस्तु र छिमेकी गाउँबाट मागेर खाएकोले अब कति दिन माग्न जाने भन्दै स्थानियले सरकारले नै हेर्नुपर्ने माग गरेका हुन् ।
उनले भने, “विगत ४ दिनदेखि विद्युत्, सञ्चार, मोबाइल केही पनि सेवा संचालन हुन सकेको छैन । हाम्रो पिडा कसलाई र कहाँ भन्ने कुनै माध्यम नै भएन । हामीलाई राहात र उद्धार चाहियो ।” चारै तर्फको ठूला पहाड बिचको खोचको नासो ताल बस्ती उर्लिएर आएको खोलाको कटानसंगै बाढीको डुवानले गर्दा आफूहरु नराम्रोसँग प्रभावित हुन पुगेको मिनराषि गुरुङले बताए । आफूहरुको दोश्रो पुस्तासम्म त्यस क्षेत्रमा बस्दै आए पनि पहिलो पटक ठूलो बाढी आएको उनले दाबी गरे ।
यसैबिच, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ हेलिकोप्टरको सहायताबाट नासो बस्तीमा केही राहत सामग्री पु¥याएर फर्किएका छन् । नासो गाउँमा विद्युत्देखि संचार सेवा अवरुद्ध भएकोले बस्तुस्थिती बुझ्न केही राहत सामग्री लिएर आफूहरुको टिम शुक्रबार नासो पुगेकोमा निकै दुःखलाग्दो अवस्थामा नासोबासीले दिनरात बिताउनु परेको राखेप सदस्य गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्